फोहोरमै छ मोहोरको थुप्रो

बेनी : हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ । बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस्थापनको जिम्मा लिने व्यक्तिले १० जनालाई रोजगारी दिनुका साथै सबै खर्च कटाएरै वार्षिक १० लाख रुपियाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

नेपालकै प्रसिद्ध तीर्थस्थल गलेश्वरधामभन्दा ठीक पारी रघुगङ्गा गाउँपालिका–३, राखुपिप्लेका यामबहादुर दमाईले सदरमुकाम बेनीबजारको फोहोर सङ्कलन र व्यवस्थापनबाटै वार्षिक १० लाख रुपियाँ आम्दानी गर्ने गर्नुभएको छ । वि.सं. २०३६ साल मङ्सिर १२ गते रघुगङ्गाको पिप्लेमा जन्मनुभएका यामबहादुर बाबुआमासँगै सानै उमेरमा बसाइँ सरेर पोखरा जानुभएको थियो ।

बाबुआमाले तत्कालीन पोखरा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा जागिर गर्न थालेपछि उहाँ पनि सँगै सोही पेसामा १२ वर्षसम्म करारको जागिरेको रुपमा काम गर्नुभयो । सुन्दर र सफा पोखरा बनाउने अभियानमा बाबुआमासँगै खट्नुभएका यामबहादुरले २०६० सालपछि भने उक्त जागिर छाडेर आफैँले छुट्टै तरिकाले फोहोर व्यवस्थापनको काम थाल्नुभयो ।

‘फोहोर व्यवस्थापन नै नशामा हिँड्न थाल्यो ।’ याम भन्नुहुन्छ । त्यही नशाले यामबहादुरले कम्पनी दर्ता गरेर पोखराको फोहोर व्यवस्थापनको काम सुरु गर्नुभएको थियो । २०७० सालमा मिसन फर वेस्ट म्यानेजमेन्ट प्रा.लि. नाममा संस्था दर्ता गरी सोही कम्पनीमार्फत पोखरा तथा अन्य जिल्लाको पनि फोहोर व्यवस्थापनको काम दमाईले थाल्नुभयो ।

दमाईले बेनी नगरपालिकासँग सम्झौता गरे फोहोर व्यवस्थापन थालेको यो तेस्रो आर्थिक वर्ष हो । राज्यले गर्ने कार्यक्रम तीन खम्बे अर्थनीति भने जस्तै मोडल मिल्ने गरी नगरपालिका–जनता–कम्पनी मोडलमा बेनी नगरपालिकामा अहिले फोहोर व्यवस्थापनको काम भइरहेको छ । बेनी र आसपासका क्षेत्रको फोहोरलाई आधुनिक प्रविधिबाट व्यवस्थित गरेर पुनः प्रयोग गर्ने तथा नष्ट गर्ने कार्य गर्ने गरिएको यामबहादुरले बताउनुभयो ।

हाल बेनी नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनका लागि दैनिक १० जना कर्मचारीसहित दुईवटा गाडी परिचालन हुने गरेका छन् । नगरपालिकाले बजार क्षेत्रमा फोहोर व्यवस्थापनको शुल्क उठाएर ४० प्रतिशत राख्ने र मिसन फर वेस्ट म्यानेजमेन्ट प्रालिलाई ६० प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाटै गाडी तथा कर्मचारीको खर्च कटाएर पनि गत आर्थिक वर्ष २०७६/७७ मा करिब १० लाख रुपैयाँ आम्दानी गरेको यामबहादुरको भनाइ छ ।

प्राकृतिक सुन्दरतालाई कुनै पनि क्षति नपुग्ने गरी बेनीमा फोहोर व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बजारमा निस्कने फोहोरलाई पुनः प्रयोग गर्ने गरी छुट्याएर व्यवस्थित रुपमा फोहोर व्यवस्थापनको काम भइरहेको बताउनुभयो । नगरपालिका र कम्पनीका बीचमा भएको सम्झौताअनुरुप सङ्कलित फोहोरलाई जलाउन, गाड्न तथा नदीमा फ्याँक्न पाइँदैन । अहिलेसम्म सम्झौताअनुसार नै काम भइरहेको हुँदा फोहोर व्यवस्थापनमा सहज भएको जनाइएको छ ।

‘बजार क्षेत्रमा निस्कने सबै प्रकारका फोहोरलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने हो भने फोहोर व्यवस्थापनको जिम्मा लिने कम्पनी वा संस्थाले दैनिक १० हजार रुपियाँसम्म कमाउन सक्छ ।’ यामबहादुर भन्नुहुन्छ । तीन जना छोराछोरीलाई राम्रो स्कुलमा पढाएर एक छोरीको विवाह गरी सक्नुभएका उहाँले दुई सन्तानलाई बोर्डिङमा पढाउँदै आउनुभएको छ । अमृत प्रसाद पौडेलले लेख्नुभएको फिचर गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार