संयोजक श्रेष्ठको दृष्टिमा यी हुन् महिनावारी स्वच्छताका ४ सवाल

 2049 पटक हेरिएको

महिनावारी स्वास्थ्य र सरसफाइको क्षेत्रमा धेरै संघसंस्था क्रियाशील छन् र हरेक संघसंस्थाले बोक्ने सवालहरु फरक फरक छन् । कोही महिनावारीलाई अधिकारमुखी आँखाले हेर्छन् भने कतिको मत महिनावारीको समयमा स्वच्छता व्यवस्थापनमा मात्र छ । कोही भने महिनावारी मर्यादित हुनुपर्छ र प्याड वितरण गर्दैमा मर्यादित महिनावारी हुन नसक्ने तर्क गर्छन् । अहिलेको अवस्थामा महिनावारीका खास सवालहरु के – के हुन् ? राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ :

सवाल १ : महिला अधिकारको बिषय

महिलाहरुलाई महिनावारी भएकै कारण छुवाछुतको व्यवहार गर्ने, बाहिर राख्ने, प्रतिबन्ध लगाउने, पहुँचबाट बाहिर राख्ने गरिएको छ । यो सामान्य प्राकृतिक प्रक्रिया मात्र थियो तर धेरै कुराबाट महिला प्रतिबन्धित छ । महिलाहरुको स्वतन्त्रता खोसिएको छ, छुवाछुत गरिएको छ, बाहिर निकालिएको छ । हेला गरिएको छ । यो कुराले गर्दा महिलाहरु ससम्मान बाँच्न पाउने अधिकारबाट बञ्चित भएका छन् । त्यसैले यो महिला अधिकारसँग सम्बन्धित छ । यसलाई जोडतोडका साथ उठाउन र अधिकार सुनिश्चित गर्न आवश्यक छ ।

सवाल २ : स्यानिटरी प्याडको सर्वसुलभ उपलब्धता

अहिले पनि प्याड र सुरक्षित कपडामा सबै महिलाहरुको पहुँच छैन । सहरी इलाकाका महिलाहरुको पहुँच भएपनि दुर्गम ठाउँका महिलाहरुको अहिलेसम्म पहुँच पुग्न सकेको छैन । महँगो छ, राज्यले पनि सजिलैसँग पहुँच पु¥याउन सकेको छैन । जसले गर्दा प्याडको प्रयोग गर्न पाउने सुविधाबाट पनि बञ्चित भएका छन् । राष्ट्रमा उत्पादन गर्ने कम्पनीलाई पनि कुनै सहुलियत छैन । बाहिर बाट सामान आयात गर्नुपर्दा त्यो महँगो छ । महँगो भएपनि सामान्य मानिसले किन्न सक्दैनन् । प्याडमा पहुँच नपुग्दा फोहोर कपडाहरु प्रयोग गर्दा महिला स्वास्थ्यमा नकारात्मक असर परेको छ । तसर्थ प्याड सर्वसुलभ तरिकाले नपाउँदा महिला स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि पनि प्याडलाई सरल, किफायती, सुलभ बनाईनुपर्छ ।

सवाल ३ : विद्यालयमा बनाईने संरचनाहरु महिलामैत्री हुनुपर्ने

प्रायः सामुदायिक विद्यालयहरुमा खानेपानी तथा सरसफाइका लागि आवश्यक पानीको सुविधा हुँदैन । चर्पीको राम्रो व्यवस्था छैन । गाउँघरमा प्याड नहुँदा कपडा लगाउनुपर्ने वाध्यता छ । त्यसलाई सफा गर्नुपर्छ । पानी र चर्पीको अव्यस्थाले गर्दा किशोरीहरु महिनामा तीन चार दिन अनुपस्थित हुने र यसले गर्दा छात्रहरुसँग प्रतिस्पर्धा गर्न नसकेको विभिन्न अध्ययनले देखाएको छ । महिला शिक्षामा पनि यसले धेरै असर पारिरहेको छ । त्यसैले विद्यालयमा बन्ने हरेक संरचनाहरु महिलामैत्री हुनुपर्छ ।

सवाल ४ : महिनावारी सम्बन्धी अन्धविश्वास हटाउन शैक्षिक कार्यक्रम

महिनावारीको बिषय शिक्षामा राम्रो सँग समेट्न नसक्दा यस सम्बन्धी अन्धविश्वास व्याप्त छ । महिनावारी पाप हो, यसबेला अछुत हुन्छन् भनेर महिनावारीलाई पापको रुपमा व्याख्या गरिएको छ । महिनावारी सामान्य जैविक प्रक्रिया हो । तर यसबारे ज्ञान दिलाउन शिक्षामा कमी देखिएको छ । अन्धविश्वासका कारणले गर्दा समाजलाई वास्तविक कुरा दिलाउन सकेको छैन । हामी जत्ति सुकै शिक्षित भएपनि यो अन्धविश्वासले जरा गाडेर बसेको देखिन्छ । महिनावारी सम्बन्धी भ्रम तोड्न बालबालिकाको पाठ्यक्रममा समावेश गर्न सके, विभिन्न तालिमहरु दिलाउन पाए व्यवहारमा परिवर्तन ल्याउन सकिन्थ्यो । त्यसैले शिक्षाको माध्यमबाट यो अन्धविश्वासलाई हटाउन जरुरी छ । ताकि हरेक महिलाहरुले पुरुष सरह जीवन यापन गर्न सकोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार