वास खवर सम्वाददाता/विर्तामोड (झापा) : सरसफाइ अभियानकर्ता र विभिन्न सामाजिक संघसंस्थाको पहलमा झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला सफाइ अभियान पुनः थालनी भएको छ । यसअघि पनि विभिन्न समयमा अदुवा खोला सफाइ अभियान थालनी भए पनि यसले निरन्तरता पाउन सकेको थिएन ।
शनिबार सञ्चालन गरिएको अदुवा खोला तथा हनुमन्ते खोला सफाइ वडा कार्यालयको संयोजन र सफाइ अभियानकर्मीहरुको पहलमा थालनी भएको मेची महाकाली सफा अभियानका विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
विर्तामोड हुँदै बग्ने अदुवा खोला समुदाय बीचबाट बग्ने एक प्रमुख जलाशय हो । त्यसैले, यसको सफाइको महत्व पर्यावरण, मानव स्वास्थ्य र समुदायसँग जोडिएकोले पुनः व्यवस्थित रुपमा सफा अभियान थालनी गरिएको अदुवा खोला हनुमन्ते खोला सफाइ संयोजक भरत बस्नेतले जानकारी दिनुभयो ।
सफाइका लागि टोल सुधार समितिहरुका साथै सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, युनाइटेड रिभर साइड युथ फाउन्डेसन, वातावरण तथा विपद् व्यवस्थापन समिति विर्तामोड–४, यूनिक स्वयंसेवक नेपाल, अर्जुनधारा सरसफाइ अभियान, सूर्योदय टोल, गैरीटोल, धिमाल बस्ती, भि.आई.पी. टोल, गैरीगाउँ टोल, शान्ति टोल, अतिथि सदन रोड लगायतको संलग्नता रहेको छ ।
वडा नं. १ का अलावा ३, ४ र ५ को समेत सहभागितामा अभियानलाई विस्तार गर्ने प्रयास भैरहेको आचार्यले बताउनुभयो । खोला सफाइ गरी फोहर जम्मा गरिए पनि नगरपालिकाले भनेको समयमा ट्याक्टर नपठाइदिंदा निकालिएको फोहर लैजान समस्या भएको गुनासो समेत उहाँले गर्नुभयो ।
अदुवा खोला हनुमन्ते खोला सफाइ संयोजक भरत बस्नेतले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । सम्पूर्ण सदस्य संस्थाहरु, एवम् सामाजिक अभियानकर्ताहरुले यसलाई निरन्तरता दिंदै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पहिले दिसा मिसाउँथे, अहिले फोहर
यसअघि अदुवा खोला वरपरका घरधुरीले चर्पीबाट दिसा जम्मा हुने खाडलमा जाने पाइपलाई खोलासम्म लगेर दिसा सिधै अदुवा खोलामा खसाउने गरेका थिए । खुला दिसामुक्त अभियानका क्रममा नगरपालिका र विभिन्न सामाजिक संघसंस्थाको पहलमा खोलामा दिसा मिसाउने कार्य बन्द गराउनुका साथै नगरपालिकाले खोलाको दायाँबायाँ स्काभेटर लगाएर सफा गरेपछि खोलाको सफाइमा उल्लेख्य सुधार भएको थियो ।
नगरपालिका खुला दिसामुक्त घोषणा भैसकेपछि अदुवा खोला सफाइ अभियानले निरन्तरता पाउन नसक्दा नगरको फोहरको डंगुर खोलाको बीचमा लगेर फाल्ने गरिएको र त्यो खाली हातले सफा गर्न समेत नसक्ने अवस्थामा रहेको भेटिएको संयोजक आचार्यले बताउनुभयो । “हामीले यसअघि अदुवा खोला सफा गर्दा डाइपरभित्र मरेको शिशु पोको पारेर खोलामा फालेको समेत भेटिएको थियो”, आचार्यले भन्नुभयो, “अहिले पनि ढलहरु सिधै अदुवा खोलामा मिसाउँदा यो कुरुप बनिरहेको छ ।”
अर्जुनधारादेखि विर्तामोड हुँदे बग्ने अदुवा खाला दिन प्रतिदिन प्रदूषित बन्दै गए पनि स्थानीय बासिन्दा जागरुक हुन नसक्दा खोलाको स्वरुप नै बिग्रिइरहेको छ । “खोलाको संरक्षण गर्न नगरपालिका बेलैमा सचेत भएर उचित कदम नचाल्ने हो भने जति सफा गरे पनि पुग्दैन”, आचार्यको भनाइ छ, “हामी सामाजिक संघसंस्था र अभियानकर्ताहरुले बाटो देखाउने र झक्झक्याउने हो, र सफाइको संस्कार बसाउने हो ।”
फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को नं. च, छ, ज र ञ ले सेप्टिक टंकीको फोहरलाई बाहिर चुहाउने, खोलामा मिसाउने, सार्वजनिक स्थानमा फाल्ने लगायतका कार्यलाई कसुर मानेको छ । ऐनकै दफा ३९ अनुसार यस किसिमको कसुर गर्नेलाई पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार दिएको छ ।
यसैगरी स्थानीय निकायले तोकेको ठाउँमाबाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी कुनै पनि स्थानमा कुनै किसिमको हानीकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निस्काशन गर्नेलाई ऐनले कम्तिमा ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।