उद्योगले फोहोर हाल्दा ११ वर्षमा पनि संग्लिएन सिर्सिया

पर्सा : सिर्सिया नदी अनुगमन समितिले २०६७ मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ स्रोत प्रस्ट रूपमा किटान गरेको थियो । प्रजिअ झाले सिर्सियाको प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई आफ्नो कार्यकालमै कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

पर्साको वीरगन्जस्थित सिर्सिया खोला । उद्योगहरूले लामो समयदेखि फोहोर मिसाउँदा खोलाको पानी प्रदूषित बनेको छ । तस्बिर स् शंकररकान्तिपुर
रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाको फोहर र यस क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई किटान गरिएको थियो ।

छाला, कपडा, फलाम, साबुन, घिउ र मदिरा उद्योगका कारण बढी प्रदूषण भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म तीमध्ये केही उद्योगले मात्र आफ्नो वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर प्रयोग गरेका छन् । अधिकांशले अझै खोलामै प्रदूषित पानी र खरानी फाल्ने गरेका छन् ।

एक दशकयता पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी झन्डै १ दर्जनले सम्हाली सके । तर सिर्सियाको खोलाको पानी अझै सङ्लिएको छैन । बरु झन्झन् कालो हुँदै गयो । अपवादका रूपमा गत वर्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सिर्सियाको प्रदूषणको जिम्मेवार एक उद्योगका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने प्रयास गरे ।

पर्सा बारा औद्योगिक करिडोरअन्तर्गत जितपुर–सिमरा उपमहानगरपालिका २३ स्थित हिमालयन लेदर उद्योगका व्यवस्थापक चिनियाँ नागरिक लिउता छुवाङ र म्यानेजर भारत घर भई मकवानपुर बस्ने तिनजुङ गुरुङ पक्राउ परेका थिए । सार्वजनिक अपराध मुद्दा चलाइएका उनीहरू त्यसपछि सामान्य धरौटी राखी छुटे । उक्त उद्योगले आफ्नो दूषित पानी वीरगन्ज महानगरपालिका २३ चोर्नीमा सिर्सिया खोलामा झार्ने गरेको थियो । उनीहरू पक्राउ परेको केही दिनसम्म अन्य उद्योगले खोलामा सोझै प्रदूषित पानी झार्ने साहस गरेनन् । दुवै रिहा भए लगत्तै सबै उद्योगले फोहोर फाल्ने कामलाई निरन्तरता दिए ।

समितिका संयोजक त्रिपाठी कुनै पनि निकायले खोलाको प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्नु आश्चर्यजनक रहेको बताउँछन् । ‘हाम्रो समितिले धेरै दुःख गरेर त्यो प्रतिवेदन तयार गरेको थियो, प्रतिवेदन बनाउँदा म जति उत्साहित थिए, बिस्तारै उत्साह त्यसपछि मर्दै गयो,’ उनले भने, ‘अधिकांश प्रजिअहरू सिर्सियाको प्रदूषणप्रति गम्भीर भएनन्, किन हो मैले बुझ्न सकिन ।’

प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाही गर्न धेरै ठूलो बाधा अवरोधसमेत नरहेको त्रिपाठी बताउँछन् । ‘पहिचान भइसकेको छ, अब उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु मात्रै पर्ने हो,’ उनले भने, ‘त्यसका लागि कुनै नयाँ ऐन वा कानुन बनाइराख्नु पनि पर्दैन, नेपालको प्रचलित कानुनअनुसार नै सहजै उनीहरूलाई कारबाही गर्न सकिन्छ ।’

हाल पर्सा बारामा निषेधाज्ञा जारी छ । करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेका छन् । तर, खोलाको प्रदूषणमा रत्तिभर कमी आएको छैन । गत वर्ष लकडाउनको समयमा खोलाको प्रदूषणमा केही कमी आए पनि यस वर्ष भने त्यसो नहुँदा सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन सक्रिय अभियन्ताहरू पनि चिन्तित छन् ।

सिर्सिया नदी एवम् वीरगन्ज प्रदूषणमुक्त अभियानका सचिव वृजेश्वर प्रसाद चौधरी निषेधाज्ञाको समयमा पनि खोलाको प्रदूषण भने रत्तिभर कम नहुनु चिन्ताको विषय भएको बताउँछन् । यसअघि अभियानअन्तर्गत विभिन्न दबाबमूलक कार्यक्रम हुँदै आएको थियो । ‘हामी हाम्रो मुद्दाबाट पछि हटेका छैनौं र हट्ने पनि छैनौं,’ उनले भने, ‘निषेधाज्ञाको समाप्तिलगत्तै नै हामी फेरि दबाबमूलक कार्यक्रम लिएर आउने छौं ।’ प्रदूषणका लागि जिम्मेवार उद्योगका सञ्चालकलाई कारबाही गर्न पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरू सक्रिय हुनुपर्ने चौधरी बताउँछन् ।

४ दशकयता अत्यधिक प्रदूषित बनेको सिर्सिया खोलामा अहिले कालो पानी बग्छ । खोलाको पानी मानवीय तथा चौपायाको उपयोग गर्न लायक छैन । खोलाको पानीबाट सिँचाइ पनि गर्न सकिँदैन । खोलामा धार्मिक परम्परा अनुसार पूजाआजा गर्न र सर्वसाधारणको मृत्युमा दाहसंस्कार गर्नसमेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करिब ३ किमि पछि प्रदूषित बन्न थाल्छ । वीरगन्ज पुग्दा खोलाको पानी पूर्ण–पले कालो भइसक्छ ।

सिर्सिया खोलाको निरन्तर सफाइ अभियान सञ्चालन गर्दै आएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह सिर्सियाको चिन्ता केवल अभियन्ताहरूले गरेर मात्र अब नपुग्ने बताउँछन् । ‘सिर्सिया खोलाको प्रदूषण केवल अभियन्ताहरूको मात्र मुद्दा होइन, यो बाराको पश्चिमी र पर्साको पूर्वी भेगका थुप्रै मानवबस्तीसँग जोडिएको चिन्ता र सरोकारको विषय हो,’ उनले भने, ‘त्यसकारण पनि यसको स्वच्छताका लागि दुबै जिल्लाका बासिन्दा एकजुट भएर जनदबाब सिर्जना गर्न सक्नुपर्छ ।’

सिर्सिया प्रदूषित पानी र रसायन लिएर भारतमा प्रवेश गर्छ, जसका कारण नेपाली मात्र नभई भारतीयहरू पनि मर्कामा छन् । वीरगन्जको छिमेकी भारतीय सहर रक्सौलबासीले समेत यो खोलाको प्रदूषण नियन्त्रणका लागि लामो समयदेखि महाअभियान चलाइरहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले आफूले जिल्लाको जिम्मेवारी पाएलगत्तै निषेधाज्ञा सुरु भएकाले सिर्सिया खोला प्रदूषणको मुद्दाबारे त्यति धेरै जानकारी पाइनसकेको बताए । ‘तर कतैकतैबाट यो विषयमा सुन्दै आएको छु, स्थिति सामान्य भइसकेपछि यस मुद्दामा आवश्यक तदारुकता देखाउनेछु,’ उनले भने ।

साभार : शंकर आचार्य/कान्तिपुर दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार