बधशालाको फोहोरले बस्ती नै दुर्गन्धित

दाङ : तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कको अव्यवस्थित वधशालाले बस्ती नै दुर्गन्धित भएको छ । वधशालामा वध गरिएका राँगा, बंगुरको हड्डी, छाला र लादीको व्यवस्थापन नहुँदा बधशाला आसपासको  वातावरण दुषित बन्दै गएको छ ।

राँगाको छाला कुहाउन प्रयोग गरिएको नुनले कुवाको पानी समेत नुनिलो हुन थालेको तुलसीपुर उपमहानगरपालिका–५ की कमलाकुमारी खत्रीले बताउनुभयो ।

वधशालामा मासुको व्यापार गर्ने व्यवसायीको लापरवाहीले मानव स्वास्थ्य जोखिममा परेको छ । व्यवसायीले वध गरिएका पशुको मलमूत्र, लादी र हड्डी जथाभावी फ्याँकेका छन् । छाला खाल्डोमा थुपार्ने गरेका छन् भने हड्डी ठाउँठाउँमा जम्मा गरेका छन् । जसका कारण वातावरण अत्यन्तै प्रदुषित बन्दै गएको छ ।

‘हामी बूढाबूढी दुर्गन्धले बिरामी भइरहन्छौं । औषधि पनि गरिरहेका छौं, बिक्ने भए त योे घर नै बेचर अन्यत्रै जान्थ्यौं’ वधशाला पछाडि घर भएकी कमलाकुमारी खत्रीले भन्नुभयो ।

हड्डी एकै ठाउँ थुपार्दा झनै दुर्गन्ध

व्यापारीले एकदेखि डेढ महिना सम्मको हड्डी जम्मा गरेर बेच्ने गरेका छन् । हड्डी एकै ठाउँमा थुपारेर राख्दा झनै दुर्गन्ध बढेको हो । कुकुरले छरपष्ट पार्ने हुँदा पनि आसपासको वातावरण अति प्रदुषित बन्दै गएको छ । कुखुराको दानामा हड्डी प्रयोग हुने भएकाले किलोको पाँच रुपैयाँमा विक्री हुने गरेको छ । दुर्गन्धले सरुवा रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।

पशु वधशालाबाट निस्केको फोहोर समयमै व्यवस्थापन गर्न नसके गम्भीर प्रकृतिका रोग लाग्न सक्ने डाक्टर लिजन महर्जनले बताउनुभयो । ‘फोहोरका कारण वातावरण प्रदुषण हुँदा हावाबाट सरुवा रोग फैलिने सम्भावना हुन्छ’ डाक्टरले महर्जनले बताउनुभयो ।

‘पशु वधशालासँगै ठूलो मानववस्ती छ,’ डाक्टर महर्जनले भन्नुभयो ‘बाक्लो बस्ती भएकाले फोहोरमा बसेका झिंगा भान्छा तथा खाना सम्म पुग्ने र त्यसले डर लाग्दा सरुवा रोग लाग्न सक्छ, अस्थायी रूपमा बच्नका लागि फोहोर भएको ठाउँमा विषादी छर्किने, खाना राम्रो गरी छोपेर राख्ने र मास्क लगाएर हिड्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले भने फोहोरमैला गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । तुल्सीपुर उपमहानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियानलाई बाधा पुग्ने क्रियाकलाप भए तुरुन्त कारबाही गरिनेछ’ नगर प्रमुख घनश्याम पाण्डेले भन्नुभयो ।

नगर प्रमुख पाण्डेले भन्नुभयो ‘जसले फोहोर गर्छ, त्यसैले सफा गर्नुपर्छ, पहिलो चरणमा सचेत गराइनेछ, त्यसपछि पनि अटेर गरेमा वातावरण तथा फोहोरमैला व्यवस्थापन ऐन बमोजिम कारबाही गरिनेछ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार