ल्याण्डफिल साइट पुगेको महानगरको टोलीलाई सिसडोलबासीद्वारा दुर्व्यवहार

काठमाडौ : काठमाडौको फोहोर व्यवस्थापनमा सिसडोलका बासिन्दाले अवरोध पु-याएपछि स्थानीयबासिन्दासँग छलफल गर्न ल्याण्डफिल साइट पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई दुर्व्यवहार गरेको छ । जनप्रतिनिधि र वातावरण व्यवस्थापन विभागका कर्मचारीमाथि स्थानीबासीले पूरा गराउनै नसक्ने माग राखेर हातपातको प्रयास गरेको हो ।

सिसडोलका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु-याएपछि स्थानीयबासिन्दासँग छलफल गरी समाधानको उपाय खोज्न हिजो (बुधबार) काठमाडौ महानगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष विकास डंगोल, वातावरण व्यवस्थापन महाशाखाका प्रमुख युवराज खनाल र टेकु ट्रान्स्फर स्टेसन आसपासका बासिन्दा सिसडोल ल्यान्डफिल साइट पुगेका थिए ।

स्थानीयबासिन्दाले जबरजस्ती सहमतिपत्रमा हस्ताक्षर गर्न दबाब दिँदै हातपात गर्न खोजेको काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाका प्रमुख युवराज खनालले बताउनुभयो । ‘हाम्रो तहबाट पूरा गर्नै नसक्ने माग ल्याएर हस्ताक्षर गर्न दबाब दिँदा झण्डै हात हालाहालको स्थिति आयो, अराजक समूहले फोहोर व्यवस्थापनमा समस्या पार्न खोजेको देखियो’ उहाँले भन्नुभयो ।

फोहोरको अल्पकालीन व्यवस्थापन आफैले गर्न आग्रह

काठमाडौं तथा ललितपुर महानगरपालिकाले नगरबासीलाई घर, अफिस र कम्पाउन्ड भित्रै फोहोरको अल्पकालीन व्यवस्थापन गर्न आग्रह गरेको छ । सिसडोलबासीले फोहोर व्यवस्थापनमा अवरोध गरेकाले समस्या समाधान नहुँदासम्म आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न आग्रह गरेको हो ।

सिसडोलबासीको मागलाई सम्बोधन गर्न महानगरपालिका तयार हुँदा समेत अनेकौं माग तेस्र्याएर फोहोरमैला व्यवस्थापनमा अवरोध पु-याएकाले तत्कालका लागि घर, अफिस र कम्पाउन्डमै फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

 फोहोर नउठ्दा शहर दुर्गन्धित

फोहोर व्यवस्थापन हुन छाडेपछि काठमाडौं र ललितपुरको फोहोर सडकमै थुप्रिन थालेको छ । ललितपुर महानगर क्षेत्रको फोहोर बालकुमारीमा रहेको संकलन केन्द्रमा थुप्रिएको छ ।

बालकुमारी संकलन केन्द्रमा ठाउँ अभाव भएकाले महानगरले सडकबाट फोहोर संकलन गर्न पनि छाडेको छ । काठमाडौ महानगरपालिकाले भने टेूक स्थित ट्रान्सफर सेन्टरमा ल्याएर फोहोर थुपारेका कारण आसपासको बस्ती दुर्गन्धित हुन थालेको छ ।  सिसडोलका बासिन्दाले एक सातामै दुई पटक अवरोध पु-याइ सकेका छन् ।

यी हुन् सिसडोलका बासिन्दाको माग

लामो समयदेखि रोकिएको मुआब्जा दिनुपर्ने, तत्काल फोहोर पुर्नुपर्ने, फोहोरबाट निस्कने झोल व्यवस्थापन गर्नुपर्ने सिसडोलका बासिन्दाले माग गरेका छन् । यस्तै मुआब्जाको दूरी र सीमा बढाउनुपर्ने, ल्यान्डफिल साइट पीडितलाई घरभाडा दिनुपर्ने लगायत माग उनीहरुको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित १८ वटा नगरपालिकाबाट उत्पादन हुँदै आएको १५ सय टन मध्ये दैनिक ८ सय टन फोहोर सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार