जग्गा प्राप्तिमै अल्झियो डम्पिङ साइट निर्माणको काम

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (डम्पिङ साइट) जग्गा प्राप्त नहुँदा अलमलमा परेको छ । भीमदत्त नगरपालिका ३, ८ र ९ मा रहेको सिद्ध सामुदायिक वनमा जमिन प्राप्त भए पनि स्थानीयको विरोधका कारण काम अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास कार्यक्रम (आरयूडीपी) लागू भएपछि जग्गा प्राप्तिका लागि धेरै प्रयास भएपनि हालसम्म जमिनको टुंगो लागेको छैन ।

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा प्राप्त नभएपछि ३ अर्ब बढीको आरयूडीपी कार्यक्रम नै प्रभावित हुने अवस्थामा पुगेको छ । सामुदायिक वनका पदाधिकारीले जमिनदिने सहमति जनाए पनि अन्य उपभोक्ताले भने डम्पिङ साइट निर्माण गर्न नदिने बताउँदै आएका छन् ।

डम्पिङ साइटका लागि २५ देखि ३० बिघासम्म जमिन आवश्यक पर्ने भीमदत्त नगरपालिकाको वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये आधा मात्रै संकलन हुने गरेको छ । डम्पिङ साइटको अभावमा अहिले संकलित फोहोर बजार क्षेत्रकै खाल्डा पुर्न फालिने गरेको छ ।

 

डम्पिङ साइटका लागि साढे ३ अर्ब बजेट

नगरपालिकामा आरयूडीपी कार्यक्रम अन्तर्गत साढे ३ अर्ब बजेट आएको छ । जसको पहिलो सर्त एकीकृत डम्पिङ साइट निर्माण गर्नुपर्ने रहेको छ । यस बाहेक दुवै तर्फ नाली र फुटपाथ सहितको ३६ किलोमिटर सडक कालोपत्रे हुनेछ । उक्त कार्यक्रम अन्तर्गत अहिले महेन्द्रनगर बजार क्षेत्र र महेन्द्रनगर–झोलुंगे सडक खण्ड विस्तारको काम भइरहेको छ । १४ किमि सडक स्तरोन्नतिका लागि १ अर्बमा ठेक्का सम्झौता भएको छ ।

भीमदत्त नगरपालिकाको वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले जमिन खरिद गरेर भए पनि काम अगाडि बढाईने बताउनुभयो । त्यसका लागि दुईरतीन ठाउँमा जमिन प्राप्त भएको र प्राविधिक हिसाबले ठीक भए नभएको परीक्षण पश्चात खरिद प्रक्रिया अगाडि बढाईने उहाँले बताउनुभयो । सामुदायिक वनको जमिनका विषयमा पनि स्थानीयसंँग छलफल जारी रहेको उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार