काठमाडौ, लिखिता बराल : काठमाडौ उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ । काठमाडौ र ललितपुर महानगरपालिकाले ओखरपौवाका बासिन्दासँग पाँच बुँदे सहमति गरेपछि काठमाडौ उपत्यकामा थुप्रिन थालेको फोहोर उठाइने भएको हो ।
महानगरपालिकाले हिजो प्रभावित क्षेत्रका बासिन्दासँग समझदारी गरेपछि आजबाट फोहोर उठ्ने निश्चित भएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा ओखरपौवाका बासिन्दाले फोहोर फाल्न अवरोध गर्दै आएका थिए । ओखरपौवाका बासिन्दाको अवरोधले एक सातादेखि फोहोर थुप्रिदा काठमाडौको सडक, गल्ली, चोक जताततै फोहोर थुप्रिन थालेको थियो ।
के छ सहमतिपत्रमा ?
१. ओखरपौवाका बासिन्दा र महानगरबीच भएको सहमति पत्रमा ल्याण्डफिल साइटबाट दुर्गन्ध नफैलिने गरी फोहोरको व्यवस्थापन गर्ने, व्यवस्थित तरिकाले विसर्जन गरी माटोले पुर्ने ।
२. काठमाडौदेखि ओखरपौवासम्मको सडक सुधार गर्ने ।
३. प्रभावित क्षेत्रका बासिन्दा विरामी परेमा अस्पतालसम्म पु-याउन चार महिनाभित्र एम्बुलेन्सको व्यवस्था गर्ने ।
४.बन्चरे डाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको कामलाई तदारुकताका साथ अघि बढाइने ।
५.फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीयस्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले नै मुआब्जा लगायत अन्य माग बारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल वितरण गर्ने ।
को को रहन्छन्, अधिकार सम्पन्न समितिमा ?
स्थानीयस्तरमा फोहोरमैलाको व्यवस्थापन गर्न गठन हुने अधिकार सम्पन्न समितिमा फोहोरमैला प्रभावित क्षेत्रका ५/५ जना वडाध्यक्ष र अन्य प्रतिनिधी
काठमाडौ र ललितपुर महानगरपालिकका प्रतिनिधी
काठमाडौं महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । काठमाडौंमा दैनिक उत्पादन हुने करीब एक हजार ५ सय टन फोहोर सिसडोलमा विसर्जन गरिँदै आएको छ ।