पोखरामा नयाँ ल्याण्डफिल साइट : स्थानीय भन्छन् ‘छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’

पोखरा : पोखरा महानगरपालिका कार्यपालिकाले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो ।

महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । गत असार १८ गते गठित सोही समितिको सिफारिसमा पस्मराङमा पोखराको फोहोर फाल्ने स्थान बनाउने निर्णय भएको हो ।

पस्मराङमा मानवबस्ती पनि नभएको र निर्माणाधीन विमानस्थलको दूरीबाट पनि टाढा पर्ने भएकाले सोही क्षेत्र नै ल्यान्डफिल साइटका लागि उपयुक्त हुने महानगरको दाबी छ ।

ल्यान्डफिल साइटका लागि करिब २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र सो जमिन पस्मराङमा उपयुक्त भएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । उक्त स्थानको जग्गा अधिकांश व्यक्तिगत छ । ‘त्यहाँ करिब पौने २ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सरकारी करिब ७० रोपनी छ । त्यति भए हामीलाई प्रशस्तै हुन्छ भन्ने हो,’ प्रवक्ता नेपालीले भने ।

पहिले निर्णय बल्ल छलफल 

पस्मराङमा ल्यान्डफिल साइट बनाउने कार्यपालिकाको निर्णयपछि सरोकारवाला, स्थानीयबासीसँग छलफल गर्न सहजीकरण समिति गठन गरिएको छ । कार्यपालिका बैठकमै पोखरा–१९ का वडाध्यक्ष शोभामोहन काफ्लेको संयोजकत्वमा ६ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।

समितिले एक हप्ताभित्र सरोकारवाला निकाय र स्थानीयसँग छलफल गर्ने र त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता नेपालीले जानकारी दिए ।

‘समितिले प्रस्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्यूनीकरण तथा स्थानीयसँग छलफल गर्नेछ,’ उनले भने, ‘समितिले एक हप्तामा सक्छौं भनेको छ । त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य कारबाही अघि बढ्छ ।’

प्रस्तावित ल्याण्डफिल साइट क्षेत्रमा पर्ने व्यक्तिको जग्गालाई मुआब्जा महानगरले नै व्यहोर्नेसमेत निर्णय भएको छ । जग्गा प्राप्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको प्रवक्ता नेपालीले जानकारी दिए ।

स्थानीयको विरोध

नयाँ ल्याण्डफिल साइटका लागि तोकिएको पस्मराङ क्षेत्र काहुँ तथा काली खोलाको मुहान क्षेत्र पनि हो । त्यहाँको मुहानको पानी अहिले करिब ५ सय परिवारले पिउँदै आएका छन् । त्यहाँको २ वटा मुहानबाट भलाम, र्‍यालेचोर, काहुँ लगायतका बासिन्दाले खानेपानी र सिँचाइका लागि पानी प्रयोग गर्दै आएका छन् ।

महानगरले स्थानीयसँग छलफल र वार्ता नगरी ल्याण्डफिल साइट बनाउने एकलौटी निर्णय गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । आफूहरुले पानीको स्रोतका रुपमा पस्मराङलाई प्रयोग गर्दै आइरहेको र पानीको मूल मासेर फोहोर थोपर्न नदिने बताएका छन् ।

ल्याण्डफिल साइट तोकिएको स्थान

‘यहाँको पानी पस्मराङले मात्रै खाने होइन, पोखरा बजारसम्म पुग्छ । विकास हुनै नदिने भन्ने होइन । तर, कम्तीमा स्थानीयको पीरमर्का त बुझिदिनुपर्छ, छलफल सहमति गर्नुपर्छ,’ स्थानीय शिवप्रकाश अधिकारी भन्छन््, ‘पानीको मूल दूषित मात्रै होइन, सुक्ने गरी हामी कसरी सहमति दिने र ?’

अधिकारीले पस्मराङ पोखराको माथिल्लो भेग भएकाले वर्षात्को समयमा सम्पूर्ण बस्तीलाई नै असर गर्ने दाबी गरे । ‘अहिले पो खोला सानो छ । बर्खामा उर्लिन्छ । यहाँ फोहोर थुपार्‍यो भने बगेर जाने पोखरामा नै हो । खानेपानी मात्रै होइन, यहाँका बचेखुचेका जमिन पनि सुख्खा पल्टिन्छ,’ उनले भने ।

करिब ४ वर्षअघि पनि पस्मराङ क्षेत्रमा महानगरले छाडाचौपाया व्यवस्थापन गर्न पस्मराङमा लगिएको थियो । तर, पछि महानगरले नै बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएपछि पोखरा महानगरपालिका–१४ मा सारिएको थियो । स्थानीय बासिन्दा छाडाचौपायालाई बेवास्ता गरेजस्तै फोहोर थुपारेपछि पनि त्यस्तै बेवास्ता हुने हो कि १ भन्नेमा सशंकित छन् ।

‘पहिले पनि छाडाचौपाया राख्ने भनेर यही क्षेत्रलाई चुनियो । व्यवस्थित तरिकाले राख्छौं भनेर हामीसँग झूठ कुरा गरियो । छाडाचौपाया जम्मै भीरमा लडेर मरे,’ स्थानीय गुरुप्रसाद आचार्यले भने, ‘त्यसको दुर्गन्ध गाउँभरि फैलियो । छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सीम गुरुङलेसमेत आफ्नो वडामा बनाउने निर्णय भएको ल्याण्डफिल साइटको विरोध गरेका छन् । उनले वडालाई कुनै पनि जानकारी नदिई एकलौटी महानगरले निर्णय गरेको दाबी गरे ।

‘म महानगरकै प्रतिनिधि हुँ । तर, मेरो ठाउँमा ल्याण्डफिल साइट बनाउने मलाई नै जानकारी छैन । स्थानीयको सहमतिबिना काम कसरी अघि बढाउने हो रु’ वडाध्यक्ष गुरुङले भने, ‘यहाँ ल्याण्डफिल साइट बनाउन दिइयो भने त म पितृ भइसकेपछि मलाई थुक्छन् ।’

पस्मराङमा ल्याण्डफिल साइट बन्न नदिन त्यहाँका स्थानीयले संघर्ष समिति नै बनाएका छन् । स्थानीय क्लब, आमा समूह, खानेपानी उपभोक्तासहित लगायतले मंगलबारबाट आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेका छन् ।

हालको पोखरा महानगरपालिका–१४ स्थित सेती किनारको ल्याण्डफिल साइट महानगरले २०६१ सालदेखि प्रयोग गर्दै आइरहेको छ । १५ वर्षका लागि स्थानीयसँग सहमति गरेर प्रयोग गरिँदै आइएको उक्त सहमति अवधिसमेत २ वर्षअघि नै सकिइसकेको छ । अनलाइन खबरबाट साभार


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार