काठमाडौ : काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौको फोहोरले सिसडोलमा ८८० मिटर अग्लो फोहोरको पहाड बनिसकेको र फोहोर व्यवस्थापन गर्ने तौरतरिकामा परिवर्तन नल्याए जहाँ लगेपनि स्थिति उस्तै रहने बताउनुभएको छ । सुरुमा गोकर्ण ल्याण्डफिल साईटको स्थितिबाट सिसडोल ल्याण्डफिल साईटमा पुगेको र अब बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटमा प्रवेश गर्ने अवस्थामा रहेको जानकारी गराउँदै उहाँले काठमाडौबासीको फोहोर फाल्ने परिपाटी अन्त्यन्तै गैरजिम्मेवार रहेको बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापनको काम आफ्नो भान्छाबाटै सुरु गर्नुपर्ने र यसका लागि काठमाडौ महानगरपालिकाले विभिन्न चरणमा तालिम समेत दिईसकेको जानकारी गराउनुभयो । वास मिडिया फोरम नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रममा वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले भन्नुभयो ‘५/६ जनाको परिवारबाट उत्पादन हुने फोहोरको मात्रा ३ सय ग्राम भन्दा माथि हुँदैन । उक्त फोहोर कुहिने फोहोर भएकाले यसको घरमै व्यवस्थापन गर्न सकिन्छ ।’
काठमाडौ उपत्यकामा आईरहेको फोहोर एकदम भयावह र डरलाग्दो भएको बताउँदै उहाँले यसको प्रमुख स्रोत काठमाडौको जनघनत्व र जथाभावी फोहोर फाल्ने आनीबानी भएको बताउनुभयो । करिब ५० लाख जनसंख्या भन्दा बढी काठमाडौमा बसोबास गरिरहेको र फोहोर फाल्ने परिपाटी एकदमै गैरजिम्मेवार भएकाले यो अवस्था आएको उहाँको भनाइ थियो ।
४३२ रोपनी जग्गा अधिग्रहण गरी बनाएको सिसडोल ल्याण्डफिल साईट अब फोहोरले चुलिएको छ । त्यहाँ फोहोर व्यवस्थापन गर्न मिल्ने ठाउँ नै बाँकी नरहेको अवस्था छ । तर त्यसको विकल्पमा २ बर्ष अघि नै निर्माण सम्पन्न भईसक्नुपर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईट अझै निर्माण सम्पन्न भएको छैन ।
सिसडोलमा फोहोर व्यवस्थापन गर्ने ठाउँको अभाव छ, बन्चरेडाँडा ल्याण्डफिल साइट पनि निर्माण सम्पन्न भएको छैन । यस्तो अवस्थामा अब काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन कसरी होला ? विस्तृतमा हेर्नुहोस् यो भिडियो :