काठमाडौ : ‘‘जब–जब काठमाडौ सफा हुन्छ, सिसडोल बस्नै नहुने हुन्छ । त्यहाँ पनि त मान्छे बस्छन् नि होइन र ? मान्छे र फोहोर एकै ठाउँमा बस्न सक्ने भए फोहोर काठमाडौमै राखौं । होइन भने त्यहाँ पनि सहर हुँदैछ । कि त्यहाँ दोस्रो दर्जाको नागरिक मात्र बस्छन् । कुरा के हो ?’’ सिसडोलका बासिन्दा राममणि घिमिरेले यो आक्रोस पोखाईरहँदा सबैको ध्यान उहाँतिरै तानिए । कार्यक्रम स्थलमा एक पटक मौनता छायो । मानौं, कार्यक्रममा उहाँ एक्लै मात्र हुनु भए झैं ।
कार्यक्रम थियो ‘काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन’ । वास मिडिया फोरम नेपालले आयोजना गरेको उक्त कार्यक्रममा फोहोर व्यवस्थापनबारे जोड दिदै उहाँले भन्नुभयो ‘मान्छे र फोहोर एकै ठाउँमा राख्न मिल्ने भए फोहोर काठमाडौमै राखौं । बरु हामी पनि हाम्रो गाउँपालिकासँग मागेर केही पैसा यतै दिन्छौं ।’ उहाँले पैसा मात्र ठूलो कुरा नभएको र पहिले शर्त व्यवस्थापनको रहेकोमा जोड दिनुभयो ।
उहाँले फोहोर व्यवस्थापनको सवालमा केन्द्रबाट हेर्ने कुनै निकाय नै नभएको नभएको र देशको पोलिसी मेकरहरुले बिर्सेको कुरा नै यही भएको बताउनुभयो । ‘हामी १० वटा मन्त्रालय धाउँदैमा त्यहाँका महामहिमहरुलाई नमस्कार गर्दैमा यत्ति धेरै आघात छौं । कसले हेर्ने त्यो फोहोरमैला थाहा छैन ?’ उहाँको प्रश्न थियो ‘काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका सहित १८ वटा नगरपालिकाको फोहोर जाने ठाउँ सिसडोल या बन्चरेडाँडा नै हो भनेपछि केन्द्रबाट हेर्ने निकाय किन बनाईदैन ?’
स्थानीयबासी घिमिरेले आक्रोसित हुँदै काठमाडौको फोहोर व्यवस्थापन गर्ने ठाउँ सिसडोल वा बन्चरेडाँडा नै अन्तिम विकल्प हो भने यसको बारेमा संवेदनशील भएर सोच्न आग्रह गर्नुभयो । ‘फोहोर व्यवस्थापनको बिषयलाई किन ख्याल ख्याल बनाईन्छ । सायद हामीलाई अल्मलाउन होला ? बन्चरेडाँडामा जाने तयारीमा पनि होला ? तर यो चाहिं नसोच्दा पनि हुन्छ है फेरि । यो धम्की होइन ।’
विस्तृतमा हेरौं यो भिडियो :