अस्पतालको फोहोर बस्तीमा फ्याँकिदै

नेपालगन्ज : औषधिजन्य फोहोर व्यवस्थापनमा निजी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरबाही गर्दै आएको पाइएको छ । औषधिजन्य फोहोर पनि अरू फोहोर सरह उपमहानगरले बस्तीछेउ विसर्जन गर्दै आएको छ । त्यसले नगरभित्र जुनसुकै बेला रोग फैलिने खतरा छ ।

नेपालगन्ज मेडिकल कलेजको बीपी चोकस्थित शिक्षण अस्पतालले उत्तरी गेट अघिल्तिर सवारी पार्किङमा फोहोर थुपार्ने गरेको छ । उक्त फोहोर उठाएर उपमहानगरले सहरका विभिन्न खाल्डाखुल्डी पुर्न प्रयोग गर्छ । उपमहानगरको आफ्नै डम्पिङ साइट छैन ।

‘अस्पतालजन्य फोहोर वर्षौंदेखि बस्तीबीचमा जथाभावी थुपार्ने र फाल्ने गरिएको छ,’ वातावरण तथा बालअधिकार संरक्षण केन्द्रका अध्यक्ष तेजविक्रम शाहले भने, ‘अस्पतालहरूले न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।’ मानव अंग र रगतजन्य फोहोर फ्याँक्न बनाइएका ‘पिट’ पनि व्यवस्थित नहुँदा अस्पताल आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ । दुर्गन्ध फैलिएपछि गुनासो गर्दा अस्पताल सञ्चालकबाट उल्टै दुव्र्यवहार सहनुपरेको उनले बताए ।

केही दिनअघि जिल्ला प्रशासन, जनस्वास्थ्य र उपमहानगरका अधिकारीले गरेको अनुगमनमा अस्पतालले फोहोर उचित ढंगले संकलन र व्यवस्थापन नगरेको पाइएको थियो । अनुगमन प्रतिवेदनमा संकलित फोहोर व्यवस्थित तरिकाले नराखेको, हानिकारक संक्रमणयुक्त ब्यान्डेज, कपास, गज, सिसा र सुई अन्य फोहोरबाट नछुट्याइएको उल्लेख छ । अस्पतालजन्य फोहोर निर्मलीकरण नगरीकनै विसर्जन गर्नु जोखिमपूर्ण मानिन्छ ।

त्यत्तिकै विसर्जन गरेको पाइएपछि अनुगमन टोलीले कारबाहीका लागि सम्बद्ध निकायलाई सिफारिस गरेको छ । त्यस्तै, फोहोर खुला राखिएकाले बस्तीमा दुर्गन्ध फैलिएको उल्लेख गर्दै अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिका पालना गर्न सुझाव दिइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

अनुगमनमा प्रशासकीय अधिकृत गणेश शाही, मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अधिकृत गोकर्ण गिरी, जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द र उपमहानगरका सरसफाइ निरीक्षक अशोक केसी संलग्न थिए । अस्पतालले मापदण्डअनुरूप फोहोर व्यवस्थापन गर्न १५ दिन लाग्ने मौखिक प्रतिबद्धता जनाएको जिल्ला जनस्वास्थ्य अधिकृत चन्दले बताए । निर्देशिकाअनुसार अस्पतालमा फोहोर जलाउने ‘इन्सिनेरेटर’ (चिम्नी) हुनुपर्छ तर नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल मात्र होइन, नाम चलेका सिद्धार्थ र वेस्टर्न हस्पिटलसँगसमेत छैन ।

यस्तै फोहोर संकलनलाई व्यवस्थित गर्न उपमहानगरले निजी क्षेत्रसँग साझेदारी गरेको छ । तीन संस्थाले तीन वर्षदेखि नगरको फोहोर संकलन गर्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार