भक्तपुर : मध्यपुरथिमी नगरपालिकाको वडा नं. ३ गठ्ठाघरकी राधिका पोख्रेलको घरको छत विभिन्न थरिका तरकारीले ढाकिएको छ । छतमा फलाएका तरकारी मध्ये कुनै खान योग्य भएका छन् त कुनै हुर्किने क्रममा छन् । कुनै तरकारी भने भर्खर उम्रिदैछन् । अनि कत्तिको भने भर्खर बेर्ना राखिएको छ ।
यी सबै तरकारी पालैपालो मिलाएर लगाउनुमा उहाँको आफ्नै नियम छ । सबै तरकारी एकैपटक हुर्किदा सबै एकैपटक सक्किने त छँदैछ । माटो मिलाउनका लागि पनि उहाँले पालैपालो लगाउने गर्नुभएको छ । एक पटक तरकारी फलाएपछि उहाँले उक्त माटोलाई घोप्ट्याएर फेदको माटो माथि सतहमा ल्याउनुहुन्छ ।
यसो गर्नुको पनि अर्को कारण छ । राधिका पोख्रेलका अनुसार तरकारीको पात, डाँठ, सुकेका फूल र त्यसको बोट, स्कुसको पात र त्यसको डाँठ काटेर ग्रो व्याग वा तरकारी रोप्ने भाँडोको फेदमा विछएपछि मात्र माटो, अर्गानिक मल र पिना मिलाएर भरिन्छ । त्यसरी भरिएको भाँडोमा एक बाली तरकारी लगाएपछि त्यसलाई फेरि घोप्ट्याइन्छ । त्यत्तिबेला तरकारी रोप्ने बेला ओछ्याएको पात, तरकारी र फूलको डाँठ कुहिएर मल बन्छ । यो चक्र चलिरहन्छ । यसले माटोलाई पनि हल्का बनाउने उहाँको अनुभव छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
तालिमले कौसी खेतीमा तहल्का
विगत लामो समयदेखि कौसीमा तरकारी फलाउदै आउनुभएकी पोख्रेलले आफ्नै अनुभवको आधारमा मात्र तरकारी फलाउदै आउनुभएको थियो । यस अघि कहिल्यै तालिम लिन नपाउनु भएकी उहाँले प्रायः युट्युबमा कौसी खेती सम्बन्धी भिडियो हेर्दै आफ्नै खेतीमा पनि केही सुधार गर्दै आउनुभएको थियो ।
तर गत असारमा भने उहाँले पनि कौसी खेती सम्बन्धी तालिममा भाग लिन पाउनुभयो । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको तालिममा उहाँले माटो बनाउने, मल बनाउने र गोडमेल गर्ने तरिका समेत सिक्नुभयो ।
तालिम पछि के गर्नुभयो त ? पोख्रेल भन्नुहुन्छ ‘तालिम पछि मैले तरकारी खेती गर्ने तरिकामै सुधार ल्याएँ ।’ उहाँले मल बनाउने, तरकारी रोप्ने भाँडोलाई मिलाएर राख्ने, ग्रो ब्यागमा तरकारी लगाउने लगायत थुप्रै सुधार गरेको सुनाउनुभयो ।
‘तालिम अघि ठूलो ठूलै पात राख्थे, जो हत्तपत्त कुहिदैनथ्यो । तालिममा हामीले सानो सानो पारेर काट्नुपर्छ र कम्पोष्ट बिनमा सुकेको र हरियो फोहोरको मात्रा मिलाएर राख्नुपर्छ भन्ने थाहा पाएँ । मैले त्यसरी नै राख्दा मल चाँडै बन्दोरहेछ’ पोख्रेलले आफूले बनाएको मल देखाउँदै भन्नुभयो ।
घरमै उत्पादित फोहोरबाट बनाएको मलले नपुगेर तरकारी पसलबाट कुहिएर जाने तरकारीहरु समेत ल्याएर मल बनाउने गरेको उहाँले सुनाउनुभयो । ‘आफ्नैमा उत्पादन हुने फोहोरबाट बनाएको मलले मात्र पुग्दैन, २/४ दिनको फरकमा तरकारी पसलबाट पनि किनेर ल्याउने गर्छु ।’ पोख्रेल भन्नुहुन्छ ‘कहिलेकाहीं अर्गानिक मल पनि किन्छु अनि मल, माटो र पिनालाई मिलाएर तरकारी रोप्ने भाँडोको फेदमा चाहिं सुकेको फूल, तरकारी र फूलको बोटको डाँठलाई विछ्याएर तरकारी लगाउँछु ।’
कौसी खेतीले गर्दा फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छैन उहाँलाई । फोहोरलाई कुहाएर मल बनाउन सिपालु राधिका पोख्रेलले फोहोरपानीलाई समेत खेर फाल्नु भएको छैन । शौचालयमा फ्लस गर्न प्रयोग हुने पानी बाहेक सबै तरकारीकै लागि प्रयोग गर्ने गरिएको उहाँले सुनाउनुभयो । ‘सिंचाईका लागि मैले छतमै ठूलो ड्रम राखेकी छु । जहाँ आकाशको पानी पनि जम्मा हुन्छ भने फोहोर पानी पनि यसैमा खन्याउने गरेकी छु’ पोख्रेल भन्नुहुन्छ ‘त्यही ड्रममा फोहोर पानी भण्डारण गरेर आवश्यक मात्रामा तरकारीमा हाल्ने गरेकी छु ।’ फोहोरपानीले सिँचाई र मल दुवैको काम गर्ने हुँदा विरुवा हलक्क बढ्ने उहाँको अनुभव छ ।