कर्णाली प्रदेशको अर्को विद्यालय पनि तीन तारे घोषणा, सेरावाडाको जनप्रभात बन्यो दोस्रो तीनतारे विद्यालय

कालिकोट : कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नंं. ८ स्थित सेरावाडाको श्री जन प्रभात माध्यमिक विद्यालयलाई पनि तीन तारे घोषणा गरिएको छ । विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गरी तीनतारे विद्यालय घोषणा गर्न सबै मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।

युनिसेफ नेपाल र खाडाचक्र नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सवै संरचनाहरुको निर्माण एवं अन्य सामाजिक सुधारका कामहरु समेत सम्पन्न गरी विद्यालयलाई तीन तारे घोषणा गरिएको युनिसेफ नेपालका जलवायु उर्जा तथा वातावरण संयोजक गणेश वहादुर रावलले जानकारी दिनुभयो ।

जनप्रभात मा. विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ बमोजिम खानेपानी, सरसफाइ र स्वच्छताका सबै सूचक पूरा गरिएको संयोजक रावलले बताउनुभयो । यस अघि खाडाचक्र नगरपालिकाको वडा नं. १ स्थित महादेव विद्यालयलाई कर्णाली प्रदेशकै पहिलो ३ तारे विद्यालय घोषणा गरिसकेको छ ।

तारा पद्धति भनेको विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूको आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिशमा गाउँ वा नगरस्तरीय शिक्षा समितिले प्रमाणीकरण गरे अनुसार एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धति हो ।

घोषणा कार्यक्रममा खाडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे, उप प्रमुख विजया विष्ट, शिक्षा शाखा प्रमुख विरेन्द्र शाही लगायत विद्यालय परिवार एवं बालक्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार