भक्तपुर : तपाईको घर आसपासमा काम नलाग्ने झाडी, तितेपाती, झारपात, उन्यू तथा रुखका साना तिना हाँगाबिँगा छन् ? त्यसले वातावरण पनि कुरुप बनाइरहेको छ भने अब ती काम नलाग्ने झाक्राझिक्री उर्जाको प्रमुख स्रोत बन्न सक्छ । किनकि त्यस्ता फोहोर वायोमासबाट चारकोल बनाउने प्रविधिको शुरुवात भएको छ ।
हिमालयन नेचुरल्सले भक्तपुरको चित्तपोलमा बनमारा झाडीबाट चारकोल बनाउन शुरु गरेको हो । जंगलमा काम नलाग्ने र रुख बिरुवालाई समेत असर गर्ने बुट्यानलाई प्रयोगमा ल्याउन चारकोल उत्पादन शुरु गरिएको हिमालयन नेचुरल्सका प्रबन्ध निर्देशक सुशील ज्ञवालीले बताउनुभयो ।
‘जंगललाई कुरुप बनाउने बनमारा, उन्यु, कालेझारलाई रिट्रोट भित्र ४/५ घण्टासम्म तताएपछि त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्याँसलाई बाहिर पठाइन्छ, त्यसपछि बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेकाले कोइलालाई चारकोलको रुपमा प्रयोगमा ल्याउन सकिन्छ’ प्रबन्ध निर्देशक ज्ञवालीले भन्नुभयो ।
वनजंगलमा खेर गइरहेको काठपात र काठको रुपमा प्रयोग गर्न नमिल्ने बुट्यानको प्रयोग गरेर चारकोल निर्माण गर्न सके रोजगारीको अवसर समेत सिर्जना हुने उहाँले बताउनुभयो । राज्यले यस्ता प्रविधिलाई प्रोत्साहन गर्न सके वातावरण प्रदूषण कम हुने, जङ्गलमा आगलागी नियन्त्रणमा टेवा पुग्ने उहाँको भनाइ छ । चारकोलको प्रयोग बढाउन सके कोइलाको आयातमा हुने खर्च जोगाउन सकिने उहाँले बताउनुभयो । नेपालमा बार्षिक झण्डै १२ अर्ब रुपैयाँको कोइला आयात हुने गरेको छ ।
कोइलाभन्दा चारकोल निकै सफा इन्धन भएकाले यसको प्रयोगले घर भित्रको धुँवा प्रदूषण पनि कम हुने र बाहिरी झाडी, बुट्यान लगायतका कारण हुने फोहोर पनि सफा हुने ज्ञवालीले बताउनुभयो ।
चारकोल धुँवा रहित र गन्धरहित भएकाले प्रयोगकर्तालाई श्वासप्रश्वास सम्बन्धी समस्या नआउने र दाउरा, ग्यासभन्दा निकै सस्तो हुने उहाँले जानकारी दिनुभयो ।
प्रविधि सञ्चालनका लागि एक करोड खर्च
भक्तपुरमा चारकोल बनाउने प्रबिधिको सुरुवात गर्न झण्डे एक करोड खर्च भएको हिमालयन नेचुरल्सका प्रबन्ध निर्देशक सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
संस्थाले सम्पूर्ण मूल्य श्रृंखलामा समुदाय नै संलग्न भएर गुणस्तरीय चारकोल उत्पादन गरी बजारीकरण गर्ने बताउनुयो । चारकोल तन्दुरी, सेकुवा लगायत साना उद्यमका लागि अति उत्तम हुने ज्ञवालीले जानकारी दिनुभयो ।