सप्तरी : सप्तरी जिल्लाका किशोरीहरु महिला तथा किशोरीहरुको मर्यादित महिनावारी अधिकारका सवालमा आफ्नो अधिकार सुनिश्चितताका लागि संगठित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका तथा राजगढ र विष्णुपुर गाउँपालिकाबाट जिल्ला सदरमुकाम राजविराजमा भेला भएका ३२ जना अगुवा किशोरीहरु संगठित भएका हुन् ।
महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एक दिने पैरवी कार्यशालामा उपस्थित सहभागीहरुले नेपालको संविधानले हरेक नेपाली नागरिकलाई स्वच्छ वातारणामा बाँच्न पाउने लगायत स्वास्थ्य सम्बन्धी हकको प्रत्याभुति गरेको, मुलुकी संहिता २०७४ ले पनि महिनावारी सम्बन्धी हुने सबै किसिमका छुवाछुत वा भेदभाव अमानवीय व्यवहारहरू हुन् भनी दण्डनीय बनाएको बारे चर्चा गर्दै समाजमा विद्यमान रीतिरिवाज र कुसंस्कारजन्य कुराहरुलाई केलाएर हेर्ने हो भने अझै पनि नेपालमा विभिन्न सम्प्रदायका ४० वटा भन्दा बढी महिनावारीसंग जोडिएका कु–प्रथाहरु अभ्यासमा रहेको र हरेक महिनावारी हुनेले सम्मान महसुस गर्ने वातावरण नपाएको, विद्यालय, समुदाय तथा सार्वजनीक स्थलहरुमा महिलामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधा उपलब्ध नहुँदा अझै पनि महिला तथा किशोरीहरुले उत्पीडित र अपमानित महसुस हुने गरेको भन्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका छन् ।
सहभागीहरुले संविधान, कानुन र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरुले समेत महिला तथा किशोरीको मर्यादित महिनावारीको अधिकारलाई आधारभुत मानव अधिकारका रुपमा सुनिश्चितता गरेको छ भन्ने बारे छलफल गर्दै नेपालमा भने यस सम्बन्धमा पर्याप्त कानून तथा भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा यस सम्बन्धी समस्याहरु समाधान हुन नसकेको विचार व्यक्त गरेका छन् । उनीहरुले राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ को मस्यौदालाई तुरन्त कानूनको रुपमा पास गर्न, विद्यालयहरुमा निःशूल्क प्याडको उपलब्धता, प्रयोग गरेको प्याडको उचित व्यवस्थापन, किशोरीहरुमा मनोसामाजिक परामर्श जस्ता सुविधामा राज्य र स्थानिय सरोकारवाला निकायहरुले अविलम्ब कदम चाल्नु पर्ने तर्फ आवाज उठाएका छन् ।
कार्यक्रममा सहभागी प्रियंका ठाकुर (कक्षा १० अध्ययनरत), राजगढले विद्यालयमा पर्याप्त सुरक्षित र सफा पानीको अभाव, महिला तथा किशोरीमैत्री सौचालय र भएका शौचालयहरुमा पनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने सुविधाको कमि भएको कारण आफुले महिनावारी हुने समयामा विद्यालय जाने क्रमलाई निरन्तरता दिन नसकेको कारण पढाइमा कमजोर हुन परेको अनुभव सुनाएकी छन् । उनले आफूमा ज्ञान हूँदा हुँदै पनि आकस्मिक रुपमा महिनावारी भएमा र प्याड प्रयोग गरेमा त्यसको व्यवस्थापन गर्ने उचित स्थानको अभावमा प्लाष्टिकमा पोको पारी विद्यालयबाट फर्कदा झाडी, पोखरी वा जुनसुकै एकान्त पर्ने खुला स्थानमा अव्यवस्थित रुपमा फाल्नु पर्नाले आफूलाई असहज हुने गरेको अनुभव सुनाइन् ।
त्यसै गरी कार्यक्रममा सहभागी अर्की किशोरी मनिसा कुमारी प्रमाणी, डाक्नेश्वरी २ (कक्षा ९) ले विद्यालयहरुमा प्याड पाउन थाले पनि आवश्यक परेको समयमा सहजरुपमा उपलब्ध नहुनु, खुलेर शिक्षकहरुसँग माग गर्न नसक्नु र प्रयोग गरेको प्याड उचित व्यवस्थापन गर्ने स्थान नहुँदा एक पटक प्रयोग गरेको प्याड नै लामो समयसम्म प्रयोग गर्नु पर्नाले महिनावारीको समयामा आफूमा आत्माविश्वासको कमी हुने, पढाइमा ध्यान नजाने र दिग्दारी लाग्ने समस्या रहेको सुनाइन् ।
कार्यक्रममा सहभागी सबैजसो किशोरीहरुले आफ्नो महिनावारीको समयमा विद्यालयमा त्यती सहज रुपमा अध्ययन गर्न नपाएको, मानसिक रुपमा असहज भएको, आत्माविश्वासमा कमि आएको, साथी तथा शिक्षकहरुको सामुन्ने धक लाग्ने गरेको जस्ता अनुभवहरु सुनाएका थिए ।
मर्यादित महिनावारी एक व्यक्तिगत समस्या मात्र नभएर यो एक सामुहिक र मानव अधिकारमा आधारित नीतिगत, संरचनात्मक र व्यवस्थापकीय विषय भएकोले किशोरीहरुले सबै सरोकारवाला निकाहरुबाट उच्च प्राथमिकताका साथ आवश्यक नीति नियम सहित उचित वातावरण बनाउन माग गरेका छन् ।
गठन भयो किशोरी शक्ति समूह
कार्यशालामा सहभागी अगुवा किशोरीहरुले यस विषयमा निरन्तर पैरवी गर्ने, सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने, आगामी दिनमा अझ संगठित भई कार्य गर्ने उद्देश्यले भेलाबाट किशोरी शक्ति समूह, सप्तरी नेपाल नामक संगठन निर्माण गरेर कार्य गर्ने निर्णय गरेका छन् ।
मनिसा कुमारी प्रमाणी संयोजक, प्रियंका ठाकुर सह–संयोजक, जेनीसा कुमारी चौधरी, सञ्चार संयोजक र रेखाकुमारी यादव, सञ्चार सह–संयोजक रहने गरी किशोरी शक्ति समूह गठन गरिएको हो ।
समूहले हरेक तीन तीन महिनामा जिल्ला स्तरमा कार्य गर्ने र अन्य समयमा आ आफ्नो स्थानबाट एकल रुपमा, साथी शिक्षकका रुपमा वा समूहमा मर्यादित महिनावारीको अधिकार प्राप्तिका लागि निरन्तर वहस तथा वकालत गर्ने, महिला तथा किशोरीमैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा व्यवस्थापनका लागि पहल गर्ने जस्ता कार्ययोजना बनाएको छ ।
हाललाई जिल्लाका तीन वटा पालिकाबाट प्रतिनिधिहरु छनौट भएर संजाल बनाए पनि निकट भविष्यमा नै यसलाई जिल्ला व्यापी संजालका रुपमा विकास गर्ने गरी अन्य पालिकाका प्रतिनिधिहरुलाई समेत समेटेर अगाडि बढ्ने योजना रहेको नवगठित समूहकी संयोजक मनिसाकुमारी प्रमाणीले जानकारी दिनुभयो ।
सप्तरी जिल्लाका डाक्नेश्वरी, राजगढ तथा विष्णुपुर गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्यरत वेल्टहंगर हिल्फे तथा स्थानीय साझेदार संस्था महुली सामुदायिक विकास केन्दले उक्त एक दिने जिल्ला भेला तथा पैरवी कार्यशालाको सहजिकरण गरेको थियो ।
वेल्टहंगर हिल्फेका खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संयोजक पदम लम्सालले यस प्रकारको प्रयासले बालिका तथा किशोरीहरुमा आत्माविश्वासको विकास हुने, आफ्नो अधिकार प्राप्तिका लागि सरोकारवाला निकायहरुसँग माग दावी गर्न सक्ने वातावरण बन्ने तथा मुख्य रुपमाजसको सवाल उसको नेतृत्वको अवधारणा अनुसार किशोरीहरुले महिला तथा किशोरीमैत्री समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाका साथै आफ्नो प्रजनन स्वास्थ्य तथा अधिकारबारे समेत साथी समूह बीच खुलेर कुरा गर्ने, मर्यादित महिनावारी अधिकारको सुनिश्चितताको लागि स्थानीय तहमा नीति निर्माण तथा त्यसको कार्यान्वयनमा दबाब सिर्जना गर्ने कुरामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।