काठमाडौ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइने बताउनुभएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा मन्त्री झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक–पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्माणको काम अघि बढाइने बताउनुभयो ।
बैठकमा उहाँले उपत्यकाको फोहोर व्यवस्थापनको समस्यामा सधैँ अल्झिरहन नहुने बताउनुभयो । ‘सबै एउटै समस्यामा अल्झिएर हुँदैन्, अब दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडकको काम अघि बढाउनुपर्छ ।’ उहाँले भन्नुभयो । हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र पुग्ने सडकलाई तत्काल स्तरोन्नति गरिने बताउँदै मन्त्री झाँक्रीले बन्चरेडाँडा पुग्ने वैकल्पिक सडकको काम पनि तत्काल सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बञ्चरेडाडाँ र सिसडोल क्षेत्रका स्थानीयवासीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा एक अर्कालाई दोष थोपर्ने भन्दा पनि सबै निकाय समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बन्चरेडाँडा ल्याण्डफिल साइट र सिसडोलको सीमांकन गर्नुपर्ने बताउनुभयो । स्थानीयले पटक–पटक विवाद झिक्ने समस्या देखिएकाले आयोजनाको क्षेत्रलाई स्पष्ट सीमांकन गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
संघीय मामिला मन्त्रालयका सचिव सुरेश अधिकारीले बन्चरेडाँडा ल्याण्डफिल साइटलाई छिटो सञ्चालनमा ल्याएर उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले बन्चरेडाँडामा फोहोर व्यवस्थापनलाई सहयोग गर्न मन्त्रालयले प्राविधिक टोली बनाउने बताउनुभयो ।
यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन सिंगो उपत्यकाको समस्या रहेकाले यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल सञ्चालनमा प्राविधिक सहयोग गर्नुपर्ने माग गर्दै उहाँले उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकार पनि गम्भीर बन्नुपर्ने बताउनुभयो । ।