सिथि नखःको अवसरमा सुन्दरथली खानेपानीद्वारा सरसफाइ

भक्तपुर : भक्तपुरको सुन्दरथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सिथि नखः पर्वको अवसर पारी सरसफाइ गरेको छ । सल्लाहकार समितिका सदस्य राम बहादुर श्रेष्ठ, समितिका अध्यक्ष श्याम कुमार शाख लगायत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा खानेपानी उपभोक्ता समितिको कार्यालय आसपास, ओभरहेड ट्याङ्क एवं खानेपानीको बोरिङ गरिएको स्थान र पम्प हाउस वरपर सरसफाइ गरिएको हो ।

काठमाडौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन्। परम्परादेखि मनाउँदै आएको सिथि नखः पर्व पानीको स्रोत वरपर सरसफाइ गरेर मनाईएको सुन्दरथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सल्लाहकार समितिका सदस्य राम बहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो पर्व सँगै नेवार समुदायका जात्रा तथा पर्वहरु यस बर्षका लागि समाप्त भएको छ ।

पानीको मुहान, इनार, कुवा, पँधेरोका साथै आफू बस्ने वरपर सरसफाइ गरेर मनाईने यो पर्व लिच्छवीकालीन समयदेखि नै सुरु भएको विश्वास गरिन्छ। घरमा इनार हुनेले इनार तथा इनार नभएकाहरुले पँधेरा, कुवा, र खानेपानीको मुहानमा सरसफाइ गरी यो पर्व मनाउने गरिएको समितिका अध्यक्ष श्याम कुमार शाखले बताउनुभयो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ मा स्थापना भएको सुन्दरथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रति सेकेण्ड १५ लिटर पानी बोरिङ गरी सुन्दरथलीको घर घरमा वितरण गरिरहेको छ ।

आजको दिनलाई भगवान महादेवको जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनको रुपमा पनि लिइन्छ । यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनको रुपमा पनि मनाउने गर्दछन् । यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरुपमा आ–आफ्ना कूलदेवतालाइ पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामहरुले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकामा पानी आपूर्तिका लागि परम्परागत रूपमै पोखरी बनाउने चलन थियो। सहरको बाहिरी भागमा हुने रानीपोखरी जस्तोलाई ‘सिरान पोखरी’ भनिन्थ्यो। यस्ता पोखरीले जमिनमा पानी ‘रिचार्ज’ भई भित्री सहरका इनार र ढुंगेधारा रसाउँथे। यी पोखरीले बर्खा बेला पानीको भेल बस्तीभित्र छिर्न रोक्थ्यो। बर्खाको त्यही पानी जम्मा गरेर टोल–टोलमा बाँड्न ‘रिजर्भ्वायर’ को काम पनि गर्थ्यो।

हाँडीगाउँको गहनापोखरी, क्षेत्रपाटीको इखापुखु, कमलपोखरी, ललितपुरको लगनखेल र जावलाखेल पोखरी, भक्तपुरको सिद्धपोखरी यही खालका पोखरी हुन्। तर पछिल्ला समय सहर भित्रका इनार र ढुंगेधारा सुक्दै गएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार