काठमाडौ : सिसडोल आसपासमा बग्ने पानीमा प्रशस्त मात्रामा फोहोरको झोल (लिच्चड) मिसिएको पाईएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिस्डोल क्षेत्रमा गरिएको पानीको परिक्षण गर्दा अत्यधिक लिच्चड मिसिएको भेटिएको हो ।
लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९०० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको थियो । सिस्डोलबाट संकलित तीनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ ।
लिच्चड मिसिएर भएको प्रदुषणको डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले अध्ययन गरेको हो ।
स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।
पानी तथा लिच्चडको पुर्ण रिपोर्ट केही दिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाउनेछ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने काठमाडौ महानगरपालिकाले जनाएको छ ।
मंगलबार नै अमृता पौडेलको नेतृत्वको टोलीले सिसडोल क्षेत्रको अवलोकन गरी सिसडोललाई गन्ध रहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु आगामी तीन दिनभित्रै सुरु गर्ने महानगरपालिकाले जनाएको छ ।