काठमाडौ : तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ ।
खानेपानी तथा ढल निकास विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ ।
के हो अघि तीन पछि तीन ?
खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठका अनुसार अघि तीन भनेको खाना खानुअघि, खाना बनाउनु अघि र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु हो । यस्तै पछि तीन भनेको बच्चाको दिसा धोएपछि, शौचालय गएपछि र फोहोर वस्तु छोएपछि पनि साबुन पानीले हात धुनु हो ।
१० औं विश्व हात धुने दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइको अवस्थाका विषयमा प्रस्तुतीकरण गर्दै उहाँले यस्तो जानकारी गराउनुभएको हो ।
कार्यक्रममा युनिसेफका सिद्धि श्रेष्ठले हात धुने पानी, पिउने पानी जस्तो सुरक्षित हुनु नपर्ने बताउनुभयो । व्याक्टेरिया रहित पानी र साबुनले हात धोएमा झाडापखालाको समस्या झण्डै ५० प्रतिशतले घट्ने देखाएको छ । विभिन्न अध्ययनले साबुन पानीले राम्रो सँग हात धोएमा कुपोषणको समस्या ५० प्रतिशतले कम गर्न सकिन्छ ।
हात धुँदा आवश्यक पर्ने साबुन र पानीका विषयमा विभिन्न अध्ययनले फरक फरक कुरा औल्याएपनि त्यसको तात्विक भिन्नता भनेको रहेको श्रेष्ठले बताउनुभयो ।
‘कुनै अध्ययनले हात धोएपछि घाममा सुकाउनुपर्ने भनेको छ, कतिले सफा तौलियाले पुछे पनि हुने भेको छ, अनि कपडा धुने साबुनले धुन नहुने र यसका लागि एन्टि ब्याक्टेरियल साबुन आवश्यक पर्छ भनेको छ, तर हात चाहिं साबुन पानीले नै धुनुपर्छ’ उहाँले भन्नुभयो ।
हात धुनु खोप लगाउनु जस्तै हो
साबुन पानीले राम्रो सँग हात धुनु खोप लगाउनु जस्तै भएको खानेपानी तथा ढल निकास विभाग, वातावरणीय शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले बताउनुभयो ।
हात धुँदा सरुवा रोगको संक्रमणबाट बचाउन सकिने मात्र नभई श्वासप्रश्वास सम्बन्धी रोग, आँखामा हुने संक्रमण तथा बालबालिकालाई लाग्ने जुका जस्ता समस्याबाट समेत बचाउन खोपको जस्तै काम गर्ने भएकाले हात धुनुलाई खोप लगाउनुसँग तुलना गरिएको उहाँले बताउनुभयो ।
‘खोप लगाउन स्वास्थ्य संस्थामा जानुपर्छ, अनि स्वास्थ्यकर्मीले लगाइदिन्छन्, यो यस्तो खोप हो, जुन आफ्ना लागि आफैले लगाउँछौं, त्यो हो हात धुने’ युनिसेफका सिद्धि श्रेष्ठले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले दुर्गम जिल्लासम्म पुग्दा साबुनको मूल्य धेरै पर्ने र निम्न बर्गीय मानिसको पहुँचमा नहुने भएकाले सरकारले अनुदानको व्यवस्था गरेर भएपनि दुर्गमका नागरिकले पनि सर्वसूलभ तरिकाले पाउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागले खानेपानी तथा सरसफाइको अवस्थाका विषयमा पुनरावलोकन, युनिसेफले नेपालमा हात धुने अभ्यास र महत्व तथा फेडवासनले नागरिक समाजको भूमिका, प्राप्ति र खुला दिसामुक्त अभियानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।