फोहोर फ्याँक्दै हुनुहुन्छ ? एक कल फोन गर्नुस्, फोहोर दिनुस, पैसा लिनुस्

काठमाडौ : तपाईको घरमा कुनै फोहोर छ ? छ, भने फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् । अनि फोहोर आफैसँग लिएर जान्छन् ।

रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको तौल अनुसारको पैसा तपाईले पाउनुहुन्छ ।

 खुशीको कुरा

विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेका कुसल हर्जानी, स्ट्राटेजी एण्ड टेक्नोलोजी म्यानेजमेण्टमा एमबिए गरेका राघवेन्द्र महतो र कम्प्युटर इन्जिनियरिङमा ग्रयाजुएट रुनित सरियाको संयुक्त प्रयासले एउटा कम्पनि जन्मिएको छ, जसले हाम्रो घरको फोहरलाई मोहरमा वदल्दै छ । कम्पनीको नाम हो, डोको रिसाइकल्स् ।

‘घुम्न जाँदा डोकोलाई हामीले मल बोक्ने भाँडोको रुपमा प्रयोग गरेको देख्यौं । र गाउँघरमा त्यहि मल बोक्ने भाँडो नै सहरमा फोहर बोक्ने कम्पनि बन्यो ।’ कम्पनिका सञ्चालक कुसल हर्जानी भन्छन् ।

 

समस्याको कुरा

थोत्रो कपि, कागज, प्लास्टिक या सिसाका बोतल, टुटेफुटेका सिसा नभएको घर त कस्को हुन्छ होला र ? त्यसमाथि कति घरमा त काम नलाग्ने फलाम, पुराना फर्निचर, पुराना विद्युतिय सामाग्रीहरुको पनि थुप्रो हुन्छ ।

एसियाली विकास बैकको सन् २०१३ को तथ्याकंलाई आधार मान्ने हो भने, नेपालका नगर क्षेत्रमा औषतमा दैनिक प्रतिव्यक्ति ३ सय १७ ग्रामको ठोस फोहोर उत्पन्न हुन्छ । यो भनेको वार्षिक झण्डै ५ लाख २५ हजार टन फोहर हो ।

यत्रो फोहोरको ठूलो हिस्साको स्रोत तपाई हाम्रो घर पनि हो । त्यसैले यस्ता फोहोरलाई कहाँ र कसरी लगेर फाल्ने त्यो एउटा आफैमा समस्या हो । हो, यही समस्यालाई ध्यानमा राख्दै डोको रिसाइकल्स् नामक कम्पनी खुलको हो । यो कम्पनीले ठोस प्रकृतिका फोहोरलाई व्यवस्थापन गर्छ ।

समाधानको कुरा

तपाईको घरमा कुनै प्रकारका ठोस खालका फोहोर छन् भने, यो कम्पनीलाई फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् ।

अनि फोहोर आफैसँग लिएर जान्छन् । रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको तौल अनुसारको पैसा तपाईले पाउनुहुन्छ ।

 

उक्त फोहोरलाई सानोठिमिस्थित उनीहरुको साइटमा लगिन्छ । त्यसपछि, फोहरको सेग्रीगेसन हुन्छ । अर्थात् कागजजन्य फोहर, प्लास्टिकजन्य फोहर, सिसाजन्य फोहोर सबैलाई भिन्दा भिन्दै ठाँउमा छुट्याएर राखिन्छ । त्यसपछि फोहोरको प्रकृति अनुसार पुन प्रसोधनका लागि सम्बन्धित उद्योगमा पठाइन्छ ।

यसवापत डोको रिसाइकल्स्ले उद्योगसँग पैसा लिन्छन् । यो नै उनीहरुको मुख्य आम्दानीको स्रोत हो । तर कम्पनीलाई सँधै आम्दानि नै हुन्छ भन्ने छैन । सञ्चालक हर्जानी भन्छन्, ‘ग्राहकबाट पैसा तिरेर ल्याएको फोहरको लगभग १० प्रतिशत फोहर पुनः प्रसोधन गर्नै नसकिने प्रकृतिको हुन्छ । जसलाई जलाउनुको विकल्प हुँदैन । यो एक प्रकारको घाटा नै हो । ’

यो फोहर पुनः प्रसोधन गर्ने कार्यमा लागेर समाजको ठूलो समस्या समाधान गर्न खोजको छ । फेरि यो काम समाजसेवा मात्र पनि होईन ।

यसवाट उनीहरुले आम्दानी पनि गरिरहेका छन् । कति आम्दानी भईरहेको छ भन्ने कुरा चाँही उनीहरुले खुलाउन चाहेनन् । साथै यसबाट १५ जनाको लागि रोजगारी समेत सिर्जना भएको छ ।

कम्पनी करिव ५० लाख रुपैयाको लगानीमा खुलेको हो । काठमाण्डौंबाट शुरु गरेर पुरै देशलाई नै फोहरको समस्याबाट मुक्ति दिने उनीहरुको लक्ष्य छ । तीनै जना सञ्चालक एकै बोलीमा भन्छन्, ‘अब फोहरले समस्या हुन दिर्दैनौं’ ।

असीम तिमल्सिना, हाम्रो कथा डट कम बाट साभार 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार