काठमाडौ : ढल तथा फोहोर पानी खोलामा सिधै मिसाउँदा नदी प्रदूषण हुन्छ । प्रदूषित पानी र ढललाई कसरी पुन: सफा पारिन्छ त ? फोहोर पानीलाई प्रशोधन गरेर नदीमा पठाइने गरिन्छ । काठमाडौं उपत्यकामा चालु अवस्थामा गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र मात्रै रहेको छ । पूर्ण क्षमता ३.२५ करोड लिटर पानी दैनिक रुपमा प्रशोधन गर्न सक्ने भए पनि हाल २ करोड लिटर फोहोर पानी र ढल यो केन्द्रले गरिरहेको छ ।
यो प्रशोधन केन्द्रमा गुहेश्वरी मन्दिरको माथिल्लो तटीय क्षेत्रमा ढल संकलन गर्ने पाइप बिछ्याइएको छ, जुन पाइपमा घरबाट निस्किएका ढल संकलन गरेर प्रशोधन केन्द्रमा ल्याएर शुद्ध पानी वाग्मतीमा छाडिन्छ ।
आधुनिक प्रविधियुक्त रहेको यो प्लान्टले दैनिक ८ टन हानिरहित स्लजसमेत उत्पादन गर्छ । यो स्लज खेतबारीमा मलको रुपमा प्रयोग गर्न मिल्ने केयूकेएलका आयोजना कार्यान्वयन इकाईका उपनिर्देशक विष्णुबहादुर पाँ श्रेष्ठले बताए ।
काठमाडौंको चाबहिल, बौद्ध, जोरपाटीलगायत क्षेत्रबाट उत्पादन भएको फोहोरपानी यो केन्द्रले प्रशोधन गरेर वाग्मतीमा पठाइरहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
प्रशोधन केन्द्रले जैविक प्रक्रियाबाट फोहोरपानी प्रशोधन गरिरहेको छ । उपनिर्देशक श्रेष्ठ भन्छन्, ‘एरोबिक ब्याक्टेरियाहरूलाई अनुकूलन वातावरणको सिर्जना गरी एक्टिभेटेड स्लज विधिबाट फोहोरपानी प्रशोधन गरिन्छ ।’
घरायसी फोहोरपानीलाई यस केन्द्रले विभिन्न तहको प्रशोधनपश्चात् अन्तिम निष्काशनको रुपमा सफा पानी, ठोस स्लज र बायो ग्याँस उत्पादन गर्छ । उत्पादित बायोग्याँसबाट बिजुली उत्पादन गरिन्छ । प्रशोधन केन्द्र सञ्चालन गर्न चाहिने ६५० किलोवाट विद्युत्मध्ये ३२० किलोवाट विद्युत् बायोग्याँसबाट उत्पादन गर्न सकिने उनले बताए ।
ढल यसरी रुपान्तरण हुन्छ प्रशोधित पानीमा
गुहेश्वरीमा ढलमार्फत बग्दै आएको घरयासी फोहोर पानीलाई केन्द्रमा रहेको ‘कोर्स स्कृन’ मा पठाइन्छ । उक्त ठाउँमा ढलमा मिसिएका २० एमएमभन्दा ठूलो ठोस वस्तुहरू छानिन्छ । त्यसपछि ग्रिफट च्याम्बरमा जान्छ । जहाँ पानीका रहेका गिटी र बालुवारहित फोहोरपानीलाई सम्प बेलमा जम्मा गरी पम्प गरेर फाइन स्कृनमा पठाइने इन्जिनियर केसीले बताए । उक्त स्कृनमा ६ एमएमसम्मका ठोस पदार्थलाई निकालेर छानिन्छ ।
अर्को चरण भनेको प्राइमरी सेडिमेन्टेसन ट्यांकमा पानी प्रवेश गर्छ । इन्जिनियर समेत रहेका श्रेष्ठले भने, ‘औसत बहाव हुँदा पानी सिधै प्राइमेरी सेडिमेन्टेसन ट्यांकमा जान्छ । पानीको बहाव बढी हुँदा चाहीँ इक्वालाइजेसन ट्यांकमा जान्छ र बहाव कम हुँदा इक्वालाइजेसन ट्यांकबाट पानी प्राइमरी सेडिमेन्टेसन ट्यांकमा आउने गर्छ र पानीको बहावमा एकरुपता कायम हुन्छ ।’
यो ट्यांकमा पानीमा भएको साना ठोस पदार्थहरू थेग्रिने गर्छ र बाँकी रहेका अरू पदार्थहरू पानीसँगै सेकेन्डरी ट्रिटमेन्ट युनिटमा जाने गर्दछ ।
सेकेन्डरी ट्रिटमेन्ट युनिट अर्थात् एरिएसन ट्यांंकमा आएपछि पानीमा घोलिएर बसेका जैविक पदार्थहरू ब्याक्टेरियाहरूको कारण बिस्तारै ठोस पदार्थ र पानीमा परिणत हुँदै जान्छ ।
पानीमा घाोलिएर बसेको जैविक पदार्थलाई ठोस पदार्थमा परिणत गर्न ट्यांकीको पिँधबाट अक्सिजनको अपूर्ति गरिन्छ । ‘अक्सिजनको प्रयोग गरेर सूक्ष्म जीवले पानीमा भएको जैविक पदार्थलाई खानाको रुपमा उपयोग गर्छन्,’ इन्जिनियर केसीले भने । अनुकूल वातावरण पाएर सूक्ष्म जीवको जनसंख्या बढ्दै जान्छ र फोहोर पानी प्रशोधन हुने प्रक्रिया निरन्तर जारी रहने उनले जनाए ।
त्यसपछि प्रशोधन केन्द्रमा रहेको एरिएसन ट्यांकबाट पानी सेकेन्डरी सेडिमेन्टसन ट्यांकमा पठाइन्छ । जहाँ पानीमा रहेका ठोस पदार्थहरु (जसमा मरेका ब्याक्टेरिया,जैविक पदार्थ रहन्छ) पिँधमा थिग्रिन थाल्दछन् र त्यहाँबा निकालिने गरिन्छ ।
यो प्रक्रिया पूरा गरेपछि आएको सङ्लो पानीलाई फेरि टर्सरी ट्रिटमेन्ट युनिटमा पठाएर पानीलाई थप प्रशोधित गरिन्छ । अन्तिममा पानीमा क्लोरिन मिश्रण गरेपपछि डिस्इन्फेक्सन गरिन्छ र त्यसपछि प्रशोधित सफा पानीलाई वाग्मती खोलामा बगाइन्छ ।
गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधन गरी निष्काशन गरिएको पानीमा बीओडी, सीओडी, टीएसडी आदिको मात्रा नेपाल सरकारले तोकेको मापदण्डभन्दा कम रहेको पाइएको श्रेष्ठले बताए ।