जैविक मल उद्योग बन्द हुने अवस्थामा

मोरङ : मोरङको पथरीशनिश्चरे–२ मा पाँच वर्षदेखि सञ्चालनमा रहेको प्रदेश नं. १ को जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । प्रदेशमा नै बजार नपाउँदा जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको हो । प्रति घण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहे पनि उद्योगले हाल बार्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । प्रदेश नं. १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखि नै घाटामा चल्दै आएको छ ।

तीन करोड ५० लाख रुपैयाँ लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौँले उपत्यका बाहिर प्रदेश नं. १ शाखा सञ्चालनमा ल्याए पनि उद्योग घाटामा चलिरहेको हो ।

मलको अभाव टार्ने र माटोको संरक्षण गर्ने उद्देश्य सहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।

पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आउनुभएको थियो । तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आए लगत्तै रोकिए पछि उद्योग सङ्कटमा परेको छ । सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जनले बताउनुभयो । जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो।

जैविक मल प्रयोगमा ल्याए किसानको र राज्यको समस्या दुवै हल हुनुका साथै धेरैले रोजगारी पाउनेछन् । तर नेपाल सरकारले रासायनिक मल युरिया प्रति मेट्रिक टन छ सय ९३ डलरले खरिद गर्दैछ । सरकारले बाहिरबाट खरिद गरेर ल्याएको युरिया मल किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । उद्योगले मल बनाउन धानको ढुटो, प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ । आठ केजी मलले एक कठ्ठा जमिनलाई पर्याप्त हुने बताइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार