महानिर्देशक एवं उपमहानिर्देशकद्वारा गण्डकीका १० भन्दा बढी खानेपानी आयोजनाहरुको सुपरिवेक्षण

  वास खबर सम्वाददाता  1258 पटक हेरिएको

कास्की : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी र उपमहानिर्देशक राम कुमार श्रेष्ठ तथा जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाका आयोजना प्रमुखको टोलीले कास्की, बाग्लुङ, तनहुँ र गोरखाका १० वटा भन्दा बढी खानेपानी तथा सरसफाइ आयोजना र ढल आयोजनाको सुपरिवेक्षण गर्नु भएको छ । सुपरिक्षण टोलीले कास्कीको भरतपोखरी खानेपानी आयोजना र काहुँ खानेपानी तथा सरसफाइ आयोजनाको सुपरिवेक्षण गर्नुभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभयो ।

आयोजना प्रमुख केसीका अनुसार टोलीले बागलुङ ढल आयोजना तथा बागलुङ नगर सहलगानी खानेपानी आयोजना, तनहुँको बन्दिपुर खानेपानी आयोजना, भानु खानेपानी आयोजना तथा गोरखाको पालुङटार खानेपानी आयोजना, दरौंदी बिरिमकाली खानेपानी आयोजना र गोरखा ढल निर्माण आयोजनाको समेत निरिक्षण गर्नुभएको छ ।

टोलीले आज (आइतबार) गोरखा दरौंदी बृहत पम्पिङ खानेपानी आयोजना, फुजेल खानेपानी आयोजना र दर्बुङ गण्डकी खानेपानी आयोजनाको अवलोकन एवं सुपरिक्षण गर्दैछ ।

महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख सहितको टोलीले सम्बन्धित खानेपानी आयोजनाका ठेकेदार एवं खानेपानी उपभोक्ता समितिसँग समेत छलफल गरेको थियो ।

छलफलको क्रममा खानेपानी आयोजनाको भौतिक तथा वित्तिय प्रगतिको वर्तमान अवस्था, आयोजना निर्माणमा आईपरेका कठिनाई र समाधानका लागि गरिएका प्रयास, ठेकेदार कम्पनी एवं खानेपानी उपभोक्ता समितिले समयमै आयोजना सम्पन्न गर्नका लागि गरिरहेको प्रयासका बिषयमा जानकारी हासिल गरिएको थियो ।


महानिर्देशक दुवाडी तथा उपमहानिर्देशक श्रेष्ठले हालसम्म भए गरेका कामहरुको विवरण टिपोट गर्नु भई बाँकी कामलाई तीव्रता दिन र उपभोक्तालाई समयमै सुरक्षित खानेपानी उपलब्ध गराउने कार्यमा सहयोगी बन्न आग्रह गर्नुभयो ।

टोलीले गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरि शरण आचार्यसँग समेत भेटघाट गरी कास्कीमा सञ्चालन खानेपानी तथा सरसफाइ आयोजनाहरुको बिषयमा छलफल गरेको थियो ।

फोटोहरु :उपमहानिर्देशक रामकुमार श्रेष्ठको फेसबुकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार