फोहोर बिसर्जनमा लापरवाही : शहरी क्षेत्रको फोहोर खानेपानीको मुहान क्षेत्रमा लगेर जलाईदै

रुघाखोकी र दमका बिरामी बढ्दो

वीरेन्द्रनगर : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट रत्न राजमार्ग हुँदै तीन किलोमिटर पश्चिम र करिब चार किलोमिटर उत्तर हिँडेपछि तारेभीर पुगिन्छ । जुन वीरेन्द्रनगर नगरपालिका–१ को श्रीकृष्ण सामुदायिक वनमा पर्छ ।

कच्ची सडक पैदल यात्रा गर्दै तारेभीर क्षेत्र पुग्दै गर्दा फोहोरको दुर्गन्धले यात्रा गर्न सकिँदैन । ‘बजारभरिको फोहोर ल्याएर हाम्रो घर नजिकै यसरी फोहोर फालिदिन्छन्,’ स्थानीय खड्ग मगरले भने, ‘अहिले दुर्गन्धले निकै सताएको छ ।’

०७३ देखि नगरपालिकाले उत्पादित फोहोर तारेभीरमा विसर्जन गर्दै आएको छ । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ धारापानीको माथिल्लो क्षेत्र प्रभावित छ । फोहोर जंगलभरि थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन् । ल्यान्डफिल्ड साइड निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भए पनि जथाभावी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको हो । घाँस–दाउरा गर्न र गाईबस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको मगरले बताए । स्थानीय इच्छबहादुर फौंजाले चिसो समय नजिकिँदा पनि लामखुट्टे र झिँगाले निकै सताउने गरेको बताए ।

उनका अनुसार नगरपालिकाले सामुदायिक वनमा अव्यवस्थित ढंगले फोहोर फालिरहेको छ । उक्त फोहोरका कारण झन्डै १ सय ६० घरधुरीलाई दुर्गन्धका कारण बस्नै सकस भइरहेको उनले गुनासो गरे । ‘ट्र्याक्टरमा ल्याउने फोहोर बाटोभरि खसाल्दै लैजान्छन्,’ उनले भने, ‘सबै फोहोर एकै ठाउँमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यसमेत जोखिममा पर्ने अवस्था आइसक्यो ।’

१६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको १ देखि १२ वडासम्मको फोहोर संकलन गरी धारापानीस्थित तारेभीरमा फाल्ने गरिएको छ । नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफूहरू दुर्गन्धमा बस्नुपरिरहेको स्थानीय लीलाराम पुरीले गुनासो गरे । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृति दिइहाल्यौँ,’ उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवृद्धामा विभिन्न रोगहरूसमेत देखा पर्ने गरेको छ, पछिल्लो समय डेंगीले महामारीको रूप लिँदै गर्दा हाम्रो घरछेउमै लामखुट्टे उत्पादन भइरहेको छ ।’

फोहोर जलाउने स्थल नजिकै पानीका मुहान

तारेभीरमा फोहोरको थुप्रो नजिकै पानीका मुहानहरू पनि छन् । ती पानीका मुहानहरू सिर्जना टोल र सोलिघोप्टे क्षेत्र तथा बराहताल गाउँपालिका–२ गिरीघाटस्थित बाढी प्रभावितले खानेपानीका रूपमा प्रयोग गरिरहेका छन् । फोहोरको थुप्रो छेउमा कुहिरेपानी खोला बगिरहेको छ । त्यही पानी गिरीघाटस्थित बाढी प्रभावित शिविरका बासिन्दाले पिउँछन् । फोहोर फाल्ने क्षेत्रका रूपमा प्रयोग भइरहेको वनका अध्यक्ष पद्मा थापाले सम्बन्धित ठाउँमा नपुग्दै बाटोभरि चुहाउँदै फोहोर लैजाने गरिएको बताइन् ।

ल्यान्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको स्थानीयको भनाइ छ । ‘यहाँ फोहोर फालेर सधैँ आगो लगाइरहन्छन्,’ उनले भनिन्, ‘पानी परेका बेलाबाहेक जतिबेला पनि आगो लागिरहेको हुन्छ, आगोले गर्दा स्वास्थ्यमा त असर परेको छ नै खडेरीको समयमा वनमा समेत आगलागी हुने गरेको छ ।’ आगलागीका कारण जनावरसमेत विस्थापित भएको उनको भनाइ छ । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

फोहोर जलाउँदा वायु प्रदुषण

बजारका केही स्थानीयले फोहोर भने घरमै जलाउने गरेका छन् । बालरोग विशेषज्ञ डा. नवराज केसी वीरेन्द्रनगरको बजार क्षेत्रमा उत्पादन हुने पोलिथिनजन्य फोहोरका कारण वायु प्रदूषण भइरहेको बताउँछन् । ‘सबैलाई लाग्छ कि पोलिथिन जलाएपछि नष्ट भयो,’ उनले भने, ‘तर त्यो पोलिथिन ग्यास बनेर वातावरणलाई प्रदूषित बनाइरहेको छ भन्नेमा सबैले नजरअन्दाज गरिरहेका छन् ।’ उक्त ग्यास सुर्खेतकै आकाशमाथि मडारिरहेको डा। केसीले बताए । उक्त धूवाले दमका बिरामीलाई थप गाह्रो बनाउने डा। केसीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ देखि १२ सम्म उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा क्लिन नेपालले लिएको छ । १ देखि ४ वडासम्म भने वडा तथा नगरपालिकाले व्यवस्थापन गरिरहेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले फोहोर व्यवस्थापन कार्यविधि पनि बनाएर अगाडि बढेको छ । कार्यविधिअनुसार नगरपालिकाबाट उत्पादन भएको फोहोर वार्षिक सात प्रतिशतका दरले वृद्धि हुन्छ ।

लिड नेपालले गरेको आधारभूत सर्वेक्षण २०१८/२०१९ अनुसार वीरेन्द्रनगरमा फोहोर संकलन गर्ने औपचारिक क्षेत्रभित्रको जनसंख्या ४३ हजार ४ सय ५१ छ । फोहोर संकलन गर्ने अनौपचारिक क्षेत्रभित्रको जनसंख्या ७२ हजार रहेको कार्यविधिमा उल्लेख छ । फोहोर व्यवस्थापनका लागि कृष्ण सामुदायिक वनमा ल्यान्डफिल्ड साइट निर्माण भइरहेको छ ।

ल्यान्डफिल्ड साइटको जग्गा प्राप्तिको प्रक्रिया ०६७ देखि सुरु भएको हो । सुरुको वर्ष प्रारम्भिक वातावरणीय मूल्यांकन ९आईई० र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछि निर्माण कार्य भने ०७७ देखि सुरु भएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । हाल ल्यान्डफिल्ड साइटअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापन र सेग्रिगेसन सेन्टरको काम मात्र सुरु भएको छ । निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार