बाँके : बाँकेको बैजनाथ गाउँपालिका स्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य संस्थाजन्य फोहोरलाई स्रोतमै वर्गीकरण गरी निर्मलीकरण गर्न थालेको छ । सिमाभी (SIMAVI) अन्तर्गत वास एलायन्स इन्टरनेस्नलले गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा सञ्चालन गरेको वास एसडिजी प्रोग्राम (WASH SDG Program) मार्फत बैजनाथ गाउँपालिकाको सहकार्यमा स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापन गर्न थालिएको हो ।
स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनको अवस्थाबारे वास एसडीजी कन्सोर्टियमका कोअर्डिनेटर Geerte Van Der Meijden र वास एसडिजी प्रोजेक्टका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पाले हालै अनुगमन समेत गरिसक्नु भएको छ ।
बनकटवा स्वास्थ्य केन्द्रले गरिरहेको फोहोर व्यवस्थापनबारे हेर्नुहोस् यो भिडियो रिपोर्ट :
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालजन्य फोहोरमध्ये १० प्रतिशत मात्र हानिकारक र ५ प्रतिशत हानी गर्न सक्ने सम्भावनाका हुन्छन् । बाँकी ८५ प्रतिशत फोहोर सामान्य खालका हुन्छन् । यदि संक्रामक र सामान्य फोहोरलाई समयमा नै छुट्याउन सकिएन भने अस्पतालका सबै फोहोर संक्रामक हुन्छन् । त्यसैले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि सरकारले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ कार्यान्वयनमा ल्याईसकेको छ ।
यद्यपि निर्देशिका अनुरुप फोहोर व्यवस्थापन भएको पाईदैन । प्रायःजसो अस्पतालहरुले अस्पताल हाताभित्रै खाडल बनाई खुला रुपमा जलाउने गरेको पाइन्छ भने केही अस्पतालहरुले नगरपालिकाको गाडी मार्फत ल्यान्डफिल्ड साइटमा पठाउने गरेको पाइएको छ । सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमध्ये एकदमै न्यून स्वास्थ्य संस्थाहरुले मात्र निर्देशिका अनुसार फोहोर व्यवस्थापन गरेको पाइन्छ ।
निर्देशिकामा स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापनका लागि राम्रो माध्यमका रूपमा अटोक्लेभ गर्ने वा इन्सिनेटर (फोहोर जलाउने कन्टेनर) छ भने अस्पतालभित्रै व्यवस्थापन गर्न सकिने उल्लेख छ ।
स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापन जटिल प्रक्रिया हो । अझ संक्रामक फोहोरको व्यवस्थापन त झनै जटिल प्रक्रिया हो । यसको उचित व्यवस्थापनको अभ्यास बाँकेको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रले सुरुवात गरिसकेको छ ।