चितवन : अस्पतालजन्य फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्न सके जनस्वास्थ्यको रक्षा गर्नुका साथै रोजगारी र आम्दानीको अवसर समेत सिर्जना गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ चितवनको ‘भरतपुर अस्पताल’ ले ।
६ सय सैयाको अस्पतालमा दैनिक हजार किलो सम्म फोहोर उत्पादन हुन्छ । अस्पतालमा उत्पादित यही फोहोर रोजगारीको अवसर र नियमित आम्दानीको स्रोत बनेको छ । अस्पतालले फोहोर व्यवस्थापनका लागि ४ जनालाई रोजगारी प्रदान गरेको छ भने फोहोर विक्रीबाट मासिक ३० हजार रुपैयाँ सम्म आम्दानी लिन सफल भएको छ ।
अस्पतालले फोहोरलाई हरेक वार्डमा वर्गीकरण गरिन्छ । यसका लागि हरेक वार्डमा बिभिन्न रङ र स्टिकर अंकित बाल्टी राखिएको छ । सोही बाल्टीहरुमा सङ्क्रमित, असंक्रमित र धरिला बस्तुहरुलाई छुट्टाछुट्टै राखिन्छ ।
सङ्क्रमित फोहोरहरुलाई एक ठाउँमा जम्मा गरी अटोक्लेभ (Autoclave ) को प्रयोग गरी निर्मलीकरण गरिन्छ । २६ लाख रुपैयाँ पर्ने Autoclave मेसिन, सानेपा स्थित GIZ-S2HSS ले भरतपुर अस्पताललाई सहयोग गरेको हो । संक्रमित फोहोरलाई अटोक्लेभ गरी निसंक्रमण गरे पछि मात्र अन्तिम विसर्जन गरिन्छ ।
फोहोरबाट आएका पुनः प्रयोग हुने वस्तुहरुलाई अस्पतालले एक ठाउँमा संकलन गरेर विक्री गरिन्छ । यसबाट मासिक ३० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आइरहेको अस्पतालले जनाएको छ ।
सुत्केरीको साल–नाल जस्ता फोहोरहरु, र कुहिने वस्तुहरु बायो ग्याँस प्लाण्टमा विसर्जन गरिन्छ भने बाँकी रहेका सामान्य फोहोरलाई नियमित फोहोर संकलन गर्ने नगरपालिकाको गाडीमा विसर्जनको लागि पठाइन्छ ।
अस्पतालले अस्पतालजन्य फोहोरको समुचित व्यवस्थापन गर्न थालेपछि अघिल्लो बर्ष सम्म फोहोरको थुप्रोले दुर्गन्धित जग्गा अहिले सफा भएको छ । अस्पतालले जम्मा गरेर राखेको फोहोरलाई हरेक दुई दिनमा खाली गरिने त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।
बिगत एक बर्षदेखि फोहोर व्यवस्थापनको लागि अस्पतालले आधारभूत शिक्षा मात्र प्राप्त गरेका जनशक्तिलाई मेसिनेरी तालिम दिएर दक्ष जनशक्तिमा परिणत गरेको छ । आवश्यकता अनुसार अझै कर्मचारी थप्न सकिने अस्पतालले जनाएको छ । अस्पतालले हाल ४ जना कर्मचारी खटाएर स्थानीय रोजगारीलाई प्रोत्साहन गर्दै आएको छ ।
मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण प्रसाद पौडेलले फोहोरको उचित व्यवस्थापनका लागि छलफल कार्यक्रम र तालिमलाई विशेष महत्व दिदै आएको बताउनुभयो । दैनिक हजार किलो सम्म फोहोर उत्पादन हुने अस्पतालको फोहोर व्यवस्थापन गर्ने काम सजिलो नभए पनि सामूहिक कार्यबाट सफल भएको डा. पौडेलले बताउनुभयो ।
अस्पतालकै एक संक्रमण रोकथाम तथा नियन्त्रण (Infection Prevention Control) का प्रशिक्षित गोमा राईको अगुवाइमा House Keeping In-charge शान्ति देवी साप्कोटाको सहयोग तथा समर्पणबाट अस्पतालको फोहोर व्यवस्थापनमा निक्कै सुधार देखिएको छ ।
फोहोर व्यवस्थापनको कामलाई अझै सुदृढ र बलियो बनाउन अस्पतालका लगभग सबै नर्सिङ र कार्यालय सहयोगीहरुलाई तालिम दिईसकेको र भावी दिनमा समेत यस्ता तालिमहरुलाई निरन्तरता दिने अस्पतालको योजना रहेको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पौडेलले बताउनुभयो ।