फोहोर प्लाष्टिक व्यवस्थापन गर्न समस्या भयो ? अब डिजेल निकाल्नुहोस्

काठमाडौ : प्लाष्टिकजन्य फोहोरले वातावरणमा पार्ने असरलाई रोक्न प्लाष्टिक झोलाको प्रयोगमै प्रतिबन्ध लगाए पनि सफल हुन सकेको छैन । प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाए लगानी डुब्ने भयले प्लाष्टिक झोला उद्योगीको निद्रा हराएको छ ।

प्लाष्टिक झोला प्रयोग नगरुँ दैनिक जीवन नै असहज हुने प्रयोग गरुँ भने वातावरणमा असर पर्ने, यसले गर्दा उपभोक्ताले पनि ठूलै हैरानी खेप्दै आएका छन् । 

तर अब सरकार, वातावरणकर्मी, प्लाष्टिक उद्योगी र उपभोक्ता सबैलाई राहत मिल्ने भएको छ । किनकि अब फोहोर प्लाष्टिकबाट इन्धन निकाल्न सकिने भएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा हालै सम्पन्न ‘नवीनतम प्रविधि मार्फत स्थानीय तहका फोहरमैला व्यवस्थापनको अवसर’ विषयक कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले प्लाष्टिक मार्फत इन्धन निकालेर नगरपालिकाले आयआर्जन गर्न सक्ने बताएको छ ।

निजी क्षेत्रसँग सहकार्य गरी प्लाष्टिकबाट डिजेल बनाउने प्लान्ट बनाउन सकिने नाष्टको प्रविधि संकायका वरिष्ठ प्राविधिक अधिकृत डा. रविन्द्र प्रसाद ढकालले बताउनुभयो । प्लाष्टिकलाई जथाभावी विसर्जन गर्दा वातावरणीय असर परेकाले यसको प्रयोगमा प्रतिबन्ध लगाएर भन्दा पनि यसभित्रै अवसर खोजेर समस्या समाधानको उपाय खोज्नुपर्ने उहाँले बताउनुभयो ।

‘बर्षेनी प्लाष्टिक खपत बढ्दो छ, प्लाष्टिक प्रतिबन्ध गरेर निकास निस्कदैन, बरु इन्धन बनाउन सके हामीलाई फाइदै फाइदा पुग्छ’ उहँँले भन्नुभयो ।

पेट्रोलियम पदार्थबाटै प्लाष्टिक बन्ने र त्यही बन्ने प्रक्रियाको उल्ने विधिबाट डिजेल बनाउन सकिने उहाँले बताउनुभयो । प्लाष्टिकको प्रकार अनुसार इन्धनको मात्रा, लागत आदिका विषयमा अध्ययन भैसकेको र यसबाट इन्धन निकाल्न सफल भइसकेकाले अब व्यवहारमा उतार्नुपर्ने उहाँले बताउनुभयो ।

१० टन क्षमताको डिजल प्लान्टका लागि साढे २ करोड लागत

प्लाष्टिकबाट डिजल निकाल्न १० टन क्षमताको प्लान्टलाई २ करोड पर्ने नाष्टका वैज्ञानिक इश्वर बज्राचार्यले बताउनुभयो । नगरपालिका, गाउँपालिकाले निजी क्षेत्रलाई प्रोत्साहन दिएमा देशका धेरै ठाउँमा यस्ता प्लान्ट जडान गर्न सकिने बताउनुभयो । सरसफाइ शुल्क लिएर प्लाष्टिकजन्य फोहर संकलनमा लाग्ने खर्चको अनुपातमा डिजेल उत्पादन खर्च सस्तो पर्ने उहाँको भनाइ थियो ।

एक अध्ययन अनुसार शहरमा निस्कने फोहोर मध्ये १९ प्रतिशत फोहोर प्लाष्टिकजन्य फोहोर हुने र अधिकांस प्लाष्टिकबाट ७० प्रतिशतको हाराहारीमा डिजेल निकाल्न सकिने देखाएको छ ।

बर्षौ बर्ष सम्म नकुहिने प्लाष्टिकलाई अक्सिजनको अनुपस्थितिमा उच्च तापक्रममा टुक्राएर इन्धन बनाउँदा वातावरणमा असर पनि नपर्ने र फोहोर व्यवस्थापनको चिन्ता पनि लिनु नपर्ने भएकाले यो नवीन प्रविधि नयाँ नगरपालिकाहरुका अति उपयुक्त हुने नाष्टका वैज्ञानिक इश्वर बज्राचार्यले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार