बारा : मधेस प्रदेश सरकारको खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले मधेस प्रदेशका जनतालाई सन् २०२८ भित्रै सुरक्षित खानेपानी र सरसफाइ उपलब्ध सेवा गराउने उदघोष गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नंं २२ चकरी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्दै मन्त्री कलवारले सुरक्षित पानी पिउनका लागि मधेस प्रदेशका जनताले सन् २०३० सम्म पर्खिरहनु नपर्ने बताउनुभएको हो ।
संयुक्त राष्ट्र संघले पारित गरेको दिगो विकास लक्ष्य ६ मा ‘सन् २०३० भित्र सबैका लागि स्वच्छ पानी र सफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख छ । ‘सन् २०३० आउन अझै ७ बर्ष बाँकी छ, तर मधेस प्रदेशका जनताले ५ बर्ष भित्रमै सुरक्षित पानी पिउन पाउनेछन्’ खानेपानीमन्त्री कलवारले भन्नुभयो ।
‘उहाँले सुरक्षित पानी मात्र सेवन गर्ने हो भने रोग व्याधि नलाग्ने र असुरक्षित पानीको सेवन गर्दा विभिन्न रोगको शिकार हुनु परेको बताउनुभयो । असुरक्षित पानीका कारण मानिस गरिबीको शिकार हुनुपर्ने भन्दै मन्त्री कलवारले भन्नुभयो ‘असुरक्षित पानीले गर्दा मानिस विरामी हुन्छन्, बल्लतल्ल गरेर बचाएको रकम पनि उपचारमा खर्च गर्नुपर्छ । अनि मानिस गरिब हुन्छ ।’
उहाँले जीतपुर सिमरा उपमहानगरपालिकाको समुदाय, गाउँवस्ती, वडा र सिँगो उपमहानगरपालिकालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री कलवार भन्दा अगाडि बोल्नु भएका जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रदेश सरकारले आवश्यक सहयोग गरेमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा अभियानको नेतृत्व उपमहानगरपालिकाले गर्ने बताउनुभएको थियो । उहाँले समुदाय, बस्ती, वडा र उपमहानगरपालिकालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न पानीको अभाव भएको वस्तीमा खानेपानी उपलब्ध गराउने र खानेपानी आपूर्ति भएको बस्तीमा पनि सुरक्षित भएको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
चकरी बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नु अघि मन्त्री कलवारले श्री थानीदेवी चकरी खानेपानी तथा सरसफाइ योजनाको मुहानको संरचनाको समेत अवलोकन गर्नुभएको थियो ।
थानीदेवी चकरी खानेपानी तथा सरसफाइ योजनाबाट लाभान्वित हुने ३ सय ३५ घरमै एक÷एक वटा धारा निर्माण गरिएको छ । यसबाट १ हजार ८ सय ६९ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
जीतपुर सिमरा उपमहानगर पालिकाबाट ३५ लाख ३५ हजार ४ सय रुपैयाँ, युनिसेफ नेपाल, वेलायत सरकार एवं फिनल्यान्ड सरकारबाट ९१ लाख २४ हजार १ सय ७ रुपैयाँ अनुदान र समुदायबाट २५ लाख १ हजार ५ सय ४३ रुपैयाँ बराबरको लगानी गरी जम्मा १ करोड ५१ लाख ६१ हजार ४९ रुपैयाँमा खानेपानी योजना निर्माण सम्पन्न गरिएको हो ।
दुषित पानीको सेवनबाट दैनिक ४ जना बालबालिकाको मृत्यु
घोषणा कार्यक्रममा युनिसेफ नेपालका खानेपानी सरसफाइ अधिकृत सुरेन्द्रबाबु ढकालले ५ घरमध्ये १ घरले मात्र सुरक्षित पानी पिउने पाएको र यसलाई बढावा दिनुपरेको बताउनुभयो । लगभग ५० प्रतिशत जत्ति झाडापखाला दुषित पानीको सेवनका कारण हुने र यसबाट बर्षेणी १४ सय जत्ति बालबालिकाले ज्यान गुमाउनु परेको खानेपानी, सरसफाइ अधिकृत ढकालले बताउनुभयो । ‘विश्व स्वास्थ्य संगठनका अनुसार दुषित खानेपानीका कारण लगभग हरेक दिन चार जना बालबालिकाले ज्यान गुमाईरहेका छन्, यस्तो अवस्थाबाट सुधार ल्याउनुपर्नेछ । यसका लागि सुरक्षित खानेपानीको मात्र सेवन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
यस्तै युनिसेफ नेपालका खानेपानी, सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठले खानेपानीलाई आफ्नो नानीलाई जस्तै माया गर्नुपर्ने बताउनुभयो । पानीको मुहान सुकेका कारण पुनः अर्को मुहानको पानी ल्याउनुपरेको स्मरण गराउँदै उहाँले यसको दिगोपनाका लागि मुहान संरक्षण र खानेपानीका संरचनाहरुको पनि संरक्षण गर्नुपर्ने बताउनुभयो ।

सुरक्षित खानेपानी योजना भनेको के हो ?
गाउँपालिका वा नगरपालिकाका त्यस्ता समुदाय वा बस्तीहरु, जहाँका वासिन्दाले आफ्नै घर आँगनमा जडिएका धारा मार्फत (पानी संकलन गर्न ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा समेत), जुनसुकै बेला स्वच्छ र सुरक्षित (विशेष गरी स्वास्थलाई प्रत्यक्ष असर गर्ने हानिकारक तत्व जस्तै इ–कोली र आर्सेनिकका नेपाल सरकारले तोकेका सघन् मापदण्डभित्र भएका) खानेपानीको सुविधा उपभोग गरिरहेका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।
पाइप प्रणाली नभएको अवस्थामा भने संरक्षित पानीका स्रोत (इनार, कुवा, ट्युबवेल आदि) बाट प्राप्त पानीलाई घरायसी प्रविधिबाट शुद्धीकरण गरी पानी उपभोग गर्ने गरेका वासिन्दा भएका बस्तीलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।