घरायसी फोहोरको दिगो व्यवस्थापन यसरी गरौं

मधु राई : मैले दैनिकजसो घरबाट निस्कने फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नथालेको ठ्याक्कै एक दशक भयो । खासगरी भातभान्सा नै हो, कुहिने फोहोर निस्कने पहिलो मुहान । दैनिकजसो भान्साबाट निस्कने तरकारी र फलफूलको बोक्रालाई छुट्टै भाँडामा राख्ने हो भने एउटा घरबाट निस्कने फोहोरको मात्रा करिब सत्तरी प्रतिशत स्वात्तै घट्छ । यस्ता कुहिने फोहोरबाट जैविक मल बनाउन सकिन्छ ।

घरेलु विधिबाट जैविक मल बनाउन खासै तालिम चाहिँदैन । चामल वा सिमेन्टको बोरा वा थर्मोकोलको भाँडा अथवा फलफूल राख्ने प्लाष्टिकको क्रेटमा कुहिने फोहोर थुपार्न‘पर्छ । त्यस्ता बोरा वा भाँडामा फोहोर थुपार्नु अघि चारैतिर ससाना दुला पार्न जरुरी छ । यसरी थुपारिएको फोहोरको मात्रा पाँच–छ इञ्च भएपछि माथिबाट माटो हाल्ने र त्यसमाथि आफ्नो पिसाब हाल्दै जाने हो भने दुई–तीन महिनामा जैविक मल तयार हुन्छ । यसरी तयार पारिएको मल प्रयोग गरी करेसाबारी र कौसीमा जैविक तरकारी उत्पादन गर्न सकिन्छ ।

यसरी घरबाट दैनिकजसो निस्कने कुहिने फोहोरको व्यवस्थापन गरिसकेपछि अजैविक फोहोरजस्तै प्लाष्टिक र कागजजन्य फोहोरको प्रकृति हेरी पुन: प्रयोग र पुन: चक्रण गर्न सकिन्छ । यस्तै प्लाष्टिकजन्य फोहोरमध्ये दैनिकजसो भित्रिने दूधको पोकाबाट दूध खन्याएपछि त्यसलाई उल्टा पारी साबुन–पानीले धोएर सुकाउनुपर्छ ।

धोएर सुकाएको दूधको पोका जम्मा गरी बिक्री गर्न सकिन्छ । यस्ता पोकाबाट धागो बनाइ पर्स, झोला वा चकटी तयार गर्न सकिन्छ । यस्तै आँटा र तेलसँगै भित्रिने मोटो प्लाष्टिकको पोका वा ग्यालेनजस्ता भाँडालाई गमलाका रूपमा पुन: प्रयोग गरी तरकारीको बिरुवा लगायत तरकारी उमार्न सकिन्छ ।

यस्तै अर्को दैनिक भित्रिने रङ्गीबिरङ्गी प्लाष्टिकको झोलाबाट पनि धागो बनाएर पर्स, झोला र चकटी बनाउन सकिन्छ । दिनहुँजसो घरमा भित्रिने दूधको पोका, प्लाष्टिकको झोला लगायत आँटा र तेलको पोकाको स्थायी व्यवस्थापनपछि फोहोर भनेर फ्याँकिने कागजको प्रकृति हेरी पुन: प्रयोग र पुन: चक्रण गर्न सकिन्छ ।

विशेषगरी दिनहँ‘जसो निस्कने कागजजन्य फोहोरलाई एउटा झोलामा जम्मा गरी यसबाट विभिन्न घरायसी, कार्यालय प्रयोजन लगायत शैक्षिक सामग्री बनाउन सकिन्छ । यस्तै दैनिक पत्रपत्रिका र छोराछोरीले फ्याँक्ने गरेका पुराना पुस्तक र कापी बिक्रीे गर्न सकिन्छ भने यस्ता फोहोरजन्य कागजलाई ससाना टुक्रा पारी एउटा बाल्टी वा ठूलो मुख भएको भाँडामा पाँच छ–दिन लत्तकै हुनेगरी भिजाउनुपर्छ । भिजेको कागजलाई खस्रो भुइँमा मुछेपछि आँटाको डल्लाजस्ता लसाइलो पदार्थ बन्छ । यस्ता ससाना डल्लालाई हत्केलामा राखेर पानी निथारेपछि मैदाको गम मिसाइ आफूलाई चाहिने सामग्री बनाउन सकिन्छ ।

यस्ता भाँडा बनाउन सर्वप्रथम आफूलाई चाहिने जुनसुकै आकारको भाँडाको फर्मालाई माथिबाट प्लाष्टिक र भिजेको कागज राखी गम मिश्रित डल्लालाई मकैको रोटीजस्तो बनाएर टाँस्नुपर्छ र सातादिन घाममा राख्नुपर्छ । कडा घाम भए चार–पाँच दिनमै फर्मा बनाइएको भाँडा आफै छुट्टिन्छ र यस्ता कागजको भाँडामा आफूलाई मनपर्ने रङ्गीबिरङ्गी कागज टाँसी पुन: प्रयोग गर्न सकिन्छ ।

कहिलेकाहीँ निस्कने धातुजन्य फोहोरजस्तै फलाम र पित्तलको टुक्रा एउटा भाँडामा जम्मा गरी बिक्री गर्न सकिन्छ भने सिसाका बोतल, कुड लगायत प्लाष्टिकका पुराना र भत्केका कुर्सी–टेबल बिक्री गरी आयआर्जन गर्न सकिन्छ । यसरी घरेलु विधि अपनाइ फोहोरको व्यवस्थापन गर्ने हो भने वातावरण स्वच्छ र सफामात्र हुँदैन, यसबाट आय आर्जनसमेत गर्न सकिन्छ ।

फोहोरबाट मोहर कमाउन सकिन्छ भन्ने चेत हामीमा नपलाउँदा एकातिर कवाडी व्यवसाय फस्टाएको छ, अर्कातिर स्थानीय निकायले फोहोर व्यवस्थापन गर्न ठूलो धनराशि खर्च गर्नुपरेको छ । यसरी घरेलु उपायहरू अवलम्बन गर्न नसक्दा फोहोर–मैला व्यवस्थापनमा परनिर्भरता बढ्दै गएको छ ।

परनिर्भरता बढ्दै जानु भनेको निजी कम्पनीहरू फस्टाउनु हो । औंलामा गन्न सकिने थोरै स्थानीय निकायहरूले नगरको फोहोर आफै व्यवस्थापन गर्दै आएका छन् भने अधिकांश नगरपालिकाहरूले निजी कम्पनीहरूलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिने गरेका छन् ।

नगरको फोहोर आफै व्यवस्थापन गर्दै आएको धनकुटा नगरपालिकाले यसपालि उत्कृष्ट नगरपालिकाको उपाधिसहित १० लाख रुपैयाँ पुरस्कार पायो भने इलाम र हेटौंडाले क्रमश: दोस्रो र तेस्रो उत्कृष्ट नगरपालिका बन्ने अवसर पाए । विकसित मुलुकमध्ये आइसल्यान्ड विश्वकै सफा देश हो भने स्वीडेन दोस्रो ।

स्वीडेनमा कुल घरायसी फोहोरको ४७ प्रतिशत फोहोर पुन: प्रयोग र पुन: चक्रण गरिन्छ भने ५२ प्रतिशत प्लाष्टिकजन्य फोहोरबाट वैकल्पिक ऊर्जा उत्पादन गरिन्छ । यसरी घरायसी फोहोरबाट उत्पादन हुने वैकल्पिक ऊर्जाको प्रयोग त्यहाँका ९ लाख ५० हजार घरपरिवारले गर्दै आएका छन् भने अपुग भए छिमेकी देशबाट घरायसी फोहोर आयात गरिन्छ । यस्तै कुल घरायसी फोहोरको ९९ प्रतिशत पुन: प्रयोग र पुन: चक्रण गरेपछि एक प्रतिशत काम नलाग्ने फोहोरमात्र ल्यान्डफिल साइटमा लगिन्छ ।

विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि फोहोरलाई मुहानमै वर्गीकरण गरी निजी कम्पनीहरूले फोहोर व्यवस्थापनमा आधुनिक विधि र प्रविधि भित्र्याइ घरायसी फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नसके घरपरिवार वातावरण–मैत्री बन्छ । घरपरिवार वातावरण–मैत्री बन्नु भनेको टोल र वडा सफासुग्घर बन्नु हो ।

टोल र वडा सफासुग्घर बन्नु भनेको नगर नै वातारण–मैत्री बन्नु हो । यस्तै वातावरण–मैत्री नगर बनाउन स्थानीय निकाय र निजी कम्पनीहरू मात्र हैन, नगरबासी आफैं पनि फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन कार्यमा अग्रसर हुनु जरुरी छ ।

कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार