अछाम : अछामको तुर्माखाँद गाउँपालिकाको वडा नं. ३ भैरव स्थानमा पुग्दा केही महिला र पुरुष भेला भईसकेका थिए । त्यहाँको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र उपभोक्ताहरुसँग छलफल तथा अन्तरक्रिया गर्न संयुक्त क्षेत्रगत समीक्षा JSR को एक टोली तुर्माखाँद पुगेको थियो । अन्तरक्रियाको बिषय थियो ‘खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरण ।’
छलफलमा महिला, पुरुष, बालबालिका, किशोर किशोरी र बृद्ध लगायतको उपस्थिति रहे पनि पुरुषको तुलनामा महिलाको उपस्थिति कम थियो । एक त उपस्थिति कम, अर्को कुरा उपस्थित भएका महिलाले पनि थोरै बोलेपछि अन्तरक्रिया गरिरहनु भएकी कर्णाली जल परियोजनाको लैङ्गिक समता तथा सामाजिक समावेशीकरण निर्देशक निलम धनुषेले सोध्नुभयो ‘महिलाहरु यस किसिमको तालिममा किन कम सहभागी हुन्छन् ? अनि किन कम बोल्छन् ?
‘बाख्रो हेर्नै पर्यो, गाईभैसी चुला चौका गर्नैपर्यो’ भित्तामा अडेस लगाएर बस्नु भएकी मनसरादेवी टमटाले यत्ति भन्न नपाउँदै नजिकै बसेका अर्जुन बूढाले सिकाउन थाल्नुभयो । मनसराले झोक्किदै भन्नुभयो ‘सुन सुन तमी नबोल’
त्यसपछि अर्जुन मौन बस्नुभयो । मनसराले बैठक, तालिम, छलफल गोष्ठीमा महिलाको कम सहभागिता हुनु र नबोल्नुको कारणबारे बेलिविस्तार लगाउनुभयो । ‘हामी महिलाहरुले पुरुषले फुर्सद दिए मात्र भाग लिन पाउँछौं, होइन भने घर बाहिर निस्कनै पाउँदैनौं । घरको काममा महिला व्यस्त हुनैपर्छ । पुरुषले पालो दियो भने पायौं, होइन भने यत्तिकै हो ।’
फुर्सद दिने पुरुष ‘तिमी पनि जाउँ, म पनि जान्छु’ भन्छन्
बैठकमा भाग लिन पाउने वा नपाउने कुरा घरको पुरुषमा भर पर्ने भन्दै उहाँले पालो दिने पुरुषले महिलालाई जहाँ पनि फुर्सद दिने, तिमी पनि जाउँ, म पनि जान्छु भन्ने गरेको सुनाउनुभयो । तर पालो नदिने पुरुषले तिमी पनि नजाउ, म पनि जाँदिन भन्ने गरेको सुनाउनुभयो ।
‘बैठकमा आएर पनि महिलाहरु बोल्दैनन् नि ?’ जेसी निर्देशक निलम धनुषेले मनसरालाई नै प्रश्न तेर्स्याउनुभयो । मनसराले यसमा पनि सहज जवाफ दिनुभयो ‘बोल्ने महिला जहाँ पनि बोल्छौं । नबोल्ने महिला कहीं पनि बोल्दैनन् ।’ उहाँले भन्नुभयो ‘मुखमा आयो भने त बोल्ने हो नि, क्षमता नै छैन भने कुरै आउँदैन कसरी बोल्ने ?’ उहाँले यसका लागि नियमित बैठक, तालिम गोष्ठीमा भाग लिन पाएमा मात्र बोल्न सक्ने क्षमताको विकास हुने बताउनुभयो । ‘बोल्न सिकैकै छैन भने कसरी बोल्ने हो ? आज आयो, भोलि पनि आयो भने लाजसरम पनि हट्दै जान्छ । बैठकमा पटक्कै आएकै छैन भने कसरी बोल्ने ? यस्तो हुन्छ के महिलाहरुको ।’
बैठक, तालिम जस्ता क्षमता विकास हुने कार्यक्रममा भाग लिन नपाएपछि मनमा ढुकढुकी बढ्ने, केही भन्न खोज्दा पनि विग्रने हो कि सप्रने हो भन्ने डरले बोल्न नसकिने उहाँको अनुभव छ ।
खानेपानीमा भेदभाव छैन
खानेपानी सेवा प्रदान गर्ने कुरामा कहीं कतै वञ्चित हुनु नपरेको र विभेद सहनु नपरेको मनसराले बताउनुभयो । सार्वजनिक धारामा पानी भर्दा पहिले पहिले भेदभाव सहनु परे पनि अहिले यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा महिला तथा दलित समुदायको समेत सहभागिता रहेकाले खानेपानीमा महिला तथा दलित वर्गको समान पहुँच रहेको लकान्द्र- सेलगढी सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव गजेन्द्र बहादुर बूढाले बताउनुभयो ।
खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरणको अवस्थाबारे गरिएको छलफलमा उपभोक्ता समितिमा अपाङ्गता भएका व्यक्तिको भने सहभागिता नरहेको पाईएको छ । गाउँपालिका, वडा कार्यालय तथा विभिन्न संघसंस्थाले सबैलाई खानेपानी सेवा पुर्याउन प्रयास गरेको देखिएपनि समाजको सबै बर्गमा पुर्याउने काम निक्कै चुनौतीपूर्ण रहेको छलफलमा सहभागी अर्जुन बुढाले बताउनुभयो ।
उहाँले एउटै खानेपानी आयोजनाले सबै टोल समेट्न सकिने अवस्था नरहेको र राजनीतिक नेतृत्वसँग पहुँच नभएका वस्तीका नागरिकले अझै पनि खानेपानीको सुविधाबाट वञ्चित रहेको बताउनुभयो । ‘हामी सौर्य उर्जाको माध्यमबाट लिफ्टिङ गरेर खानेपानी पिईरहेका छौं, घाम लागेन र मौसम धुम्मियो भने खानेपानीको हाहाकार हुन्छ । केन्द्रिय प्रसारण लाइन विस्तार गर्न सके खानेपानीको नियमित आपूर्ति हुने थियो ।’ उहाँले भन्नुभयो ।
महिला मुक्तिको बाटो, पीठो मील ढिकी जाँतोको साटो
‘खानेपानी र सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरण’ बिषयमा गरिएको छलफल अन्त्यमा सोधिएको थियो ‘अब के भईदिए हुन्थ्यो ?’
‘पहिले पानीको अत्यन्तै दुःख थियो । पानीको अभावमा महिलाहरुले धेरै दु:ख पाएका थिए’ मनसरा देवी टमटाले पानीको दुःखको दिन सम्झिदै भन्नुभयो ‘पानी आईगो, अब खानेपानीलाई बचाएर भए पनि एउटा मील भैदिए हुन्थ्यो ।’ पीठो पिध्ने काममा महिलाकै भूमिका महत्वपूर्ण हुने भएकाले महिलाले धेरै दुःख पाएको छलफलमा सहभागी अर्की महिलाले बताईन् ।
उहाँले पीठो पिध्न दिनभरिको समय लगाएर अर्को गाउँमा जानुपर्ने वा निन्द्रा माया मारेर ढिकी जाँतो गर्नुपर्ने अवस्था रहेकाले पानीबाट चल्ने पीठो मील पाए महिलाको दुःखको अन्त्य हुने बताउनुभयो ।
उहाँले यसका अलावा महिलाहरुलाई तालिमा सहभागी गराए, खानेपानीको पर्याप्त सुविधा उपलब्ध गराए महिनावारीको समयमा हुने गरेको विभेद पनि कम हुँदै जाने बताउनुभयो । ‘तालिमले महिलाको आँखा खोल्छ, महिलाले खानेपानी पाए सरसफाइ गर्न पाउँछन्, बिरामी हुँदैनन् । अनि महिनावारी नबारेका कारण बिरामी पर्यो भन्ने पनि रहँदैन’ उहाँले भन्नुभयो ।
जेएसआरको ‘लैंगिक समता र सामाजिक समावेशीकरण’को अर्को समूहले पनि खानेपानीको उपलब्धताको अवस्था, खानेपानीको योजना तर्जुमा, कार्यान्वयन र सञ्चालनमा महिला, अपाङ्गता, बृद्धबृद्धा, दलित, पछाडि पारिएको जातिको सहभागिता लगायत बिषयमा समुदाय स्तरमा छलफल गरिएको थियो ।
छलफलको अगुवाई गर्नुभएका वाटर एड नेपालकी नीति तथा पैरवी प्रमुख सीमा रजौरियाले कतिपय खानेपानी तथा सरसफाइ आयोजना महिलाहरुले मात्र सञ्चालन गरेको पाईएको बताउनुभयो । उहाँले खानेपानी तथा सरसफाइमा लैंगिक समता र सामाजिक समावेशीकरणको लागि गाउँपालिकाले विभिन्न नीतिगत व्यवस्था गरेको भए पनि त्यसको सफल कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
महिनावारी भएको बेला शौचालयमा महिलाको पहुँच नरहेको अवस्था पहिले- पहिले भएपनि अहिले त्यस्तो अवस्था नरहेको छलफलका सहभागीले बताएको तथा पैरवी प्रमुख रजौरियाले बताउनुभयो ।
जेएसआरको ‘लैंगिक समता र सामाजिक समावेशीकरण’ कार्यसमूहको अर्को टोलीले कञ्चपुरको बेलौरिया नगरपालिका स्थित श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नगरपालिका तथा समुदायमा स्तरमा पनि छलफल गरेको थियो ।
टोलीमा शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) अध्यक्ष राजेन्द्र अर्याल, वाटर एड नेपालका परामर्शदाता डा.गंगादत्त नेपाल, एन्फोकी जेसी विशेषज्ञ सिर्जना कार्की लगायतको सहभागिता थियो ।
दुवै समूहको छलफल तथा स्थलगत अध्ययनबाट प्राप्त निष्कर्षलाई शुक्रबार हुने सुदुरपश्चिम प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा’ मा प्रस्तुतीकरण गरिनेछ ।