भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गरेको छ । युएसएआईडी स्वच्छ हावा परियोजनाको सहयोगमा नगरपालिकाले वायु प्रदुषणका स्रोतहरु पहिचान गरी त्यसलाई घटाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गरी वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएको छ ।
मुख्यतया ईंटा उद्योग, प्लाइउड कारखाना, खुल्ला रुपमा फोहोर बाल्ने चलन, सवारी साधनबाट उत्सर्जन हुने धुँवा, विगत धेरै वर्षदेखि निर्माणाधीन कच्ची सडक, शहरीकरण र अव्यवस्थित निर्माणबाट हुने फाहोर, कृषि उत्सर्जन र कृषिको लागि कीटनाशक विषादीको अत्याधिक प्रयोग, वन डढेलो, गाईवस्तुको लागि खाना तयार गर्न इन्धनको रूपमा काठको प्रयोग, अव्यवस्थित बंगुर र कुखुरा पालनबाट निस्कने दुर्गन्ध, ढलबाट निस्कने दुर्गन्ध लगायतलाई नगरपालिकाले वायु प्रदूषणको स्रोत मानेको छ ।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना छलफल तथा प्रमाणिकरण कार्यशाला गोष्ठीमा नगरपालिकाका प्रमुख जीवन खत्रीले बढ्दो वायु प्रदूषण र त्यसले पारेको असर न्यूनीकरणका लागि नगरपालिकाले कार्ययोजना बनाएको बताउनुभयो । उहाँले कार्ययोजनामा उल्लेख भएका योजनाहरूलाई व्यवहारमा उतार्न सके मात्र नगरपालिकालाई वायु प्रदूषणमुक्त बनाउन सकिने बताउनुभयो । ‘यसका लागि नगरपालिकाका सबै पक्षले कार्य योजना कार्यान्वयनका लागि इमान्दारीपूर्वक काम गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले ५ सदस्यीय कार्ययोजना तयारी समतिले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएको जानकारी गराउँदै चाँगुनारायण नगरपालिका वायु गुणस्तर सम्बन्धी कार्ययोजना बनाउने पहिलो नगरपालिका भएको दाबी गर्नुभयो ।
नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछानेले उक्त योजना काठमाडौं उपत्यका वायु गुणस्तर मापदण्ड २०७६ अनुसार पालिकाले निर्माण गरेको जानकारी गराउनुभयो । गोष्ठीमा FHI 360 की विजया राजवैद्यले नगरपालिकामा ४५ प्रतिशत घरधुरीहरुले फोहोर व्यवस्थापनको लागि सदस्यता लिएको र ५५ प्रतिशत घरधुरीहरुले फोहोरमैला व्यवस्थापनको सदस्यता लिन बाँकी रहेको बताउँदै अझ पनि प्रदूषणको विषयमा टोलटोलमा छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले तयार पारेको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा विद्यालय, सहकारी, संघसंस्था, कलकारखाना लगायतले गर्नुपर्ने कामहरु समेत निर्धारण गरिएको छ ।
योजनामा वायु प्रदूषणका कारण कृषि क्षेत्रमा व्यापक रुपमा रसायन, विषादीको बढ्दो प्रयोग, यातायात, फोहोरमैला, वन डढेलो तथा जथाभावी रुपमा फोहोर बाल्ने चलन आदि कारणले नगर क्षेत्रमा वायू प्रदुषण बढ्दै गएको जनाएको छ ।