संरक्षणलाई नीतिमै समावेश गरेपछि बढन थाले गिद्ध

  वास खबर सम्वाददाता  283 पटक हेरिएको

तुलसीपुर : कुनै समय शान्तिनगर –२ सिमसुन्दरपुरको वन क्षेत्रमा सयौँको सङ्ख्यामा देखिने गिद्ध बीचमा लोप हुने अवस्थामा पुगेको थियो । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई मानिसहरु गुलेली, ढुङ्गाले हान्ने र भ्याक्सिन लगाएका सिनो खुवाएर मार्ने गर्थे ।
तर समुदायस्तरबाट संरक्षणका लागि नीतिमै समावेश गर्न थालेपछि वनमा फेरि गिद्ध देखिन थालेका छन् । शान्तिनगर –२ विष्णुपुरा सामुदायिक वन उपभोक्ता समूहले विधानमै ९ हेक्टर क्षेत्रफल वनलाई गिद्ध संरक्षित वन बनाएको छ । साुमदायिक वनका अध्यक्ष लक्ष्मण खत्रीेले संरक्षित क्षेत्रको वनमा गिद्धका गुँड बढ्दै गएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको झुल्के सामुदायिक वनमा १७ हेक्टर क्षेत्रफलमा गिद्ध संरक्षित वन छ । सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले त्यस वनबाट भएको आम्दानी सबै गिद्ध संरक्षणमा लगाइने गरेको बताउनुभयो । सोही क्षेत्रमा जटायु रेष्टुरेन्ट समेत रहेको छ । जहाँ मरेका गाईवस्तु गिद्धलाई खुवाउने गरिन्छ ।

सरकारले सन् २०२३ देखि २०२७ सम्म गिद्ध संरक्षण गर्नका लागि पञ्चवर्षीय योजना बनाएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । नेपालमा रैथाने प्रजातिका डङ्गर, सानो खैरो, सेतो, हिमाली, सुन र हाडफोर गिद्धसहित लामो ठुडे, खैरो र राज गिद्ध पाइन्छन् ।

दाङमा तुलसीपुर उपमहानगरपालिका –३ को सम्झना सामुदायिक वन, वडा नम्बर १९ को कालिका र भुल्के सामुदायिक वन, घोराही उपमहानगरपालिका –१ को चरिङ्गे साुमदायिक वन, शान्तिनगर वडा –३ मा रहेको विष्णुपुरा सामुदायिक वन, लमहीको कप्तानगञ्ज, राजपुर र राप्ती गाउँपालिकामा समेत गिद्धको गुँड रहेका छन् ।

गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले नेपालमा सबैभन्दा बढी गिद्ध रहेको लुम्बिनी प्रदेशमा रहेको बताउनुभयो । उहाँले गिद्ध संरक्षणका लागि तीन करोड २८ लाख बजेट आए पनि सोही शीर्षकमा बजेट विनियोजन नभएको बताउनुभयो । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी गिद्ध दाङ जिल्लामा  छन् ।

नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत दिलीपचन्द ठकुरीका अनुसार नेपालमा  ७६ जिल्ला डाइक्लोफेनाक मुक्त, समुदायस्तरबाट ७ ठाउँमा जटायु रेष्टुरेन्ट र एक ठाउँमा गिद्ध प्रजनन केन्द्र स्थापना भएसँगै सन् २००२ कै अवस्थामा गिद्ध सङ्ख्या पुग्न थालेको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

सन् २००६ मा नेपालमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधि  बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । जुन औषधि प्रयोग गरेको मरेको पशुको आहारा खाँदा गिद्धको मिर्गौलामा असर परेर मर्ने गर्छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार