थला परिसकेका ४ वटा खानेपानी आयोजनाहरु यसरी ल्याईयो सञ्चालनमा

  वास खबर सम्वाददाता  650 पटक हेरिएको

बाँके : बाँकेको कोहलपुर नगरपालिकामा केही समय अघिसम्म कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना बाहेक अन्य कुनै पनि खानेपानी आयोजनाहरू सञ्चालनमा थिएनन् । कुनै कुनै आयोजना निर्माण सुरु भएको १५ वर्ष भन्दा बढी अवधि भएपनि ती सञ्चालनमा आउन सकेका थिएनन् ।

तर कोहलपुर नगरपालिकामा अहिले कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सँगै शमशेरगञ्ज खानेपानी तथा सरसफाइ आयोजना, विराट खानेपानी तथा सरसफाइ आयोजना, रझेना खानेपानी तथा सरसफाइ आयोजना र सिमरी खानेपानी आयोजना पनि सञ्चालन भएका छन् । यसबाट करिब ६ हजार भन्दा बढी घरपरिवारले नियमित रूपमा पाइप प्रणालीबाट खानेपानी उपभोग गरिरहेका छन् ।

खानेपानी आयोजना सञ्चालन हुन नसक्नुका कारण र समाधानको विषयमा विभिन्न साझेदार संस्थाहरू जस्तै स्थानीय तहका प्रतिनिधीहरू, संघीय खानेपानी वितरण तथा ढल व्यवस्थापन आयोजना, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघसँग अन्तरक्रिया गरिएको थियो । यसबाट निम्न चुनौतीहरूको पहिचान गरिएको थियो ।

पहिचान भएका चुनौतीहरु

श्रमदान गर्न नचाहने

पहिलो चुनौती नै श्रमदानबाट आवश्यक पर्ने २० प्रतिशत लगानी जुटाउन नसक्नु रहेको थियो। समन्वयको कमी, लगानी गर्न उदासीन उपभोक्त्ता र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी नहुँदा ती आयोजनाहरू निर्माण सम्पन्न हुन सकेका थिएनन् ।

पाइप प्रणालीमा जान हिच्किचाउने

दोस्रो मुख्य चुनौती भनेको उपभोक्त्ताहरूमा पाइप प्रणालीमा जान सँधै हिच्किचाहट थियो । पाइप प्रणालीमा जान सुरुवातमा लाग्ने खर्च र मासिक शुल्क पनि तिर्नुपर्ने हुँदा उपभोक्त्ताहरूलाई घर आँगनमा सहजरूपमा हुने ट्युबवेल वा कलको पानी प्रयोग गर्न नै बढी सहज लाग्दथ्यो ।

यसका साथै परापूर्व कालदेखि प्रयोगमा रहेको कलको पानी पाइपबाट वितरित पानी भन्दा बढि सुरक्षित छ भन्ने मान्यता व्याप्त थियो । जसले गर्दा पाइप प्रणाली धेरैको प्राथमिकतामा परेको थिएन । त्यसैले निर्माणकर्तालाई निर्माण सम्पन्न गर्न कुनै किसिमको पनि दवाब रहेन ।

समन्वय अभाव

खानेपानी उपभोक्त्ता समिति संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र स्थानीय तह बीच समन्वयको अभाव थियो । उपभोक्त्ता समितिहरूमा प्रशासनिक विवरणहरूको बारे ज्ञानको कमी र सकृय उपस्थितीको कमी थियो । जसले गर्दा ती आयोजनाहरू नियमित रूपमा सञ्चालनमा ल्याउन के गर्नुपर्छ र कसलाई भन्नुपर्छ भन्नेमा नै उनीहरूमा दुविधा देखिन्थ्यो ।

संघिय खानेपानी वितरण तथा ढल व्यवस्थापन आयोजनाले आधिकारिक रूपमा आयोजना हस्तान्तरण नगरेकोले स्थानीय तहले यी आयोजनाहरूमा बजेट विनियोजन गर्न प्राविधिक कठिनाइ थियो ।

समाधानका लागि गरेका कार्यहरु 

खानेपानी सञ्चालन हुन नसक्नुका चुनौतीहरु पहिचान गरेपछि खानेपानी आपूर्ति प्रणालीको सफल सञ्चालनका लागि समाधानहरू प्रस्ताव गर्न उपभोक्त्ता समिति, स्थानीय तह र संघीय खानेपानी वितरण तथा ढल व्यवस्थापन आयोजना लगायत सरोकारवालाहरूसँग धेरै बैठकहरू गरिएको थियो ।

लुमन्ती आवासका लागि सहयोग समूहका प्रोग्राम म्यानेजर उद्धव भट्टराई भन्नुहुन्छ ‘यसबाहेक यो समस्याको समाधान गर्न सबै सरोकारवालाहरूसँग संयुक्त बैठक बसी सबै पक्षहरूको हस्ताक्षर सहित लिखित रूपमा दस्तावेजीकरण गरियो । यी प्रयासहरूको बावजुद, अझै पनि यी आयोजना सञ्चालनको प्रगतिमा केही अवरोधहरु आईरहेकै थिए। त्यसपछि लुमन्तीले मार्च २०२२ मा सार्वजनिक सुनुवाइको आयोजना गर्‍यो ।’

उक्त कार्यक्रमा सरोकारवालाहरूले प्रणालीहरूको सफल सञ्चालन सुनिश्चित गर्न र त्यसको लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे र अन्त्यमा यी प्रणालीहरूको सञ्चालनमा रहेका वाधा तथा कानुनी अड्चनहरूलाई पार गर्दै विभिन्न चरणमा सबै आयोजनाहरू सञ्चालनमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

त्यसका लागि नेदरल्याण्ड सरकारको सहयोगमा सञ्चालित वास दिगो विकास लक्ष्य परियोजना मार्फत लुमन्तीले कोहलपुर नगरपालिकामा भएका सम्पूर्ण खानेपानी तथा सरसफाइ उपभोक्त्ता समितिहरूलाई खानेपानी आयोजना सफल रूपमा सञ्चालन गर्न आवश्यक क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको प्रोग्राम म्यानेजर भट्टराईले बताउनुभयो ।

‘उपभोक्त्ता समितिहरूलाई महशुल निर्धारण, व्यवसयिक योजना निर्माण, लेखा व्यवस्थापन र मर्मत सम्भार कार्यकर्ताहरूको लागि प्रशिक्षण जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरियो’ उहाँले भन्नुभयो ‘समुदायमा पाइप प्रणालीको माग सिर्जना गर्दै उपभोक्त्ता समितिहरूबाट जडान शुल्कमा सहुलियत दिलाउन र पाइप प्रणालीमा जान लगानी गर्न नसक्ने घरधुरीहरूलाई सहकारी मार्फत ऋण उपलब्ध गराउन सहजिकरण गरियो ।’

उहाँका अनुसार कोहलपुरमा मात्र ४ सय ७५ घरधुरीले सहकारी मार्फत १२ हजार रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म ऋण लिई पाइपप्रणालीको पानी उपभोग गरिरहेका छन् । यस वाहेक परियोजनाले खानेपानी तथा सरसफाइ उपभोक्त्ता समितिहरूसँग विभिन्न कार्यहरूमा सहकार्य गरेको उहाँले बताउनुभयो ।

यसरी थला परिसकेको शमशेरगञ्ज खानेपानी तथा सरसफाइ आयोजना, विराट खानेपानी तथा सरसफाइ आयोजना, रझेना खानेपानी तथा सरसफाइ आयोजना र सिमरी खानेपानी आयोजना सञ्चालन गर्न सफल भै हाल यी खानेपानी आयोजनाहरुबाट स्वच्छ पानी वितरण भैरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार