गाडीमा बोकेर खानुपर्ने पानी घरकै धारामा

  वास खबर सम्वाददाता  413 पटक हेरिएको

गुल्मी : खानेपानी शुद्ध, स्वच्छ, सफा र गुणस्तरीय त परको कुरा, साँझबिहान छाक टार्न पनि पानी गाडीमै बोक्नुपर्ने समस्या थियो । गाडीले ल्याएमा मात्र पानीको जोहो हुने समस्याबाट पीडित गाउँ हो, गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्ग गाउँ । तर, यस गाउँमा अहिले घरघरमा खानेपानीका धारा छन् । धारामा चाहेको बेला पानीको कुनै समस्या हुँदैन ।

गाउँगाउँमा सिंहदरबार आए भनिए पनि स्थानीय सरकारको वास्तविक महशुस यो गाउँले गरेको छ । जुभुङ्गमा सूर्योदय खानेपानी तथा सरसफाइ योजना र ठूलाखोला काब्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना गरी दुई योजनाबाट दुई विद्यालयसहित ४१ घरमा खानेपानीको धारा पुगेका छन् ।

गुल्मीदरबार गाउँपालिकाको ६४ प्रतिशत आर्थिक सहयोगसहित, ट्रिट्स परियोजनाअन्तर्गत रिन्युएवल वल्र्ड, युनिका फान्डेसन, नवप्रभात युवा संघ र स्थानीय समुदायको संयुक्त लगानीमा खानेपानीका योजना पूरा भएका हुन् । सूर्योदय खानेपानी तथा सरसफाइ योजना कुल ८० लाख १६ हजारमा सम्पन्न भएको थियो । जसमा गाउँपालिकाको ५१ लाख १७ हजार, ट्रिट्स परियोजनाले २३ लाख ४५ हजार, समुदायको दुई लाख र जनश्रमदान तीन लाख ५३ हजार रहेको छ ।

त्यस्तै ठूलाखोला काब्रेपोखरी खानेपानी तथा सरसफाइ योजना एक करोड ५२ लाख ८० हजार रुपैयाँमा सम्पन्न भएको हो । जसमा गाउँपालिकाको ९७ लाख ८३ हजार, ट्रिट्स परियोजनाको ४४ लाख ८७ हजार, समुदायको नगद योगदान पाँच लाख नौ हजार र समुदायको श्रमदान पाँच लाख रहेको छ । गाउँभन्दा तल मुहानको पानी सोलार ऊर्जाको प्रयोगमार्फत गाउँको ट्यांकीमा खन्याई पानी वितरण सुरु गरिएको हो ।

लामो समय पानी बोक्न समय खर्चिनुपर्ने बाध्यतामा रहेका यहाँको समुदाय घरघर पानी आएपछि खुसी भएका छन् । निर्मित खानेपानी योजनाको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले उद्घाटन गरेका छन् । खानेपानी आयोजना निर्माण र सञ्चालनमा सामाजिक परिचालनको काम नवप्रभात युवा संघ गुल्मीले गरेको हो ।

नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले थुप्रै चुनौतीका बीच स्थानीय सरकार र दातृ निकायको सहयोगले यो परियोजना सफल भएको बताए । उनले पानीलाई अब आम्दानीसँग जोड्नुपर्ने बताउँदै स्थानीय सरकारले यो आयोजनाको अभिभाकत्वलाई निरन्तरता दिंँदै स्थानीयका आवश्यकता अनुसार आम्दानीका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

रिन्युएवल वल्र्डका राष्ट्रिय निर्देशक ठाकुर थापाले परियोजना सम्पन्न गराउन खट्ने सबैलाई धन्यवाद दिँंदै स्थानीयलाई बधाई व्यक्त गरे । थापाले आफूहरूले काम गरेका सबै जिल्ला र पालिकामध्ये पालिकाले गरेको आर्थिक योगदानमा गुल्मीदरबार गाउँपालिका पहिलो भएको बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कुल लागतको ६४ प्रतिशत बढी लगानी गाउँपालिकाले गरेको भन्दै पालिकाको कामको प्रशंसा गरे । निर्देशक ढकालले आयोजनाको दिगोपना, थप ऊर्जामार्फत आयआर्जनका माध्यमसंँग जोड्न स्थानीयले गरेको आग्रहलाई आफुले सकारात्मक रूपमा लिएको बताए । उनले आयोजना निरन्तरताका लागि यसका शौर्य पाता हरदम सफा र सबै संरचना सुरक्षित राख्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले यो वर्षभित्र र सिंगो पालिकाभित्र यो वर्ष ८० प्रतिशतमा र आगामी वर्ष शतप्रतिशत खानेपानी समस्या समाधान गर्दै एक घर एक धारा पुर्‍याउने बताए । उनले काम सम्पन्न सहयोग गर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, रिन्युएवल वल्र्ड, युनिका फाउन्डेसन, ट्रिट्स परियोजनालाई धन्यवाद दिए । उनले लागत साझेदारीमा काम गर्न गाउँपालिका तयार रहेको भन्दै अन्य कार्यक्रमसमेत आफ्नो पालिकामा ल्याउन सबैमा आग्रह गरे । कारोबार दैनिकबाट साभार गरिएको।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार