काठमाडौं, दिक्पाल गिरी : सरकारले काठमाडौ उपत्यकाबाट २० बर्षे पुराना गाडी विस्थापन गर्दा अति धेरै खुसी भएका व्यक्ति थिए भने ती भारतीय नागरिक धनञ्जय कुमार शाह नै हुनुहुन्थ्यो । किनकि उहाँलाई जत्ति धेरै गाडी काम नलाग्ने बन्छ, त्यत्ति नै धेरै फाइदा हुन्छ । थोत्रा गाडी खोज्ने, किन्ने र काटकुट पारेर विक्री गर्ने उहाँको काम हो ।
यस्ता थोत्रा गाडी खोजेर पत्ता लगाउन, कवाडखानासम्म ल्याउन र काटकुट पारेर निर्यात योग्य बनाउनका लागि उहाँले एउटा टोली नै परिचालन गर्नुभएको छ । जो कहिले भक्तपुरको गल्ली गल्ली चाहर्दै हिडेका हुन्छन्, कोही मन्त्रालयका अधिकारीसम्म पुग्छन् र कोही गाडी दुर्घटना भएपछि काम नलाग्ने भएका गाडी खोज्दै हिडेका हुन्छन् ।
धनञ्जय कुमार शाहले यो व्यवसाय गर्न थालेको ११ बर्ष भन्दा बढी भईसकेको छ । भर्खरै पहाडी जिल्लामा सडकको रुपरेखा कोरिदै गर्दा नेपाल छिरेका शाहले गाडी एक दिन पुरानो हुने र पुरानो गाडीलाई मानिसले कवाडीमा विक्री गर्ने भएकाले राम्रो सम्भावना भएको क्षेत्रका रुपमा पहिचान गर्नुभएको थियो ।
त्यसपछि उहाँले ललितपुरको धोबीघाटमा कवाडखाना खोल्नुभयो । अहिले त्यहाँ साना मोटरसाइकलदेखि लिएर पेट्रोल तथा डिजेल ओसार्ने ट्याङकर समेत छन् । त्यसलाई टुक्राटाक्री बनाएर भैरहवा, बुटवल, बीरगञ्ज लगायत ठाउँमा पठाइरहेको उहाँले बताउनुभयो । ‘हामी किलोको २० रुपैयाँमा किन्छौं, २१/२२ रुपैयाँमा विक्री गर्छौं’ शाहले भन्नुभयो ।
मोटरसाइकल २ हजार र ट्याक्सी ८ हजार रुपैयाँमा खरिद विक्री
धनञ्जय कुमार शाह, कवाडीका वस्तुहरु प्रायः जोखेरै लिने गर्नुहुन्छ । तर कोही सिङ्गै मोटरसाइकल, ट्याक्सी वा गाडी विक्री गर्ने सवारी धनी भेटिएमा मोटरसाइकल २ हजार र ट्याक्सी ८ हजार रुपैयाँ सम्ममा किन्ने गरेको शाहले बताउनुभयो ।
कुनै कुनै सवारी साधनको नड र टायरहरु पुनः प्रयोग गर्न सकिने भएपनि अधिकांश गाडी तथा मोटरसाइकलका पार्टस्हरु काम नलाग्ने अवस्थाको हुने गरेको उहाँको अनुभव छ ।
‘सिङ्गै विक्री गरेपनि हामीले यहाँ ल्याएर ट्क्राउनै पर्छ, त्यसको च्यासिस, इन्जिन तथा अरु सामान सबै कवाडीमै जान्छ र त्यसपछि पुनः प्रशोधन भई नयाँ सामान भएर आउँछ’ शाहले भन्नुभयो ।
बाइक र गाडीको सामानबाट घर बनाउने डण्डी
थोत्रा गाडी तथा मोटरसाइकलबाट के बनाइन्छ त ? उहाँको उत्तर सहज थियो । यसबाटै बन्ने हो, घर बनाउने डण्डी ।
हामीले यहाँबाट भैरहवा, बुटवल र बीरगञ्ज पठाउँछौं, त्यहाँ अशोक स्टील तथा हुलासले फलामे डण्डी बनाएर पठाइन्छ । अल्मुनियमबाट चाहिं भाँडाकुँडा, पे्रसर कुकर जस्ता सामान बनाउने गरेको उहाँले बताउनुभयो ।
यातायातजन्य फोहोरबाट करोडौं रुपैयाँ बाहिरिदै
नियमले विस्थापित नै गर्नुपर्ने र पार्टपूर्जा विग्रेर काम नलाग्ने गाडी कवाडीमा परिणत हुन्छन् । कवाडी सामानलाई प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने बनाउने काममा नेपाली भन्दा भारतीय नागरिक बढी संलग्न छन् ।
यस्ता कवाडीखाना कतिपय दर्ता भई सञ्चालनमा रहेपनि अधिकांश दर्ता नगरी सञ्चालन भईरहेका छन् । दर्ता नगरी सञ्चालन भएका कवाडीखानाले सरकारलाई एक रुपैयाँ पनि कर नबुझाई बार्षिक करोडौं रुपैयाँ आफ्नो देश लैजान्छन् ।