फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका

  वास खबर सम्वाददाता  496 पटक हेरिएको

गण्डकी : ठोस फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि बागलुङ र कुश्मा नगरपालिकाले फोहोर जलाउने मेसिन खरिद गर्ने भएको छ। खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो । कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग नकुहिने फोहोर जलाउने मेसिन किन्नका लागि सम्झौता भएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार ६० लाख पर्ने मेसिन ल्याउने सम्झौता भएको छ।

कम्पनीका प्रमुख ‘खो यु सेप’ र सीईओ ‘जङ डेटोङ’ तथा बागलुङका नगर प्रमुख श्रेष्ठ र कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले संयुक्त बैठकबाट मेसिन ल्याउने तयारी गरेको बताउनुभयो । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले ३ वर्ष निस्शुल्क सर्भिस दिने भएकोले प्लास्टिक र नकुहिने फोहोरको व्यवस्थापन गर्न सकेमा कुहिने फोहोरको कम्पोष्ट मल बनाउन सकिने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले  श्रेष्ठले बताउनुभयो । ‘कुहिने फोहोर व्यवस्थापन गर्न सहज छ, नकुहिने मिसिएकोले सास्ती भएको हो,’ श्रेष्ठले भन्नुभयो, ‘घर घरबाटै छुट्ट्याएर उठाउन सकियो भने कोरियाको प्रविधिले फोहोर व्यवस्थापन सहज हुनेछ ।’

बागलुङ नगरपालिकाले चालु वर्ष फोहोर व्यवस्थापनका लागि विनियोजन गरेको १ करोड २० लाख रुपैयाँ मेसिन खरिदमा खर्च गर्ने तयारी गरेको  उहाँले जानकारी दिनुभयो । दैनिक १ टन प्लास्टिकजन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टनसम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँसम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् ।

बागलुङ नगरपालिकाले दैनिक ६ टनसम्म फोहोर निस्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु झण्डै २ टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने तयारी गरेको हो । उक्त विधि भएमा बर्षेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने डेढ करोड बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इन्जिनियर दिपेन्द्र भण्डारीले बताउनुभयो।

बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा दस वर्ष अघिदेखि फोहोर फाल्दै आएको छ । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । ०७० देखि स्थान फेरेर बानपा १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको छ ।

फोहोरको डंगुरले कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा दुर्गन्ध फैलिएको छ । दस वर्षदेखि फालिएको डंगुर गन्हाउने मात्र नभई भरिएर सडकमै फोहोर खस्न थालेको छ । ्

पर्वतको कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको माझमेलामा फाल्दा दुर्गन्ध फैलिएको छ । बागलुङ नगरले दैनिक ६ टन र कुश्माबाट दैनिक २ टन फोहोर निकालिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार