पानी सुरक्षा योजना निर्माण, १८६ घरलाई फिल्टर र डस्टबिन वितरण

  वास खबर सम्बादाता  467 पटक हेरिएको

धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका स्थित वडा नं. ७ को सुन्दरीमाइ टोल, भुमेस्थान टोल र माथिल्लो रामपुर टोलका गरी १ सय ८६ घर परिवारलाई फिल्टर र डस्टबिन वितरण गरिएको छ । सुरक्षित खानेपानीका लागि फिल्टर तथा वातावरण स्वच्छ राख्नका लागि डस्टबिन वितरण गरिएको ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मीले जानकारी दिनुभयो।

ज्वालामूखी गाउँपालिका, ७ नं. वडा कार्यालय, ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड, टोल विकास संस्था र समुदायको समेत सहलगानीमा फिल्टर तथा डस्टबिन वितरण गरिएको उहाँले जानकारी गराउनुभयो।

फिल्टर वितरण कार्यक्रममा ७ नं. वडाका अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालले आर्थिक बर्ष ०८१/०८२ मा पुरै वडावासीमाझ समान रुपमा सुरक्षित खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडामा रहेका खानेपानीका मुहान संरक्षणका लागि आकाशेपानी संकलन तथा पुनर्भरणका लागि बनाइएको योजना कार्यान्वयन गर्ने बताउनुभयो।

सोही अवसरमा फोकस नेपाल, अक्सफाम र ज्वालामूखी गाउँपालिकाको सहयोग र खानेपानी बोर्डको आयोजनामा वृहत छलफल गरि पानी सुरक्षा योजना बनाईएको छ। पानी सुरक्षाको लागि मुहान देखि मुख सम्म पानी सुरक्षित राख्न अपनाइने व्यवहारहरुको क्रमबद्ध छलफल तथा योजना निर्माण गरिएको प्रबन्धक रेग्मीले जानकारी दिनुभयो।

‘ज्वालामूखी गाउँपालिकाको वडा नं ७ मा दुई बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी सचेतनामूलक कार्यक्रम ‘पानी सुरक्षा योजना’ निर्माण एवं सरसफाइ तथा स्वच्छता सामग्री सहयोग गरिएको हो’ उहाँले भन्नुभयो। विश्व पानी दिवसको अवसर पारी पानी र जीवन बीचको अन्तर सम्वन्धलाइ तुलना गर्दै पानी भए मात्र जीव र जीवन रहने कुरा दर्शाउदै पानी सुरक्षाको लागि योजना वनाइएको हो।

पानी सुरक्षा योजनामा मुख्य गरी खानेपानीको मुहान संरक्षणको लागि घेरावार गर्ने, वर्षायाममा वृहतरुपमा मुहान वरपर वृक्षारोपण गर्ने, भल कटानी गर्ने र मुहान तथा पानी संरचनाहरु नियमित सरसफाइ तथा मर्मत संभारको व्ययवस्थापन सहित खानेपानी बोर्ड मार्फत योजनाहरु सञ्चालनमा सहजीकरण गरिने योजना निर्माण गरिएको छ । यस योजनालाइ मुख्य प्राथमिकताको साथ कार्यान्वयन गरिने सहभागीहरु र सरोकारवालाहरुले वताएका छन् ।

प्रतिकुल वातावरणका कारण पानीको स्रोत देखि नै वहाव कम हुँदै जानु, साना मुहानहरु सुक्दै जानुले निकट भविश्यमा पानीको ठूलो समस्या पर्ने विज्ञले औल्याएका छन् ।
हालको परिवेशमा पानी नभएर भन्दा पनि दुषित पानीको प्रयोगको कारण पानीजन्य रोगको शिकार वन्नु परेकाले आम नागरिकलाइ सुरक्षित खानेपानी उपलव्ध गराउनु सरकारको प्रमुख दायित्व रहेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार