पोखरा : फोहोरमैला व्यवस्थापनका लागि विभिन्न भूमिकामा खटिदै आएका सरसफाइकर्मीहरुका लागि हात खुट्टा धुने पानीको प्रबन्ध समेत नभएको पाईएको छ । दिनभरि फोहोरमैला व्यवस्थापनको काममा खटिएर घर फर्किने बेला हात खुट्टा धुने पानीको समेत व्यवस्था नहुँदा विभिन्न रोगको संक्रमणको जोखिम रहेको सरसफाइकर्मीहरु बताउँछन् ।
दिगो विकास लक्ष्य ६ हासिल गर्न दक्षिण एसियामा नागरिक सञ्जाललाई सवलीकरण गर्दै अधिकारका लागि अघि बढौं परियोजना अन्तर्गत आवासका लागि सहयोग समूह लुमन्तीले पोखरामा आयोजना गरेको ‘पेशागत अधिकार, स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा सरसफाइकर्मीहरुले आफूहरुले भोगिरहेको समस्या र समाधानका उपायबारे खुलेर बताएका हुन् ।
ल्याण्डफिल साईटमा काम सकेर फर्किने बेला पानीको समस्या हुनु, ल्याण्डफिल साईटमा शौचालयको समेत प्रबन्ध नहुनु, फिल्डमा काम गर्दा पब्लिकले अनादार व्यवहार गर्नु, फोहोर उठाउने क्रममा फुटेको सीसी लुकाएर फाल्दा हात काट्ने समस्या हुनु जस्ता थुप्रै समस्यासँग जुधिरहेको सरसफाइकर्मीले बताए । छलफलका क्रममा आफूहरु सामाजिक समस्या र कार्यालय भित्रका आन्तरिक समस्याहरु सँग पनि जुधिरहेका बताएका थिए ।
पेशागत अधिकार स्वास्थ्य र सुरक्षामा ज्ञान अभिवृद्धि गर्ने, सेवा प्रवाह गर्दा व्यक्तिगत सुरक्षा सामग्री सहितको प्रयोग गरी स्वच्छ व्यवहारहरु अभ्यास गर्न संवेदनशील बनाउने र हालको पेशालाई समिक्षा गर्न सहयोग पुर्याउने तथा पेशागत अधिकार स्वास्थ्य र सुरक्षाको लागि संस्थागत विकासको लागि सहयोग पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको लुमन्तीका प्रोग्राम म्यानेजर उद्धव भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा सरसफाइकर्मी सम्बन्धी आधारभूत कुराहरु, फोहर र स्वच्छता, पेशाागत स्वास्थ्य र रोग सर्ने माध्यम, व्यक्तिगत सुरक्षा सामाग्रीहरु र त्यसको प्रयोगका बिषयमा छलफल गरिएको थियो ।
यस्तै श्रमिक अधिकार र नगरपालिकाको प्रावधान, सरसफाइकर्मीहरुको अवस्था विश्लेषण, सरसफाइकर्मीहरु वीचको एकता र संस्थागत विकास जस्ता बिषयवस्तु अभिमुखीकरण कार्यक्रममा समेटिएको थियो।
यी हुन् सरसफाइकर्मीले भोग्दै आएका समस्या
सरसफाइकर्मीले भोग्दै आएका समस्याहरु पहिचान गर्न विभिन्न समूहमा विभाजन गरी छलफल गर्न लगाईएको थियो । फोहोरमैला व्यवस्थापनको काममा विभिन्न भूमिकामा रहेर काम गर्दै आएका उनीहरुलाई समूह समूहमा विभाजन गरी पेशागत, स्वास्थ्य र सुरक्षामा आईपरेका समस्या र समाधानका उपायका बिषयमा समूहगत छलफल गर्न लगाईएको प्रोग्राम म्यानेजर भट्टराईले बताउनुभयो । त्यसपछि उनीहरुले पालैपालो प्रस्तुतीकरण गरेका थिए । सरसफाइकर्मीले भोग्दै आएका साझा समस्या निम्न छन् :
√ ल्याण्डफिल साईटमा काम सकेर फर्किने क्रममा पानीको समस्या, हात खुट्टा धुने पानी नै नहुने
√ फिल्डमा काम गर्दा पब्लिकले गर्ने व्यवहार अमर्यादित रहेको
√ फोहोर उठाउने क्रममा फुटेको सीसी लुकाएर फाल्ने गरिएको
√ पब्लिकले कर तिर्न बाँकी हुँदा फोहोर उठाउनलाई समस्या
√ फिल्डमा काम गर्ने कर्मचारीलाई ड्रेस नभएको
√ जथाभावी फोहोर फालिदिने गरेको
√ कुहिने र नकुहिने फोहोर नछुट्याउने
√ फुटेका सीसाहरु व्यवस्थापन नगरिकन ल्याउने
√ काम अनुसारको तलब नहुने
√ समयमा तलब नपाउने
√ ज्यालादर कम
√ स्वास्थ्य सुरक्षामा कमी
√ अत्यधिक काम गराउने
√ जनचेतनामूलक कार्यक्रम नहुने
√ काम गरे बापतको प्रतिफल नपाउने
√ नागरिकको हेपाई सहनुपरेको
√ पोशाक र सुरक्षात्मक सामग्रीको अभाव
√ तलब समयमा नपाउने
√ स्वास्थ्य परिक्षणको व्यवस्थापन नभएको ।
√ सिसाहरुको व्यवस्थापन नगरी अरु फोहोरसँगै राख्दा हात खुट्टा काट्ने
√ मानिसहरुले अपशब्दले गाली गर्ने
√ ढुङ्गा माटो, अन्य चीजहरु पनि फोहोरकै गाडीमा हाल्ने
√ हस्पिटलजन्य फोहोर तथा सुँईहरु पनि फोहोरमैलामै फाल्ने गरेको
√ फिल्डमा समयमा नपुग्दा गाडी फिर्ता आउनुपर्ने ।
√ धेरै बर्ष काम गर्दा पनि एउटै तलबमान
√ चालकहरुलाई ट्राफिकबाट हैरानी
√ सम्बन्धित घरधनी नभेटिने, ढोका नखोल्ने, अमर्यादित व्यवहार गर्ने, समयमा शुल्क बुझाउन नचाहने, शुल्क तिर्नु परेमा सेवा चाहिदैन भन्ने ।
सरसफाइकर्मीका मागहरु :
उल्लेखित समस्याहरु समाधान गर्न सम्बन्धित कम्पनी तथा महानगरपालिकाले पनि ध्यान दिनुपर्ने सफाइकर्मीहरु बताउँछन् । उनीहरुले आफूहरुको समस्या समाधान गर्नुपर्ने बिषय पनि प्रस्तुतीकरण गरेका थिए ।
√ नियमित रुपमा मास्क पञ्जा, बुटको प्रबन्ध हुनुपर्ने
√ स्वास्थ्य बीमा हुनुपर्ने
√ परिचय पत्रको व्यवस्था हुनुपर्ने
√ एक बर्ष अवधि पूरा भएकाहरुका लागि दशैं भत्ताको व्यवस्था हुनुपर्ने
√ सञ्चय कोषको व्यवस्था हुनुपर्ने
√ हप्तामा एक दिन विदाको व्यवस्था हुनुपर्ने
√ काममा खटिएको समयमा चोटपटक लागेमा कम्पनी आफैले उपचारको व्यवस्था गर्नुपर्ने ।
√ सार्वजनिक विदाको दिन काम गरे बापत अतिरिक्त पारिश्रमिकको व्यवस्था हुनुपर्ने ।
√ कम्पनीबाट तीन तीन महिनाको अन्तरालमा स्वास्थ्य परिक्षणको व्यवस्था हुनुपर्ने
√ बर्षायाममा रेनकोटको व्यवस्था हुनुपर्ने
√ काम गर्दा लगाउने छुट्टै पोशाक हुनुपर्ने
√ गाडीको कन्डिसन राम्रो बनाईदिनुपर्ने ।
√ काम सकाएर घर फर्किदा ढिलो भएमा यातायातको व्यवस्था मिलाउनुपर्ने
√ ठूला कर्मचारीबाट सानो कर्मचारी हेपिनु नहुने
√ कहिलेकाहीं लामो समयसम्म विरामी परेर घरमै बस्नुपर्ने अति आवश्यक कुराहरुको परिपूर्ति गराईदिनुपर्ने ।
√ ल्याण्डफिल साईटमा शौचालय व्यवस्था हुनुपर्ने
√ हरेक २ महिनामा तालिमको व्यवस्था हुनुपर्ने
सरसफाइकर्मी सञ्जाल गठन
आफूहरुको माग व्यवस्थापन समक्ष प्रस्तुत गर्न पोखरा स्तरीय सरसफाइकर्मी सञ्जाल गठन गरिएको छ । ९ सदस्यीय सञ्जालको मूल संयोजक शोभा परियार, सहसंयोजक तुलबहादुर गुरुङ र सचिव टोप माया थापा हुनुहुन्छ ।
अभिमुखीकरण कार्यक्रममा बैठक बस्ने, बैठकको प्रस्ताव तथा निर्णय लेख्ने तरिकाका बारेमा समेत सहजीकरण गरिएको थियो।
पोखरामा वातावरणीय सुन्दर नेपाल प्रालि., पोखरा फोहोरमैला व्यवस्थापन प्रालि, नेपाली पब्लिक हेल्थ इन्भारोमेन्ट प्रा.लि, प्रगति संसार नेपाल प्रा.लि, वेष्ट म्यानेज्मेन्ट रिसर्च प्रा.लि र भद्रकाली वेष्ट प्रा.लि गरी ६ वटा कम्पनीका १७४ जना सरसफाइकर्मी कार्यरत छन्।