जैविक फोहोरबाट नवलपरासीमा खाना पकाउने ग्यास उत्पादन सुरु

 754 पटक हेरिएको

नवलपरासी : नवलपरासीमा जैविक फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु गरिएको छ । नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रा.लि. ले खाना पकाउने ग्यास उत्पादन गर्न थालेको हो ।

स्थानीय स्तरमै पाईने गाईभैंसीको गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने जैविक फोहोरबाट ग्यास उत्पादन गरिएको उद्योग संञ्चालक सन्दीपकुमार अग्रवालले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको छ।

फोहोरबाट प्रदुषित हुने अवस्थाको अन्त्य गरी एलपी ग्यासको निर्भरता घटाउन उद्योग स्थापना गरिएको संचालक अग्रवालले बताउनुभयो ।

 

जर्मन प्रविधिबाट २२ करोड लगानीमा निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यास उत्पादन हुने उद्योगका अर्का संचालक डा।अभिनव अग्रवालले बताउनुभयो ।

उनका अनुसार अहिले व्यवसायिक क्षेत्रलार्इ मात्रै ग्यास बिक्री भइरहेको छ।उद्योगले भैरहवामा रहेको वामा तन्दुरी र केपिएम चाइल्ड सेन्टरमा ग्यासको परीक्षण गरिसकेको छ। ग्यासको मूल्य प्रतिकिलो ९० रुपैयाँ राखिएको छ।

अग्रवालले पाँच महिनापछि घरायसी प्रयोजनमा ग्यास बिक्री गरिने जानकारी दिनुभयो ।

उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ । मकैलार्इ ग्यासको कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ। वार्षिक तीनदेखि चार पटक उत्पादन हुने विशेष खालको मकैको खेती गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले विभिन्न नगरपालिकासँग समेत समन्वय गरेर कुहिने फोहोर जम्मा पारेर ग्यास उत्पादन गर्ने योजना बनाएको छ।

अग्रवालले नगरपालिकालार्इ फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुने र एलपिजीको निर्भरता पनि घट्ने भएकाले नगरक्षेत्रको जैविक फोहोर आफूहरुलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

उद्योगमा चार जना इन्जिनियर र पचास जना कार्यरत छन् । दैनिक डेढ सय सिलिण्डर ग्यास उत्पादन गर्न सक्ने उद्योगको क्षमता छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार