निजी धाराले सामाजिक विवाद हट्यो, मिटर जडित धाराले समानुपातिक वितरणमा सघाउ

  वास खबर सम्वाददाता  234 पटक हेरिएको

म्याग्दी : म्याग्दीको मालिका, मंगला र धवलागिरि गाउँपालिकाका नौ सय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ। नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन्।

कुल पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ। नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुसार आयोजनाको कार्य क्षेत्रका सबै घरधुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ।

मालिका गाउँपालिका–२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका– २ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिनुभयो।

मालिकाकाका बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माविमा निर्माण भएको खानेपानी आयोजनाबाट दुई सय ३६ धारा जडान भएको छ। धवलागिरी गाउँपालिका– २ को लमसुङ र वडा ४ खाम्लामा एक सय आठ घरधुरीमा खानेपानी जडान भएको छ।

मंगला– १ खानीगाउँमा ३७, वडा २ खुम्लिया, र्‍यालेखोर, भाइवाङका सय र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताउनुभयो। नेवाले दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ रुपैयाँ र स्थानीय तहहरूले एक करोड २५ लाख ९३ हजार २३ रुपैयाँ लगानी गरेका छन्।

एक करोड ४८ लाख ६६ हजार चार सय ४० रुपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ताले २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ। हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतको साथै सहज भएको बताउनुभयो।

मिटर जडित धाराले समानुपातिक वितरणमा सघाउ पुगेको छ भने पानीको मितव्ययी प्रयोग हुन थालेको छ। निजी धाराका कारण सामाजिक विवाद अन्त्य भएको छ भने सबैले आवश्यकता अनुसार भनेकै समयमा पानी प्रयोग गर्न पाएका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार