दैलेख : दैलेख सदरमुकाम बजारको धारामा पानी नआएको २ हप्ता पुग्नै लाग्यो । धारामा खानेपानी नआए पछि दैलेखका एक युवाले छातीमा ‘खानेपानी खै प्रमुख ज्यू ?’ लेखेर प्रदर्शन गरेका छन् ।
आज दैलेख सदरमुकाममा निकालिएको रोपाई जात्रामा ती युवाले नगर प्रमुखलाई व्यङ्ग्य गर्दै खानेपानी कहिले आउँछ भनेर प्रश्न गरेका हुन् ।
पहिरोले पाइप चुँडाएपछि दैलेख बजारमा खानेपानीको हाहाकार छ। नारायण नगरपालिका–१०, ओखरबासमा गएको पहिरोले खानेपानीको पाइप चुँडाएको हो । महाबु धार्मिक मेलामा जाने यात्रुको सुविधाका लागि सडक मर्मत गर्दा ओखरबासमा लगातार पहिरो खसेका कारण जिआइ पाइप चुँडिएको हो । सहारे मुहानबाट ल्याइएको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
बजारका अधिकांशले टाढाबाट खानेपानी बोक्ने गरेका छन् । करिब २० दिन अघि नेपाली सेना, नारायण नगरपालिका खानेपानी कार्यालय लगायतको अथक प्रयासले केही समय अघि सो खानेपानी नियमित सञ्चालन गरिएको थियो । सडक मर्मत गर्दा पहिरोले खानेपानीको लाइन चुँडाइदिएको र त्यसका लागि सडक मर्मत सकिन साथ पाइपको जडान कार्य थालिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका र महाबु गाउँपालिकाको आग्रहमा सडक विभाग सुर्खेतले सदरमुकाम देखि महाबुधामसम्म सडक मर्मत गर्न थालेको थियो । करिब ४२ किलोमिटर मध्ये करिब ३० किलोमिटर दुरीमा रहेको ओखरबास पहिरोले सडक सम्पर्क र खानेपानी आपूर्तिमा अवरोध भएको जनाएको छ ।
ओखरबासको पहिरोले खानेपानी आपूर्ति रोकिएपछि १० हजारभन्दा बढी उपभोक्ता स्थानीय गाउँका मुहानमा पानी भर्न भिड लाग्ने गरेको छ । २०३२ सालमा १८ किलोमिटर दुरीको कालेखोलाको मुहानबाट सो पानी ल्याएको हो । पानी अपूरो हुँदा २०६६ सालमा ३५ किलोमिटर टाढाको सहारे मूलखोलाबाट पानी ल्याएपछि सदरमुकाममा खानेपानी पर्याप्त भएको थियो ।
तस्बिर :पत्रकार भक्त बहादुर शाही