विपदले खानेपानीमा पारेको प्रभाव कम गर्न मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नुपर्ने

  वास खबर सम्वाददाता  184 पटक हेरिएको

काठमाडौ : मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले जोड दिनुभएको छ । खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नु पर्ने उहाँको भनाइ छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना उल्लेख भए अनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउनुहुन्छ ।

‘खानेपानीका लागि अत्यावश्यक पाइप लगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचार प्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र निःसङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’

सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मत सम्भार गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ ।

खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्ने लगायत व्यवस्था गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार