एउटा मोटर बनाउन नसक्दा खानेपानीका लागि एक घण्टा पैदल

  वास खबर सम्वाददाता  146 पटक हेरिएको

सल्यान : सल्यानको कालीमाटी गाउँपालिका–१ चोत्रे स्थितलिफ्ट खानेपानी योजनाको मोटर बिग्रेपछि स्थानीय खानेपानीका लागि एक घन्टा हिँड्न बाध्य भएका छन् । योजनाको मोटर मर्मतमा कसैले ध्यान नदिएपछि खानेपानीका लागि अढाई महिना देखि एक घन्टा हिड्नु परेको हो ।

खानेपानीको चर्को समस्या भएको चोत्रेमा २०७९ मा खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानले झन्डै एक करोड लागतमा लिफ्ट योजना सम्पन्न निर्माण गरेपछि स्थानीयले घरघरमै पानीको सुविधा पाएका थिए । बिग्रेको मोटर बनाउन नसक्दा बस्तीमा खानेपानीको समस्या विगतमा जस्तै हुना थालेको हो।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर खत्रीले गत असार २८ गते धारामा पानी नआएपछि जाँच गर्दा मोटर बिग्रेको पाइएको र तत्काल सम्बन्धित निकायमा निबेदन पेश गरे पनि अहिलेसम्म मर्मत हुन नसकेको बताउनुभयो । समितिमा बजेट नभएको र गाउँलेले रकम उठाउन नमानेपछि तत्काल मर्मतमा कठिनाई भएको उहाँले बताउनुभयो । बिग्रेको मोटर मर्मतका लागि भने स्थानीय तह र सम्बन्धित कार्यालयमा माग भैरहेको उहाँको भनाई छ ।

मोटर बिग्रेपछि वडाको सिफारिस लिएर खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानमा गएर निवेदन दिए पनि केही नभएको स्थानीयको गुनासो छ । स्थानीय तहले जिल्लाले हेरेको योजना भन्दै चासो नदेखाएकाले समयमै बिग्रेको मोटर मर्मत हुन नसक्दा बस्तीबासीलाई धेरै गाह्रो भएको स्थानीय चन्द्रबहादुर ओलीले बताउनुभयो।

खानेपानी तथा उर्जा विकास कार्यालयले सम्पन्न गरेको योजना भएकाले वडाको सिफारिस सहित कार्यालयमा मोटर मर्मतको लागि माग गरिएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताउनुभयो। कार्यायलबाट मर्मतको काम हुन नसके पालिकाले मर्मत प्रक्रिया अगाडी बढाउने उहाँले बताउनुभयो ।

बर्षातले बिगारेको सडकमा गाग्रीमा पानी बोकी लामो समय उकालो ओरालो हिड्नु पर्दा स्थानीयलाई आउजाउमा कठिनाइ भएको छ । पानीकै लागि स्थानीयले विभिन्न किसिमका सास्ती भोग्नु परेको छ । मोटर बिग्रेर धारामा पानी नआउँदा बस्तीका ३२ परिवार प्रभावित भएका छन् ।

गत असार २८ गतेदेखि धारामा पानी आउन छाडेपछि आकाशे पानी संकलन गर्ने र अन्यबेला बस्तीदेखि एक घन्टा दुरीमा रहेको बैसरी मूलमा गएर पानी बोक्ने गरेको ४५ वर्षीया स्थानीय रेवती खत्रीले बताउनुभयो । खानेपानीका लागि तीन वर्षअघिकै समस्या दोहोरिएको उहाँले बताउनुभयो ।

‘घरमै धारा हुँदा कतै जान पर्दैनथ्यो । बिहानै उठेर घरको कामकाज गर्न पाइन्थ्यो । अहिले बिहानै उठेर डोकोमा गाग्री बोक्दै दुई घन्टा ओरालोरउकालो गर्नु पर्छ,’ उहाँले भन्नुभयो ‘पानी बोक्दै शरीर दुखेर थकाई लाग्छ । बिग्रेको मोटर बनाउन कसैले चासो नदिँदा बाध्य छौं ।’

धारामा पानी आउन छाडेपछि घरका सबैले पालैपालो गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता भएको स्थानीय केबली खत्रीले बताउनुभयो। विहानै पानी बोक्न जानु पर्दा घरको कामकाज मात्र नभई बालबालिकाको पठनपाठन प्रभावित भएको उहाँले बताउनुभयो। ‘आकासबाट पानी परे केही दिन राहत हुन्छ । त्यही पानी भाडामा संकलन गरेर प्रयोग गर्छौ । घाम लागे अवस्था उही हो,’ उहाँले भन्नुभयो। सरसफाईका लागि भने खोलामै झर्नु भन्दा अन्य विकल्प नरहेको उहाँले बताउनुभयो।

‘तीन वर्षअघि योजना सम्पन्न भएपछि पानी संकलन गर्न लामो समय हिड्नु पर्ने बाध्यताको अन्त्य भएको थियो । पुन उक्त समस्या बल्झिन थालेको छ,’ उहाँले भन्नुभयो। खानेपानीकै समस्याका कारण ८० घरधुरी रहेको बस्तीका विगतमा धेरैले बसाइँसराइ गरिसकेकाले आउँदा दिनमा रित्तिनबाट बचाउन उहाँले सम्बन्धित निकायमा तत्काल बिग्रेको मोटर मर्मतका लागि आग्रह गर्नुभयो।

खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठले कार्यालयले निर्माण सम्पन्न गरेको लिफ्ट खानेपानी योजना स्थानीय समितिलाई हस्तान्तरण गरिसकेकाले मर्मतको काम समितिले नै गर्नुपर्ने भएकाले कार्यालयले तत्काल सहयोग गर्न नसकेको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार