पाँच दिनमै १७ वटा खानेपानी योजनाको मर्मत सम्भार गरी खानेपानी सुचारु

  वास खबर सम्वाददाता  153 पटक हेरिएको


धादिङ : धादिङको बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले पाँच दिनकै अवधिमा बाढीले क्षतिग्रस्त १७ वटा खानेपानी योजना मर्मत सम्भार गरी खानेपानी सुचारु गराएको छ ।

यही असोज ११ र १२ गतेको भारी बर्षा, बाढी र पहिरोले बोर्ड मार्फत सञ्चालन तथा व्यवस्थापन हुँदै आएका २७ वटा खानेपानी योजनाहरु मध्ये २१ वटा खानेपानी योजनामा क्षति पुर्‍याएको थियो। ती मध्ये १७ वटा खानेपानी योजना मर्मत सम्भार गरी सञ्चालनमा ल्याईसकेको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती श्रेष्ठले जानकारी गराउनुभयो।


‘खानेपानी संरचनाको कतै इन्टेक, कतै पाइपलाइन बाढी पहिरोले बगाएको थियो, हामीले दिन रात नभनी प्राविधिकहरु खटायौं र उपभोक्तालाई खानेपानी सेवाबाट वञ्चित गराउनु हुँदैन भन्ने उद्देश्यले काम गर्‍यौं, बोर्डले मात्र सम्भव नभएको खानेपानी योजनाका लागि वाग्मती प्रदेश अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सँग सहकार्य गर्‍यौं’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो।

बाढी पहिरोबाट क्षतिग्रस्त २१ वटा खानेपानी प्रणाली मध्ये अब ४ वटा मात्र मर्मत गर्न बाँकी छ । बाँकी चार वटा खानेपानी योजनामा पनि मर्मत काम जारी रहेको र चाँडै खानेपानी सुचारु हुने उहाँले बताउनुभयो।


‘बोर्ड मातहतमा खानेपानी सञ्चालन हुँदा उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउन कत्ति उत्तरदायी हुन्छन् भन्ने प्रष्ट उदाहरण पनि हो’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘सम्भवतः ती खानेपानी योजनाहरु उपभोक्ता समितिहरुकै मातहतमा भएको भए यत्ति चाँडो सेवा सञ्चालन गर्न मुश्किल पर्थ्यो, उहाँहरुसँग त्यत्ति धेरै स्रोत साधन सम्पन्न पनि नहुने भएकाले निक्कै मुश्किल पर्थ्यो।’

बाढी पहिरोले क्षति पुर्‍याएको खानेपानी र मर्मत सम्भार भैसकेका खानेपानीको विवरण :

(नोट : पहेंलो रङले हाईलाइट गरेको जत्ति मर्मत सम्भार गर्न बाँकी)

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार