मेलम्ची : मेलम्चीको पानी आज काठमाडौंमा पथान्तरण गरिदैछ। मनसुन हटेर मौसम सफा भए सँगै मेलम्चीको सुरुङ खोल्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले समेत मनसुन बाहिरिन लागेको जानकारी गराईसकेको छ ।
मेलम्ची खानेपानी विकास समितिले यस अघि नै मौसम सफा भए लगत्तै मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउँदै आएको थियो। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आजै मेलम्चीको सुरुङ खोलिने जानकारी दिनुभयो।
मेलम्ची बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी भए पछि आजै मेलम्चीको सुरुङ खोल्न लागेको कार्यकारी निर्देशक लामिछानेले वास खबरलाई बताउनुभयो।
उहाँका अनुसार मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौ उपत्यका खानेपानी लिमिटेडले विक्री गरे वापतको मुल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउन मन्त्रालय र सरोकारवाला निकायहरु बीच पुनः छलफल गरी ३ महिनाभित्र टुङ्गग्याउने, बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका बाढी पीडितहरुलाई घर पुनःनिर्माणका लागि रु २० लाख ३ महिना भित्र उपलब्ध गराउनका लागि विशेष पहल गर्ने लगायत सहमति भएको छ ।
२०७८ असार १ गते तथा श्रावण १६ र १७ गते मेलम्बी नदीमा भएको भीषण बाढीका कारण आयोजनाको हेडवर्क्स, मुख्य प्रवेशमार्ग, पुल तथा क्याम्पहरु पुर्ण रुपमा क्षति भएको थियो । आयोजनामा प्रयोग भएका निर्माण उपकरणहरु, निर्माण सामग्री, सवारी साधनहरु बगाएको थियो भने आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी कामदारहरु समेत गरेर २४ जनाको ज्यान गएको थियो ।
मेलम्ची नदीमा आएको बाढीले स्थानीय हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेका विभिन्न सार्वजनिक संरचनाहरु, विद्युत, संचार, खानेपानी, सिंचाई, सामुदायिक भवनहरुमा क्षति भएको तथा मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाहरुको घर खेत, उद्योग समेत पूर्ण रुपमा क्षति भएकोले घरबार, जग्गा जमिन, उद्योग विहिन भएका स्थानीय बासीले सरकारबाट उचित राहतको अपेक्षा सहित स्थानीय, प्रदेश, संघीय गरी तीनै तहका सरकारसँग विभिन्न मागहरु सहितको ज्ञापनपत्र पेश गरेका थिए।