काठमाडौः आर्सेनिक कुनै नयाँ बस्तु होइन। परापूर्व कालदेखि नै विभिन्न कामको लागि प्रयोग गरिदै आएको रासायनिक तत्व नै आर्सेनिक हो। यसलाई न आँखाले देख्न सकिन्छ न त यसको कुनै रंग, स्वाद वा गन्ध नै हुन्छ। त्यसैले पानीमा आर्सेनिक मिसिएको छ भने पनि हेरेर, सुँघेर वा चाखेर थाहा पाउन सकिँदैन।
पानी, खाना वा अन्य माध्यमबाट शरीर भित्र धेरै मात्रामा आर्सेनिक प्रवेश भएमा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।
हजारौं वर्षअघि आर्सेनिक मिसिएका चट्टानहरु हिमालय तथा अन्य अग्ला भू–भागहरुबाट पानीको माध्यमद्वारा खिइदै बालुवा, गिट्टी, माटोसँग मिसिदै समथर भूभागमा जम्मा भएको भूगर्भविद्हरुको भनाइ छ। भारतको पश्चिम बंगाल, बंगलादेश, एवं नेपालको तराईका भागमा पनि यही प्रकृयाबाट आर्सेनिक बनेको बताइन्छ।
त्यस्ता भू–भागको जमिन मुनिको पानीमा विभिन्न रसायनिक प्रकृयाद्वारा आर्सेनिक मिसिन पुग्छ। त्यसकारण जमिनमुनिको पानीमा आर्सेनिक भेटिने गर्दछ।
मापदण्ड भन्दा बढी आर्सेनिक मिसिएको पानी पिएमा तत्कालै केही असर नदेखिए पनि आर्सेनिक मिसिएको पानी लगातार ८ देखि १० वर्षसम्म पिएमा आर्सेनिकोसिस भन्ने रोग लाग्न सक्छ। यो रोगको लक्षण र चिन्हहरु तीन चरणको हुन्छ।
आर्सेनिकोसिस रोगको लक्षण र चिन्हहरु
प्रथम चरण
–आर्सेनिकको असरले गर्दा छालाको रंग गाढा कालो हुँदै जान्छ।
– पछि गाढा भएको छालाको बीचमा स–साना सेता थोप्लाहरु देखिन्छ।
–हत्केला र पैतालाको छाला क्रमश खस्रो, सुख्ख तथा बाक्लो हुनुको साथै छाम्दा छालाको भित्रपट्टि गिर्खाहरु भेटिन्छन्।
दोस्रो चरण
–हत्केला र पैतालाका गिर्खाहरु बढ्दै गई बाहिरी भागमा काउलीको फूलजस्तै स्पष्ट देखिन्छ।
तेस्रो चरण
–आर्सेनिकको असर प्रायः सम्पूर्ण अंगहरुमा देखिन्छ।
–शरीरको छाला, फोक्सो, मुत्रथैली, कलेजो र मिर्गौलामा दीर्घकालीन असर देखिन्छ।
–क्यान्सर हुने कारक तत्वहरुमध्ये आर्सेनिक पनि एक हो।
–छालामा घाउ लगातार भई रहने र तेस्रो चरणमा पुगेका बिरामीहरुको उपचार गर्न गाह्रो हुनसक्छ।
आर्सेनिकबाट लाग्ने रोगहरुबाट बच्ने उपाय के छ ?
–आर्सेनिकको पहिलो चरणबाट ग्रसित बिरामीहरुले यो समस्याबाट बच्न आर्सेनिक रहित पानी पिउनु नै सबैभन्दा उत्तम उपाय हो।
–आर्सेनिक मिसावट तथा दुषित नभएका तथा हुने कम सम्भावना भएका स्रोतहरु जस्तै आकासको पानी, मुल, डिप ट्युववेलको पानी प्रयोग गर्नु उपयुक्त हुन्छ।
–यी नयाँ स्रोतहरु प्रयोग गर्दा पनि पानी उमालेर पिउँदा पानीबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ।
–स्थायी उपायको निम्ति आफ्नो गाउँ वरपरका सम्पूर्ण ट्युववेलहरुको परीक्षण गरी आर्सेनिक रहित ट्यूववेलको पानी पिउन तथा खाना पकाउन प्रयोग गर्न सकेमा आर्सेनिकबाट बच्न सकिन्छ।
–भिटामिनहरु तथा पोषणयुक्त खाना खाएमा यसका लक्षणहरु हराउँदै जान सक्छन्। तर दोस्रो वा तेस्रो चरणमा पुगेका रोगहरुलाई भने पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ।
–आर्सेनिकबाट प्रभावित व्यक्तिहरुले पोषणयुक्त खाना तथा नियमित रुपमा व्यायाम गर्ने, चुरोट, रक्सी जस्ता अम्मल पदार्थ नखाने स्वस्थ बानी अपनाउनुपर्छ।
–आफुले प्रयोग गर्ने पानीको स्रोतमा आर्सेनिकको मात्रा जाँच गर्नुपर्छ।
–आर्सेनिकोसिसको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।