काटिएका खानेपानीको लाइन बिना सर्त जोड्न मानव अधिकार सञ्जालको माग

  वास खबर सम्वाददाता  211 पटक हेरिएको

पाँचथर : फिदिम नगरपालिकाको कार्यालय सहित मेयर र उपमेयरको घरमा काटिएका धारा बिना सर्त जोड्न पाँचथर जिल्ला स्थित मानव अधिकार सञ्जाल र राजनीतिक दलहरुले खानेपानी तथा सरसफाइ उपभोक्ता समक्ष आग्रह गरेका छन् ।

मानव अधिकार सञ्जालका अध्यक्ष प्रेम ओझाले विज्ञप्ति जारी गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पूर्वाग्रह राखेर फिदिम नगरपालिकासँगै यहाँका केही व्यक्तिका घरमा जोडिएका धारा काटेकोमा आपत्ति जनाउँदै विच्छेद गरिएका धारा बिना सर्त पुनस् सञ्चालन गराउन माग गरेका हसन् । असोज ९ देखि १२ गतेको बाढी र पहिरोले क्षति पुगेका पाइपलाइन मर्मत गरी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न पनि माग गरिएको छ ।

यस्तै जिल्लामा क्रियाशील राजनैतिक दलका जिल्ला अध्यक्ष र सभापतिहरुले संयुक्त विज्ञप्ति निकाल्दै कार्यालय र मेयर तथा उपमेयरको घरमा जडित धारा काटेकोमा ध्यानाकर्षण भएको जनाएका छन् । फिदिम नगरपालिका सहित मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेको घरमा जडित धारा बिना सर्त जडान गरी सेवा सुचारु गर्नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

फिदिम नगरपालिकाले खानेपानी उपभोक्ता समितिलाई सहयोग नगरेको भन्दै अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले फिदिम नगरपालिका कार्यालयमा जोडिएको पानी २० दिन अघि तथा मेयर मित्रप्रसाद काफ्ले र उपमेयर न्यौपानेको घरमा जोडिएका धारा मंगलबार बिहानै काटिदिएको थियो । धारा काटेपछि फिदिम नगरपालिका सहित मेयर र उपमेयरका घरमा खानेपानी आपूर्ति ठप्प भएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेस पाँचथरका जिल्ला सभापति रुपनारायण जवेगू, एमाले अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिशाल रसाइली, राप्रपा जिल्ला अध्यक्ष कमलबहादुर चेम्जोङ, जसपा नेपाल जिल्ला उपाध्यक्ष कमलराज नेम्वाङ र राप्रपा नेपालका उपाध्यक्ष प्रयागराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा असोज ९ देखि १२ गतेसम्म भएको वर्षाका कारण गएको बाढी र पहिरोमा ज्यान गुमाएका नागरिक प्रति समवेदना अर्पणसँगै पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गर्दै क्षतिग्रस्त संरचनाहरुको पुनः निर्माणमा एकजुट हुन सरोकारवालासँग आग्रह गरिएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार