आँगनमै धारा, पानी भर्न खोलातिर

  वास खबर सम्बादाता  138 पटक हेरिएको

सल्यान: कालीमाटी गाउँपालिका–१ चोत्रेमा खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानले २०७९ मा झन्डै एक करोड खर्च गरेर सोलार लिफ्ट खानेपानी आयोजना बनायो । घर नजिकैको धाराबाट स्थानीयले डेढ वर्ष लगातार पानी खाए । तर, गत असार २८ मा मोटर बिग्रियो । त्यसपछि स्थानीय बासिन्दा एक गाग्री पानीका लागि दुई घण्टा हिँड्न बाध्य छन् ।

२०७७ मा १ करोड १० लाख रुपैयाँ खर्च गरी निर्माण गरेको कपुरकोट गाउँपालिका–५ स्थित जामुने सोलार लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रेको डेढ वर्ष भएको छ । जामुने, सिस्नेरी र फल्लेपानीका बासिन्दा खानेपानीका लागि दिनरात मुहान चहार्न बाध्य छन् ।

उपल्लो भेगका मुहान सुक्दै जाँदा खानेपानी ऊर्जा विकास कार्यालय, स्थानीय तह, रेडक्रस लगायत संस्थाले २०७४ यता जिल्लामा ९३ वटा लिफ्ट खानेपानी आयोजना निर्माण गरेको थियो । ती आयोजनामा बेंसीतिर रहेका मुहानबाट विद्युत् प्रयोग गरेर पानी तानिएको छ।

तीमध्ये दुई दर्जनभन्दा बढी आयोजनामा बिग्रेका मोटर मर्मत हुन नसक्दा १० स्थानीय तहका १ हजार ४ सय १७ परिवारले खानेपानीका लागि सास्ती भोग्दै आएका छन् । बिग्रेको मोटर आर्थिक अभावका कारण मर्मत गर्न नसकेको र मर्मत गरे पनि नटिक्ने समस्या रहेको उपभोक्ता समितिहरूको भनाइ छ ।

पानी बोकेर दुई घण्टासम्म पानी ओसार्नुपर्ने हुनाले घरायसी कामकाजमा असर परेको स्थानीय बताउँछन् । समयमै पानी ल्याउन नसक्दा र पानी बोक्नुपर्ने बाध्यताले बालबालिकाको पढाइसमेत प्रभावित हुँदै आएको छ ।

२०७४ यता खानेपानी ऊर्जा विकास कार्यालय, स्थानीय तह र संघसंस्थाले प्रतिआयोजना २५ लाखदेखि २ करोडसम्म खर्च गरी लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको थियो । यस्ता आयोजना शारदामा १३, बाग्चौरमा ६, बन्गाड कुपिन्डे नगरपालिकामा ६, कपुरकोटमा २०, दार्मामा १७, कुमाखमा ७, त्रिवेणीमा १०, छत्रेश्वरीमा ७, कालीमाटीमा दुई र सिद्धकुमाखमा ५ वटा थिए । तीमध्ये सोलार प्रयोग गरिएका आयोजनामा बढी समस्या देखिएको छ ।

सोलार लिफ्ट खानेपानी आयोजनाको मोटर बजेट अभावमा मर्मत गर्न नसक्दा कालीमाटी–१ चोत्रेका ३२ परिवारले खानेपानीका लागि सास्ती भोग्दै आएको उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर खत्रीले बताए । बिग्रेको मोटर मर्मत गर्न स्थानीय उपभोक्ताले पैसा उठाउन नसकेकाले सम्बन्धित निकायमा आग्रह गर्दै आएको उनले जनाए ।

उनका अनुसार स्थानीय बासिन्दा एक गाग्री पानी लिन शारदा नदी नजिकै पानी लिन पुग्ने गर्छन् । गोरेटो बाटो गतिलो नभएकाले कतिपय लडेर घाइते हुने गरेका छन् ।कपुरकोट गाउँपालिकाले २०७७ मा १ करोड १० लाख खर्च गरी निर्माण गरेको सोलार लिफ्ट आयोजनाबाट झन्डै ३ सय घरधुरीलाई राहत भएको थियो ।

तर पछिल्लो समय मोटर बिग्रेपछि आधा घण्टाको दूरीमा पर्ने मुहान, जरुवा धाउन बाध्य भएको कपुरकोट गाउँपालिका–५ जामुनेकी भीमा बुढाथोकीले बताइन् । ‘पालिकासँग माग राखेपछि गत वर्ष १० लाख विनियोजन भएको थियो । त्यसबाट मोटर मर्मत र ट्यांकी निर्माण गरिएको थियो ।

त्यसले कुनै फाइदा भएन,’ उपभोक्ता समितिकी अध्यक्ष समेत रहेकी उनले भनिन। यो वर्ष १५ लाख विनियोजन गरेर सोलारबाट विद्युतीयमा परिवर्तन गर्न पालिकाले प्रक्रिया अगाडि बढाएको खबर कान्तिपुर दैनिकले छापेको छ ।’ खानेपानीकै समस्याका कारण दर्जनभन्दा बढी परिवार बसाइँ सरेको उनले बताइन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार