नेपालगन्ज : बाँकेको नेपालगन्जमा ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालि शनिबारदेखि संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका-१८ मा रहेको स्टार पोलीपाइपको शनिबार उद्योगमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्टार पोलीपाइपलाई लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने बताए ।
उद्योगका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडीपीई, सीपीभीसी, यूपीभीसी, बोरवेल, गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिए उनले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलीपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेको दाबी गरेको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।
यस्तै जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सीपीसीभी, यूपीभीसी पाइप तथा फिटिङहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जनाए ।